डाक्टर गोविन्द केसीले बिहीबारदेखि पुनः सत्याग्रह सुरु गर्ने

धनगढी : डाक्टर गोविन्द केसीले बिहीबारदेखि धनगढीमा पुनः सत्याग्रह सुरु गर्ने भएका छन् । केसी आमरण अनसन बस्ने भन्दै दार्चुलाबाट धनगढीको एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा पुगेका हुन् ।
दार्चुलाबाट प्रेस विज्ञप्ति जारी गर्दै सरकारले आफ्ना मागहरूप्रति देखाएको संवेदनहीनता र बेवास्ताका कारण २४ औँ पटकको अनशन बस्ने घोषणा गरेका हुन्। उनी धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनशन बस्ने भएका छन्।
केसीका तर्फबाट विजयबाबु शिवाकोटीले एक प्रेस विज्ञप्तिमार्फत ५ बुँदे माग सार्वजनिक गरेका थिए । ती माग पूरा गर्न डा. केसीले मंगलबार (साउन ५ गते) सम्मको समयसीमा दिएका थिए । तर, सरकारले पूर्ण रूपमा बेवास्ता गरेको प्रेस विज्ञप्तिमा आरोप छ ।
‘जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षाको सुधारका लागि सरकारको यो संवेदनहीनताका कारण म साउन ७, २०८३ देखि पुन: सत्याग्रह सुरु गर्दैछु,’ प्रेस विज्ञप्तिमार्फत डा. केसीले भनेका छन्, ‘यसबाट उत्पन्न हुने जुनसुकै विषम परिस्थितिको शतप्रतिशत जिम्मेवार वर्तमान सरकार नै हुनेछ ।’
यस्ता छन् डा. गोविन्द केसीका माग :
१. स्थापित नियम र मूल्य-मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरियोस् ।
२. चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरियोस् ।
३. राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरियोस् । साथै विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गरियोस् ।
४. सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरियोस् ।
५. २०८२ भदौ २३ र २४ मा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारबाही गरियोस् तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरियोस् ।





प्रतिकृया दिनुहोस्