July 18, 2026, Saturday
२०८३ श्रावण २

कांग्रेसमा विभाजनको संकेत : देउवा समूहले राष्ट्रिय भेला बोलाउँदै

काठमाडौँ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले सभापति गगन थापासँग पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष निकालेको छ। यही निष्कर्षसँगै समूहले आगामी रणनीति तय गर्न राष्ट्रिय भेला बोलाउने तयारी अघि बढाएको छ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा इतर पक्षका नेता पूर्णबहादुर खड्काको नेतृत्वमा शनिबार बसेको देउवा समूहका शीर्ष नेताहरूको बैठकले पार्टी एकताको अवस्था, बिपी स्मृति दिवसको तयारी र संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल गरेको थियो।

बैठकपछि नेता मीनबहादुर विश्वकर्माले संस्थापन पक्षसँग सहमतिको सम्भावना अत्यन्त न्यून भएको बताए। उनका अनुसार साउन २४ देखि २९ गतेभित्र राष्ट्रिय भेला आयोजना गर्ने तयारी भइरहेको छ।

‘मिल्ने सम्भावना अब ९९ प्रतिशत देखिँदैन,’ उनले भने।

विश्वकर्माले सभापति पक्षबाट वार्ताका लागि कुनै गम्भीर पहल नभएको आरोपसमेत लगाए। उनका अनुसार आफूहरू एकताको पक्षमा रहे पनि संस्थापन पक्षले पटक–पटक प्रतिबद्धता जनाएर पनि त्यसलाई व्यवहारमा उतार्न नसकेको गुनासो गरे।

‘हामी त बाहिर छौँ, के गर्न सक्छौँ र? हामीले मिलाऔँ भन्ने नै हो। उहाँहरू आउँछु भन्नुहुन्छ, सबै गर्छु भन्नुहुन्छ, तर भोलिपल्ट आउनुहुन्न। कहिलेकाहीँ महिनौँसम्म कुनै संवाद नै हुँदैन,’ उनले भने।

उनले संस्थापन पक्षलाई नै एकताप्रति रुचि नरहेको हुनसक्ने टिप्पणी गर्दै अब ‘नयाँ बाटो’ रोज्ने विषयमा छलफल सुरु भएको जानकारी दिए। उनका अनुसार नेतृत्व, नीति, राजनीतिक सिद्धान्त, संगठनात्मक संरचना, विधान तथा पार्टी सञ्चालनको विधिसहित सम्पूर्ण विषय प्याकेजमै तयार गरिनेछ।

नयाँ पार्टी गठनको सम्भावना र नेतृत्वबारे सोधिएको प्रश्नमा विश्वकर्माले सबै विषय क्रमशः टुंगो लगाइने बताए। पार्टीको नाम, चुनाव चिह्न, संगठनात्मक संरचना तथा कानुनी व्यवस्थासमेत आगामी छलफलबाट तय गरिने उनको भनाइ छ।

देउवा समूहको यो निष्कर्षले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब नयाँ राजनीतिक मोडतर्फ उन्मुख भएको संकेत दिएको छ।

नागरिकबाट