लोकेश बम र शेर मल्ललाई ‘एसपीए सम्मान’

धनगढी : जारी आईसीसी टी-२० विश्वकप २०२६ मा राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने लोकेश बम र शेर मल्ललाई धनगढीको एसपीए कलेजले ‘एसपीए सम्मान’ प्रदान गरेको छ ।
एसपीए कलेजका विद्यार्थीसमेत रहेका लोकेश तथा ब्रान्ड एम्बासडर शेरलाई कलेजले एक लाख रुपैयाँसहित सम्मान गरेकोे हो । कलेजको २७औँ वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार (फागुन १५) एक समारोहबीच दुवै खेलाडीलाई सम्मान गरिएको थियो ।
मुम्बईमा भएको विश्वकपमा लोकेश र शेरले उत्कृष्ट प्रदर्शन गरेका थिए । इङल्यान्डविरूद्दको खेलमा विस्फोटक ब्याटिङ गरेका लोकेशले खेललाई अन्तिम बलसम्म तानेका थिए । सो क्रममा उनले २० बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ३९ रन बनाए । त्यस्तै, राष्ट्रिय टोलीमा पहिलोपटक समावेश भएका शेरले आफ्नो पहिलो खेलको पहिलो बलमा नै फिल सल्टको विकेट लिएर नयाँ कीर्तिमान रचेका थिए ।
समारोहमा प्रमुख अतिथि तथा शिक्षाविद् डा. हेमराज पन्तसहित कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले खेलाडीलाई दोसल्लासहित विशेष सम्मान व्यक्त गरेका थिए ।
समारोहमा शेरले सम्मान ग्रहणपछि आफूलाई खुसी लागेको अनुभव सुनाए । जय ट्रफी खेलिरहेका कारण सम्मानपत्र लोकेश बमकी आमा शान्तादेवी बमले ग्रहण गरेका थिए ।
एसपीए कलेजमा दुई दर्जन बढी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय क्रिकेट खेलाडीहरू आबद्ध छन् । लोकेशसहित यू–१९ टोलीका नारायण जोशी, वसन्त कार्की, सिनियर महिला राष्ट्रिय टोलीका कविता कुँवर, ईश्वरी विष्ट, यू–१९ महिलातर्फ राष्ट्रिय टोलीका लक्ष्मी साउद, यशोदा विष्ट, सुमन विष्ट, मनीषा चौधरी र मनीषा उपाध्याय जस्ता होनहार खेलाडीहरू एसपीएमा अध्ययनरत छन् ।





प्रतिकृया दिनुहोस्