निर्वाचनका दिन सवारी साधन बन्द हुने, तर यी गाडीलाई छैन रोक

काठमाडौं : निर्वाचन आयोगले चुनावका दिन आठ प्रकारका सवारीसाधनलाई पास नचाहिने बताएको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत मतदानको दिन अर्थात् फागुन २१ गते सवारीसाधन सञ्चालनलाई व्यवस्थित, प्रभावकारी तथा अत्यावश्यक सेवामैत्री बनाउन विशेष व्यवस्था सार्वजनिक गरेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका ट्यांकर दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, दूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधनलाई पास नचाहिने उल्लेख छ ।
अस्पताल सेवाका सवारीसाधनहरू (अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न), अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाइ सेवाका यात्रु बोकेका सवारीसाधन (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म)लाई पास नचाहिने जनाइएको छ ।
हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्करी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री शारीरिक रूपले अशक्त वा अपांगता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजका एकजना सहयोगी बोकेका सवारीसाधन तथा नम्बर प्लेटमा सीडी उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधनलाई पास चाहिने छैन ।
आयोगबाट जारी भएका पर्यवेक्षक परिचयपत्रवाहक पर्यवेक्षणकर्ताले प्रयोग गर्ने सवारीसाधन (सो परिचयपत्रमा उल्लिखित स्थानमा मात्र), राष्ट्रिय मानवअधिकार आयोगबाट अनुगमन/पर्यवेक्षणका लागि प्रयोग गर्ने सवारीसाधन र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधनका लागि पास नचाहिने विज्ञप्तिमा उल्लेख छ ।





प्रतिकृया दिनुहोस्