आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन, तीन नगर प्रहरी नियन्त्रणमा

काठमाडौँ : आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको उपचारको क्रममा मृत्यु भएको हो ।
शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालमा उपचार भइरहेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था थप बिग्रिएपछि मृत्यु भएको हो ।
वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार आगोले अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुर्याएको थियो । अस्पताल ल्याइएलगत्तै उनको श्वासप्रश्वासमा समस्या देखिएकाले आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
उपचारमा वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सक टोली खटिएको थियो ।
नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । घटनालगत्तै उनलाई उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो ।
तीन जना नगर प्रहरी नियन्त्रणमा
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन भएको घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नियन्त्रणमा रहेका तीनैजना काठमाडौं महानगरका नगर प्रहरीहरू हुन् । दुई महिला र एक पुरुष नगर प्रहरीसँग प्रहरीले अहिले सोधपुछ गरिरहेको छ ।
उनीहरूलाई अहिले कालीमाटी वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको छ । बिहीबार दिउँसो राहदानी विभाग अगाडि उनको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक गरेको थियो।





प्रतिकृया दिनुहोस्