कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, राजीनामाबारे केन्द्रीय समितिमा छलफल हुने

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
चुनावमा पार्टीले भोगेको पराजयको जिम्मेवारी लिँदै थापाले राजीनामा दिएको एक पदाधिकारीले जानकारी दिए। यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे ।
रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ । थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए ।
चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए ।
सभापति थापाको राजीनामा स्वीकृत गर्ने वा नगर्नेबारे केन्द्रीय समितिमा छलफल हुनेछ। केन्द्रीय समिति बैठक शुक्रबार बोलाइएको छ। ‘सभापतिको राजीनामाबारे त्यही बैठकमा छलफल र निर्णय हुन्छ,’ ती पदाधिकारीले भने।
भोलिको केन्द्रीय समिति बैठकमा थापा सहभागी हुने सम्भावना कम रहेको ती पदाधिकारीको भनाइ छ। थापा उपस्थित नरहेका खण्डमा उपसभापति शर्माले केन्द्रीय समिति बैठक सञ्चालन गर्नेछन्।
केन्द्रीय समितिले निर्वाचनको प्रारम्भिक समीक्षा पनि गर्नेछ। कांग्रेसले उपसभापति शर्माको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति बनाएको थियो। शर्माले निर्वाचनमा पार्टीका अधिकांश उम्मेदवारहरू पराजित हुनुका कारणबारे जानकारी दिने बताइएको छ।





प्रतिकृया दिनुहोस्