प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ, निष्पक्ष र पारदर्शी भूमिका निर्वाह गर्छु : केसी

काठमाडौँ : प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ लिएका छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष केसीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणको कार्यक्रम भएको हो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । उनी ७८ वर्षका छन् ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ज्येष्ठ सदस्य केसीले आफ्नो सीमित समयको सभामुखको भूमिकामा संसद्लाई निष्पक्ष र पारर्दी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाए । सभामुखको भूमिकाले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै आफू संसदका सम्पूर्ण सदस्यहरूको विशेषाधिकारको संरक्षकका रूपमा प्रस्तुत हुने उनको भनाइ छ ।
“मेरो सीमिति समयभित्र निष्पक्ष र पारदर्शी रूपले सभामुखको भुमिका निर्वाह गर्छु । सभामुखले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्छ । र, संसदभित्र सबै सांसदहरूको विशेषाधिकारको संरक्षकको रूपमा पनि भूमिका निर्वाह गर्नुपर्छ,” केसीले भने ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित भएका छन् । केसी नेपाली कांग्रेसको तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुन् ।
ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ । सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नेछन् ।





प्रतिकृया दिनुहोस्