November 7, 2025, Friday
२०८२ कार्तिक २२

सुदूरपश्चिम प्रदेशमा युरिया मलको चरम अभाव

धनगढी : धान बाली भित्र्याइसकेका किसान गहुँ छर्ने र तरकारी बाली लगाउने तयारीमा छन् । तर किसान र विक्रेतासमेत रासायनिक मल नपाएर तनावमा छन् । सुदूरपश्चिम प्रदेशमा यति बेला युरिया मलको चरम अभाव छ । यो गहुँ, तोरी, मसुरोलगायत खाद्य, दलहन तथा तेलहन बाली र आलुलगायत मुख्य तरकारी लगाउने बेला हो ।

बालनाली लगाउने बेला सुरु भइसक्दासम्म रासायनिक मल नपाएर तनाव भएको धनगढी उपमहानगरपालिका–३ बडहराका किसान मधु चौधरीले बताए ।

मल नपाएर खेत जोतेर खाली बस्नुपरेको कैलालीको भजनी नगरपालिका–९ का डबलबहादुर बोगटीको भनाइ छ । ‘मल कहिलेसम्म आउँछ थाहा छैन । हामीलाई जहिलै मलकै समस्या हुन्छ,’ उनले भने । सुदूरपश्चिममा रासायनिक मल आपूर्ति तथा बिक्री वितरण गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड हुन् । हाल दुवै निकायमा युरिया मल छैन ।

‘डीएपी छिटफुट भए पनि युरिया भने छैन,’ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालयका सहायक रामचन्द्र जोशी भन्छन्, ‘कहिले कति परिमाणमा आउँछ, अहिले केही भन्न सकिँदैन । केन्द्रले कहिले पठाउँछ भन्नेमा भर पर्छ ।’ सुदूरपश्चिमले पाउने मलखादको कोटामा ३० प्रतिशत साल्ट ट्रेडिङ र ७० प्रतिशत कषि सामग्रीले प्राप्त गरेर बिक्री गर्ने गरेका छन् ।

आउँदो मंगलबारदेखि मल बिक्री सुरु गर्ने प्रयास गरिरहेको कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवसिंह बोगटीले बताए । ‘दिनको १ सय २५ टन बिक्री गर्न पुग्ने परिमाणमा मौज्दात भए मात्रै बिक्री सुरु गर्छौं,’ बोगटीले भने, ‘बिहीबारसम्म डेढ सय टन मात्र आइपुगेको छ ।’ कम्पनीको प्रादेशिक कार्यालयले कञ्चनपुर र डोटीबाहेकका जिल्लाका किसानका लागि मल बिक्रीवितरण गर्दै आएको छ । कञ्चनपुर र डोटीमा कम्पनीको आफ्नै कार्यालय छ ।

सुदूरपश्चिम प्रदेशमा भैरहवाबाट मल आउने गरेको प्रादेशिक कार्यालय प्रमुख बोगटीले जनाए । नेपालमा कुल आयात हुने मलमा सुदूरपश्चिम प्रदेशको ९.२२ प्रतिशत युरिया र ९.०७ प्रतिशत डीएपीको कोटा हुने गरेको उनको भनाइ छ । गत आर्थिक वर्षमा धनगढी कार्यालयले युरिया १२ हजार ८ सय ४३ मेट्रिक टन र डीएपी ८ हजार ६ सय ४७ टन बिक्री गर्न पाएको थियो ।

‘कुल मागको आधा परिमाण पनि होइन यो,’ कार्यालय प्रमुख बोगटी भन्छन्, ‘वार्षिक ३० हजार टन हाराहारी युरिया र डीएपीको माग हुने गर्छ ।’ किसानले मल अभाव टार्न भारतीय सीमा क्षेत्रबाट चोरीको मल ल्याउँछन् । ‘यस वर्ष भारतीय सीमा क्षेत्रका बजारमा पनि मलखाद पाइएको छैन,’ कैलालीका एक किसानले भने ।

कम्पनीले हाल डीएपीको प्रतिक्विन्टल ४ हजार ७ सय ७३ र युरियाको १ हजार ८ सय ७३ निर्धारण गरेको छ । कम्पनीले किसानलाई सिधै बिक्री नगरी निजी क्षेत्रका व्यापारी तथा सहकारीहरूलाई कोटा निर्धारण गरेर मलखाद बिक्री गर्दै आएको छ । कृषि सामग्रीले उपलब्ध गराएपछि डिलरहरूबाट किसानले मल किन्न पाउने व्यवस्था छ । यसरी डिलर तोक्दा सम्बन्धित स्थानीय तहको सिफारिसमा एउटा वडामा कम्तीमा दुई वटा विक्रेता निर्धारण गरिँदै आएको कार्यालय प्रमुख बोगटी बताउँछन् ।

‘कैलाली जिल्लाभर करिब चार सय डिलर तोकेका छौं,’ बोगटीले भने, ‘धनगढीमा ४७ वटा विक्रेता निर्धारण गरेका छौं ।’ एउटा विक्रेतालाई उपलब्ध गराइने मलको परिमाण भने यकिन नहुने उनको भनाइ छ ।

कान्तिपुरबाट