April 15, 2026, Wednesday
२०८३ बैशाख ३

सञ्चारकर्मी निष्काशनको चौतर्फी बिरोध

डोटी भदौ ९ (ई-रैवार) सरकारी प्रशारण संस्था रेडियो नेपाल दिपायलमा कार्यरत तीनजना सञ्चारकर्मीलाई जागिरबाट निकालिएपछि चौतर्फी विरोध चुलिएको छ ।
रेडियो नेपालले सुदूरपश्चिम प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत समाचारवाचक प्रकाश बम, उद्घोषकहरु सुनिता रावल र चक्र कुँवरलाई यसै भदौबाट लागु हुनेगरी निष्काशन गरेको थियो । यद्यपी उनीहरुको निष्काशनको कारण भने अझैसम्म खुलाईएको छैन् । उनीहरुलाई निष्काशन गरेर अन्य तीनजना लोकेश अधिकारी, नवराज जोशी र दीर्घ खत्रीलाई नयाँ नियूक्त गरिएको छ ।
आफुहरुलाई राजनीतिक आस्था बोकेकै कारण निष्काशन गरिएको निष्काशित सञ्चारकर्मीहरु बताउछन् । ‘हामीहरुलाई लोकतान्त्रिक आस्था बोकेकै कारण निष्काशन गरिएको हो । अन्य कुनै कारण नै छन,’ निष्काशित समाचारवाचक बमले भने,‘यसरी आस्था बोकेकै आधारमा सरकारले विभेद गर्छ भने यहाँ कोही सुरक्षित रहन्न ।’
निष्काशितहरुमा समाचारबाचक बम प्रेस युनियन डोटी शाखाको अध्यक्ष, उद्घोषक रावल केन्द्रीय पार्षद र कुँवर उपाध्यक्ष हुन् । नयाँ नियूक्त भएका अधिकारी प्रेस सेन्टर डोटीका अध्यक्ष हुन् । यसबाहेक उनी स्थानीय तह निर्वाचनमा तत्कालिन नेकपा माओवादीबाट शिखर नगरपालिका–५ को वडाध्यक्ष उम्मेदवार समेत हुन । यस्तै जोशी र खत्री प्रेस चौतारीसंग आवद्ध छन् ।
यता सञ्चारकर्मीहरुलाई बिनाकारण जागिरबाट निकालिएको भन्दै नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ । नेपाल पत्रकार महासंघले निष्काशित पत्रकारलाई तत्काल पुनःर्बाहली गर्न रेडियो नेपाललाई ताकेता सहितको पत्र पठाएको छ । नेपाल प्रेस युनियन केन्द्रीय समिति, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले विज्ञप्तीमार्फत तत्काल पुनर्वाहली गर्न माग गरेको छ ।
यस्तै नेपाल पत्रकार महासंघ डोटी शाखाले रेडियो नेपाल प्रदेश प्रशारण केन्द्रको गेटमा सातादिनदेखी लगातार धर्ना दिएर दबाबमूलक बिरोध गरिरहेको छ । ‘पत्रकारहरुको हकहित र पेशागत सुरक्षाका लागि हामी निरन्तर आन्दोलन गर्नसक्छौ,’ शाखाका अध्यक्ष योगेन्द्र बलायरले भने,‘बिना कारण पत्रकारहरु निष्काशित हुनु अत्यन्त खेदजनक छ । तत्काल पुनर्बाहलीका लागि जोडदार माग गर्दछौ ।’
यस्तै नेपाल प्रेस युनियनका सुदूरपश्चिमभरीकै १० वटा शाखाले आईतबार सम्बन्धित जिल्ला र ईलाका प्रशासन कार्यालय मार्फत सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।