August 16, 2026, Sunday
२०८३ श्रावण ३१

संविधानका आधारभूत संरचनामा कुनै सम्झौता हुँदैन- गगन थापा

काठमाडौ : नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका आधारभूत विषय र लोकतान्त्रिक मूल्यमान्यतामा पार्टीले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन्। 

बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।   

सभापति थापाले लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता विषयहरू नेपाली कांग्रेसका लागि अपरिवर्तनीय रहेको बताए।

उनले यी विषयहरू पार्टीको विधान र केन्द्रीय कार्यसमितिको निर्णयबाट समेत प्रष्ट भइसकेको उल्लेख गर्दै यसमा कुनै पनि प्रकारको सम्झौता हुन नसक्ने जिकिर गरे।

सभापति थापाले लोकतन्त्रलाई परिणाममुखी बनाउन, नागरिकलाई थप अधिकार सम्पन्न तुल्याउन र सुशासन एवं सेवा प्रवाहलाई चुस्त बनाउन संविधानका कतिपय प्रावधान परिमार्जन गर्नुपर्ने धारणा राखे।  

सभापति थापाले भने, ‘नेपाली कांग्रेस पार्टीले आफ्नो प्रतिज्ञापत्र, पार्टीको विधान तथा केन्द्रीय कार्यसमितिको निर्णयमार्फत संविधानका आधारभूत विषयहरू–लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली, बहुजातीयता, बहुधार्मिकता, बहुसांस्कृतिक विशेषता, समानुपातिक समावेशी प्रतिनिधित्व लगायतका विषयमा–कुनै पनि सम्झौता नगर्ने कुरा स्पष्ट पारिसकेको छ। यो कुरा हामीले आफ्नो प्रतिज्ञापत्र, हाम्रो विधान तथा अन्य सबै सान्दर्भिक दस्तावेजमा स्पष्ट रूपमा उल्लेख गरिसकेका छौँ। त्यसैगरी, बहुदलीय संसदीय व्यवस्था, शक्तिको पृथकीकरण, स्वतन्त्र न्यायपालिका, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, विधिको शासन, समानुपातिक समावेशी सिद्धान्त, खुला समाज र मानव अधिकार संविधानका आधारभूत स्तम्भ हुन्। यी विषयलाई अझ व्यापक बनाउन सकिन्छ, विस्तार गर्न सकिन्छ, तर तिनलाई सङ्कुचित बनाउने कुनै पनि कुरा नेपाली काँग्रेस पार्टीका लागि कुनैपनि हालतमा स्वीकार्य हुँदैन। यो कुरा पनि हामीले स्पष्ट गर्न चाहेका छौँ।’

उनले अगाडि भने, ‘यद्यपि संविधानका सारभूत विषयहरूलाई सङ्कुचित नगर्ने गरी लोकतन्त्रलाई परिणाममुखी बनाउन, संविधानलाई थप समावेशी बनाउन, नागरिकलाई थप अधिकारसम्पन्न बनाउन तथा सुशासन, सेवा प्रवाह र सार्वजनिक सेवा वितरणलाई चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन आवश्यक ठाउँमा संविधान संशोधन गर्नुपर्ने काँग्रेसको धारणा छ। यसका लागि आवश्यक अग्रसरता लिने विषयमा पनि नेपाली कांग्रेस पार्टी स्पष्ट छ।’

संविधानलाई थप समावेशी र नागरिकमैत्री बनाउनका लागि आवश्यक संशोधन प्रक्रियामा नेपाली कांग्रेसले नै नेतृत्वदायी र अग्रसर भूमिका निर्वाह गर्ने उनले स्पष्ट पारे। 

न्युज एजेन्सी नेपालबाट