कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् । एक पदाधिकारीले दिएको जानकारीअनुसार दलको नेतामा आङ्देम्बे सर्वसम्मत चयन भएका हुन् ।
संसदीय दलको नेता सर्वसम्मतिमा टुंगो लगाउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरिएको थियो ।
शुक्रबार गठित कार्यदलले आङ्देम्बेकै नाममा निर्णय गर्दा पार्टी एकताको सन्देश जाने निस्कर्ष निकालेको हो । कार्यदलमा रहेका एक पदाधिकारीका अनुसार, आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति जुटिसकेको छ ।
उपसभापति शर्मा संयोजकत्वको समितिले संसदीय दल नेता आकांक्षीहरू र सांसदहरूसँग चरणबद्ध रूपमा गरेको छलफलपछि आङ्दम्बेलाई संसदीय दल नेताका रूपमा प्रस्ताव गर्न सभापति गगन थापालाई नाम दिएका थिए।
दिउँसो १ बजे संसदीय दल नेता सर्वसहमतिका आधारमा घोषणा गर्ने तयारी छ। कांग्रेसमा ३८ जना सांसद छन्।
आङ्देम्बे समानुपातिक तर्फबाट सांसद भएका थिए। आङ्देम्बे निवर्तमान सहमहामन्त्री हुन्। उनी २०७८ साल मंसिरमा भएको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री जितेका थिए।
उनले संसद र बाहिर पनि विशेष महाधिवेशन र त्यसबाट आएको नेतृत्वको खुलेर समर्थन गर्दै आएका थिए। उनले आफू र साथीहरू गगन थापा नेतृत्वमा रहेको र आफूलाई यो वा त्यो गुटको नभनिदिन आग्रह गर्दै सामाजिक सञ्जालमा लेखेका पनि थिए।
आङ्देम्बेलाई निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका सांसदहरूले पनि समर्थन गर्ने कुरा उपसभापति शर्मा संयोजकत्वको समितिसमक्ष बताएको नेताहरूको भनाइ छ।
को हुन् आङदेम्बे ?
२०२० सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ (साविक नवमीडाँडा)मा जन्मेका आङदेम्बे २०३६ सालको जनमत संग्रहमा बहुदलका पक्षमा उभिएका थिए। त्यसपछि भएका विभिन्न आन्दोलनमा सक्रिय रहे ।
उनले नेपाल विद्यार्थी संघ, तरुण दल र कांग्रेसका विभिन्न पदमा रहेर जिम्वेवारी निर्वाह गरिसकेका छन् ।
त्यस्तै २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै उनी अग्रपंक्तिका युवा नेताका रूपमा स्थापित भए । सोही आन्दोलनले देशमा बहुदलीय लोकतन्त्र पुनःस्थापना गर्यो, जसमा आङ्देम्बेको सहभागिता उल्लेखनीय रहृयो। आन्दोलनका क्रममा उनी पक्राउ समेत परेका थिए ।
२०४६ देखि २०५२ सालसम्म नेविसंघको केन्द्रीय सदस्यका रूपमा दुई कार्यकाल निर्वाचित हुँदै उनले संगठन निर्माण, कार्यकर्ता परिचालन र लोकतान्त्रिक मूल्यको विस्तारमा महत्वपूर्ण भूमिका खेले । यही अवधिमा उनले नेतृत्व र क्षमता विकास गर्दै पार्टीमा अलग पहिचान बनाउन सफल भए ।
आङ्देम्बे २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय उपाध्यक्ष बने । यो जिम्मेवारीले उनलाई कांग्रेसभित्र युवा पुस्ताको प्रभावशाली नेताका रूपमा स्थापित गर्यो । २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा राजतन्क्रविरुद्ध सत्रिय सहभागिता जनाउँदै उनी पुनः सडक संघर्षमा समाहित भए । सो क्रममा पनि उनी पक्राउ परे ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा पाँचथर क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित भए । संसदीय राजनीतिमा उनको त्यो प्रवेश पहिलो थियो । त्यसअघि २०५६ सालको प्रतिनिधिसभा सदस्यमा पाँचथर–२ बाट उम्मेदवार बनेका उनी एमालेका डम्बरसिंह सम्वाहाम्फेसँग पराजित भएका थिए ।
संविधानसभा सदस्यमा निर्वाचित भएपछि उनले संविधानसभा अन्तर्गत उद्योग, वाणिज्य तथा उपभोक्ता हकहित समितिको सभापतिको जिम्वेवारीमा रहेर आर्थिक नीति, व्यापार व्यवस्था र उपभोक्ता अधिकारका विषयमा नेतृत्वदायी भूमिका सम्हाले ।
२०७८ मा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनबाट आदिवासी जनजातितर्फ केन्द्रीय सह–महामन्त्रीमा निर्वाचित हुँदै उनी पार्टीको शीर्ष नेतृत्वमा पुगे ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्दा पुनः एमालेका वसन्तकुमार नेम्वाङसँग ४६ मतको झिनो अन्तरले पराजित भए । यसपटक कांग्रेसले उनलाई आदिवासी जनजाति कोटाबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा पुर्याएको हो।





प्रतिकृया दिनुहोस्