February 17, 2026, Tuesday
२०८२ फाल्गुन ५

डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार

डडेल्धुरा : डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार आउन थालेको छ । संस्थागत प्रसूति बढाउन गरिएको निरन्तरको प्रयासका कारण पछिल्ला केही वर्षमा घरमै सुत्केरी हुने दर घटेको हो ।

पहाडी भू–भाग र दुर्गम बस्तीका कारण लामो समयसम्म डडेल्धुरामा घरमै सुत्केरी हुने दर उच्च थियो । तर, हाल स्वास्थ्य संस्था, स्थानीय तह र विभिन्न कार्यक्रमको प्रयासपछि यो दरमा सुधार आउन थालेको हो ।

अहिले स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूति सेवा उपलब्ध भएपछि संस्थागत प्रसूति दर शून्यमा झरेको अजयमेरु गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक गणेश पालले बताए । घरमै सुत्केरी हुने संख्यालाई शून्यमा झार्न विगत चार/पाँच वर्षयता जनचेतनाका कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको उनले बताए ।

गत आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकालाई घरमा हुने प्रसुति शून्य पालिका घोषणा गरिएको थियो । गत वर्ष र चालु आर्थिक वर्षको हालसम्म कुनै पनि महिला घरमा सुत्केरी भएको तथ्याङ्क नरहेको पालले बताए । ‘पूर्ण संस्थागत प्रसूति पालिका’ सुदूरपश्चिमभरिकै पहिलो पालिकासमेत अजयमेरु गाउँपालिका रहेको उनले जानकारी दिए ।

स्वास्थ्य संस्था पहुँचमा सुधार, २४ घण्टे प्रसूति सेवा तथा आमा–बच्चालाई लक्षित जनचेतना अभियानले गर्दा घरमै सुत्केरी हुने दर घटाउन मद्दत पुगेको हो । त्यस्तै, स्थानीय तहहरूले गर्भवती महिलाको नियमित चेकजाँच, प्रसूतिपूर्व परामर्श तथा प्रसूति सेवामा प्रोत्साहन रकम प्रदान गर्दै आएका छन् ।

गन्यापधुरा गाउँपालिकामा पनि घरमै सुत्केरी हुने दर शून्य रहेको छ । गाउँपालिकाका स्वास्थ्य निरीक्षक वासुदेव नौन्यालले गाउँपालिकामा ५९ जना महिला स्वास्थ्य स्वयंसेविका रहेको बताए । हरेक टोलमा कम्तीमा एक जना स्वास्थ्य स्वयंसेविका रहेको उनले जानकारी दिए । स्वास्थ्य स्वयंसेविकाहरूको सल्लाह र परामर्शले महिलाहरू सुत्केरीका लागि स्वास्थ्य संस्थामा जाने गरेको उनको भनाइ छ ।

यद्यपि केही ग्रामीण बस्तीमा सडक पहुँचको अभाव र आवत–जावतका समस्याका कारण अझै पनि घरमै सुत्केरीका केही घटना देखिन भने छाडेको छैन । जिल्लामा रहेका सातवटा स्थानीय तहमध्ये परशुराम नगरपालिकामा २७ जना, आलिताल गाउँपालिकामा ९ जना, भागेश्वर गाउँपालिकामा ९ जना र जिल्ला सदरमुकामसमेत रहेको अमरगढी नगरपालिकामा समेत दुई जना गरेर गत आर्थिक वर्षमा ४७ जना घरमै सुत्केरी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाको गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका र अजयमेरू गाउँपालिकामा रहेका सबै गर्भवती महिला स्वास्थ्य संस्थामा सुत्केरी भएको तथ्याङ्क छ । विभिन्न कारणले गर्दा घरमै सुत्केरी हुने दर अझै शून्यमा झार्न नसकेको तथ्याङ्क छ । स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्याङ्कअनुसार यातायातको सुविधा नभएर घरमै सुत्केरी हुने दर ४९ प्रतिशत छ । चाँडै व्यथा लागेर घरमै सुत्केरी भएको तथ्याङ्क २१ प्रतिशत छ भने १३ प्रतिशत आवश्यकता नदेखिएर घरमै सुत्केरी भएको पाइएको छ।

स्वास्थ्य कार्यालयका अनुसार गर्भवती महिलालाई प्रस्तूति गराउन स्वास्थ्य संस्थामा लगेर जाने मान्छे नै नभएर घरमै सुत्केरी हुने महिलाको संख्या ९ प्रतिशत छ । चार प्रतिशत व्यथा नभएर र दुई प्रतिशत सुत्केरीको अवधि थाहा नपाएर घरमै सुत्केरी भएको तथ्याङ्क स्वास्थ्य कार्यालय सार्वजनिक गरेको छ।

घरमै सुत्केरी हुने दर चुनौतीपूर्ण रहेको छ । अझै पनि ७२ प्रतिशत महिला स्वास्थ्य संस्था ३० मिनेटभन्दा धेरै समय लाग्ने दूरीमा रहेकाले घरमै सुत्केरी भएको पाइएको छ

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा पछिल्लो वर्ष घरमै सुत्केरी हुने महिलाको संख्या घटेको छ । २०८०/८१ मा ९५ जना घरमै सुत्केरी भएको तथ्याङ्क रहेको छ भने २०८१/८२ मा ४७ महिला घरमै सुत्केरी भएका छन् ।

अझै पनि सबै महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी गराउनुपर्छ भनेर जनचेतना गराइरहेको स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउदले बताए । स्थानीय तह, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह सबैलाई जनचेतना दिइरहेको उनले बताए।

स्वास्थ्य कार्यालय डडेल्धुरामा कार्यरत पव्लिक हेल्थ नर्सिङ निरीक्षक आशा थापाले कुनै पनि गर्भवती महिला एक न एकपटक स्वास्थ्य संस्थामा जँचाउन आएको र पछि घरमै सुत्केरी भएको आधारमा ‘घरमै सुत्केरी हुने संख्या’ निर्धारण गर्ने गरिएको बताइन् ।

हालसम्म डडेल्धुरामा ३४ वटा बर्थिङ सेन्टर रहेको र एउटा संघीय अस्पतालसहित ३५ वटा स्वास्थ्य संस्थाबाट निःशुल्क प्रसूति सेवा उपलब्ध रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

कान्तिपुरबाट