November 4, 2025, Tuesday
२०८२ कार्तिक १८

डोटीमा सार्वजनिक यातायातको मनपरी : यात्रुबाट मनोमानी भाडा असुल्ने र सास्ती दिने प्रवृत्तिप्रति आक्रोश

डोटी : ‘डोटीको बोगटान फुड्सिल गाउँपालिका अन्तर्गत विभिन्न वडाहरूमा सञ्चालन भइरहेका गाडीहरूले क्षमता भन्दा बढी खचाखच यात्रु बोक्ने, मनपरी भाडा असुल्ने, ट्रक जस्तै सामान ढुवानी गर्ने र दादागिरी शैलीमा यात्रुहरूलाई गन्तव्यमा नपुर्‍याई अलपत्र पार्ने प्रवृत्ति कहिलेसम्म चल्ने हो  ?’

सञ्चारकर्मी चक्र कुँवरले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक यातायातले दिएको सास्तीको विषयमा यसरी गुनासोसहितको प्रश्न गरे । लामो समयदेखि डोटीका ग्रामीण क्षेत्रमा सार्वजनिक यातायातहरूले जनतालाई सास्ती दिइरहेको विषयमा चर्चा भइरहँदा नेपाल प्रेस युनियन, डोटीका सभापति समेत रहेका पत्रकार कुँवरले यसलाई थप बल दिएका छन् ।

उनले यस विषयमा पटक पटक सार्वजनिक कार्यक्रमहरूमा कुरा उठ्दा पनि सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण नभएकोप्रति दुःख व्यक्त गरे । उनी प्रश्न गर्छन्, ‘किन यो विषयले प्राथमिकता पाउँदैन  ? के यस क्षेत्रका जनताले जहिले पनि यो किसिमको लुट सहेर बस्नु पर्ने हो ?’

गाडी सञ्चालकहरुले प्रतिव्यक्ति एक हजारदेखि दुई हजार रुपैयाँसम्म भाडा असुल्ने गरेकोले यस विषयमा स्थानीय सरकार बोगटान फुड्सिल गाउँपालिका, जिल्ला प्रशासन कार्यालय डोटी, जिल्ला प्रहरी कार्यालय डोटी, यातायात व्यवस्था कार्यालय डोटी र यातायात व्यवसायीको ध्यान जानुपर्ने उनको माग छ ।

अर्का पत्रकार मीन बम यस विषयलाई आफूले करिब १५ वर्षदेखि उठाउँदा उठाउँदै थाकेको बताउँछन् । उनी भन्छन् ‘अब स्थानीय जाग्नु पर्ने बेला हो । नत्र कसैले सुन्दैनन् ।’

जिल्ला प्रशासन कार्यालय, डोटी र यातायात कार्यालय डोटीलाई यो प्रश्न सोध्दा जवाफ के आउँछ होला ? भन्ने जिज्ञासा छ अर्का स्थानीय उपेन्द्र बमको ।

ग्रामीण सडकको जोखिमपूर्ण र खर्चिलो यात्राको विषय कोट्याउँदै सागर बोगटीले ५/६ घण्टाको बाटोमा दुई हजार पाँच सय रुपैयाँसम्म लिने गरेको बताए । ‘सम्बन्धित सरोकारवालालाई मतलव छैन’ सागर थप्छन् ‘अव सडकको अवस्था पनि मृत्यु मार्ग जस्तै भइसकेको छ ।’

यस विषयमा पटक पटक सरोकारवालासँग छलफल भएको भए पनि सबैले आँखा चिम्लेर बसेको आरोप लगाउँछन् खेम पातली । उनी भन्छन् ‘सार्वजनिक भन्दा बढी नीजि गाडीले यात्रु बोकिरहेका छन् ।’ उनले थपे ‘पाँच सयको ठाउँमा एक हजार/दुई हजार रुपैयाँ लिरहेका छन्, यो कमजोरी कसको हो ?’ उनी नियमन गर्ने निकायको यसमा ध्यान जानु पर्ने बताउँछन् ।

दिपायलदेखि सायल गाउँपालिका जाने गाडीहरूले पनि उच्च भाडा लिने गरेको बताउँछन् सायलका दिवाकर ओझा । उनी ५४ किलोमिटरको दुरीमा आधा भन्दा बढी पिच सडक हुँदा पनि यात्रुहरूले सात सय रुपैयाँ भाडा तिर्नु परेको बताउँछन् ।

विद्यार्थी वर्ग, किसान वर्ग र न्यून आय स्तर भएका वर्ग धेरै समस्यामा रहेको ओझाको दुखेसो छ । स्थानीय खडकबहादुर बम जनताको पनि कमजोरी देख्छन् । उनी जनताले पनि आवाज उठाउनु पर्ने बताउँछन् ।

ग्रामीण यातायात सही व्यवस्थापन नहुनुमा स्थानीय तह र प्रशासन दोषी रहेको आरोप लगाउँछन् स्थानीयबासीहरु । जीवन बोहरा भन्छन् ‘मरेको प्रशासन र लाचार सरकार भएपछि यस्तै हुन्छ ।’ यस्तै, महेश्वर अवस्थी प्रश्न गर्छन् ‘बोगटान फुड्सिलमा स्थानीय सरकार छ र ?’
शैलेश्वरी सार्वजनिक यातायात प्रालिका अध्यक्ष गणेश मलासी नियमन गर्ने निकाय आँखा चिम्लेपछि यस्तो समस्या आएको बताउँछन् ।

उनी भन्छन् ‘नियमन गर्ने निकाय आँखा चिम्लन्छ भने व्यवसायी मनपरी गर्ने नै हुन् ।’ भएका निर्णयको अक्षरशः पालना हुने हो र रातो प्लेटका गाडीहरूले मनपरी गर्न नपाउने हो भने आफूहरू सिस्टममा बस्न तयार रहेको मलासीको भनाई छ । उनी आफूहरू यात्रुलाई सुविधा दिन प्रतिबद्ध रहेको बताउँछन् ।

नेपाल प्रेसबाट