January 1, 2026, Thursday
२०८२ पुष १७

कांग्रेसले गर्‍यो बागी उम्मेदवारको कारबाही फुकुवा, निर्णय कार्यान्वयन गर्न सबै निकायलाई परिपत्र

काठमाडौं : नेपाली कांग्रेसले यसअघिका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरू माथिको कारबाही फुकुवा गरेको छ । कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यो निर्णय गरेको जानकारी गराउँदै पार्टीका तल्ला कमिटीलाई परिपत्र पठाउँदै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यसबारे जानकारी गराएका हुन ।

परिपत्रमा भनिएको छ, ‘विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समथृन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधानअनुसार स्वत: कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरिएको छ ।’

परिपत्रमा विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक तथा असहयोग गरी अनुशासनविपरीतका काम गरेकाले कारबाहीमा परेकाहरूलाई माफी दिने निर्णय गरेकोले कार्यान्वयन गर्न आग्रह गरिएको छ । 

परिपत्रमा यसरी कारबाही माफी/मिनाहा भएका व्यक्तिहरूको पार्टीको वहाल रहेको पद नरहने गरी क्रियाशील सदस्यलाई निरन्तरता कायम गरी क्रियाशील नवीकरण गर्ने निर्णय भएको पनि उल्लेख छ ।

बैठकले पार्टी परित्याग गरी स्वतन्त्र बसेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेकालाई पुनः कांग्रेसमै फर्कन हार्दिक आह्वान गर्दै फर्किनेलाई पार्टीले क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको परिपत्रमा उल्लेख गरिएको छ ।