June 4, 2026, Thursday
२०८३ जेष्ठ २१

लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता

काठमाडौँ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकतामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताएका छन् । भारत भ्रमणका क्रममा दिल्लीमा रहेका रास्वपा सभापति रवि लामिछानेसँग बुधबार भएको भेटमा मोदीले भारत सदैव नेपालको साथमा रहेको र नेपालको विकास र आर्थिक प्रगति तथा समृद्धिमा साझेदार बन्न इच्छुक रहेको जनाएका छन् । 

मोदी र लामिछानेबीच एक घण्टाभन्दा बढी चलेको भेटवार्तामा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो । उनीहरू परिवर्तित राजनीतिक परिस्थितिमा नेपाल–भारत सम्बन्धलाई नयाँ दिशा दिन सहमत भएका छन् । 

भेटवार्तामा सहभागी एक नेपाली प्रतिनिधिका अनुसार रास्वपा सभापति लामिछानेले भारतका प्रधानमन्त्री मोदीलाई आफ्नो पार्टीसँग कुनै राजनीतिक बोझ नरहेकाले भारतसँग नयाँ ढंगले सम्बन्ध विकास गर्न चाहेको बताएका थिए । मोदीले २१ फागुनको निर्वाचनमा रास्वपाले हासिल गरेको प्रभावशाली जितको प्रशंसा गरेका थिए । 

मोदीसँगको भेटमा लामिछाने पत्नी निकिता पौडेल, रास्वपाका नेताहरू विपिन आचार्य र दीपक बोहोरा तथा दिल्लीस्थित नेपाली दूतावासका कूटनीतिज्ञहरूको उपस्थिति थियो । बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विक्रम मिस्रीलगायत उपस्थित थिए । 

पछिल्लो समयमा चर्चामा रहेका सीमालगायतका विषयमा भने भेटवार्तामा छलफल नभएको एक नेपाली अधिकारीले बताए । सीमाका विषयमा व्यक्तिगत रूपमा चासो राखिएको हुन सक्ने भए पनि औपचारिक छलफल नभएको उनको भनाइ छ । 

भारतीय विदेश मन्त्रालयको मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल–भारत सीमा विवादमा तेस्रो पक्षको मध्यस्थतालाई अस्वीकार गरेका थिए । प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा आइतबार दिएको भारतसँगको सीमा विवादमा इंग्ल्यान्ड (बेलायत) सँग पनि छलफल गरेको भन्ने अभिव्यक्ति दिएका थिए । त्यसैको प्रतिक्रिया भारतीय पक्षबाट मंगलबार सार्वजनिक भएको हो । जयसवालले यी विषय द्विपक्षीय संयन्त्रमार्फत नै सुल्झाउनुपर्ने बताएका थिए । 

बुधबारको भेटमा मोदीले भारतीय समाचार संस्था ‘हिन्दुस्तान टाइम्स’ मा मंगलबार प्रकाशित लामिछानेको लेखको प्रशंसा गरे । लेखमा लामिछानेले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ मार्ग विकास गर्ने र त्यसलाई अगाडि बढाउने उल्लेख गरेका थिए । त्यस्तै विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहले पनि उक्त लेख र लामिछानेको ‘विकास कूटनीति’ मार्फत द्विपक्षीय सम्बन्धलाई उचाइमा पुर्‍याउने प्रस्तावको प्रशंसा गरेका थिए ।

भेटवार्तामा सहभागी एक अधिकारीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भारत सधैं नेपालको साथमा रहेको अभिव्यक्ति दिएका थिए । ‘तपाईंहरू पहिले आफ्नो प्राथमिकता तय गर्नुहोस्,’ मोदीले लामिछानेलाई भने, ‘हामी त्यसमा हरसम्भव सहयोग गर्छौं ।’ नेपालको तीव्र आर्थिक विकासका लागि पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी गर्न मोदीले लामिछानेलाई सुझावसमेत दिएका थिए । अधिकारीहरूका अनुसार लामिछानेको भ्रमण र मंगलबार तथा बुधबारका उच्चस्तरीय भेटघाटले भारत सरकार र सत्तारूढ भाजपा दुवै रास्वपा नेतृत्वको सरकारसँग सम्बन्ध बढाउँदै नेपालका प्राथमिकताहरूमा साझेदारी गर्न चाहेको सन्देश दिएका छन् ।

मोदीले प्रधानमन्त्री शाहलाई शुभकामना पनि पठाएका छन् । ‘मैले उहाँलाई भारत भ्रमणको निम्तो पठाइसकेको छु र उहाँलाई दिल्लीमा स्वागत गर्न तयार छु,’ मोदीले लामिछानेसँग भनेका छन् । 

रास्वपा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीसँग फलदायी वार्ता भएको भन्दै खुसी व्यक्त गरेका छन् । ‘विगतका असहजतालाई बिर्सेर नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्ने तपाईंको दृष्टिकोणमा म पनि सहमत छु । साझा सभ्यताको सम्बन्ध, डिजिटल करिडोर र अवरोधरहित कनेक्टिभिटीमा केन्द्रित भएर हामी साँच्चिकै प्रगति र आपसी विश्वासमा आधारित साझेदारी निर्माण गर्न सक्छौं,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रास्वपा हाम्रो साझा समृद्धिका लागि यी सम्भावनाहरूलाई नेपाल र भारतका जनताको यथार्थमा परिणत गर्न उत्सुक छ ।’ 

त्यस्तै ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिला) नीतिअन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार रहेको मोदीले जनाएका छन् । उनले नेपालसँगको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मोदीले भनेका छन्, ‘हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं ।’ 

मोदीले सामाजिक सञ्जाल एक्समा साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने सभापति लामिछानेको चाहनालाई आफूले स्वागत गरेको जनाएका छन् । उनले भनेका छन्, ‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुसी लागेको छ । साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्छु र पूर्ण रूपमा समर्थन गर्छु ।’

दिल्लीको रणनीतिक र कूटनीतिक वृत्तले लामिछानेको भ्रमण, जारी सीमा विवाद र त्यससम्बन्धी प्रधानमन्त्री शाहको अभिव्यक्ति र नेपालको नयाँ सरकारअन्तर्गत द्विपक्षीय सम्बन्धलाई नजिकबाट नियालिरहेको थियो । नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले लामिछाने र भारतीय नेताहरूबीच भएको भेटलाई ‘अति सकारात्मक’ भनेका छन् । भारतले दुई मुलुकबीचको सम्बन्ध सर्वोच्च महत्त्व र प्राथमिकताको छ भन्ने स्पष्ट सन्देश दिइरहेको उनको विश्लेषण छ । 

रेले हिन्दुस्तान टाइम्समा प्रकाशित लामिछानेको लेखलाई भारतमा राम्रोसँग स्वीकार गरिएको बताए । ‘मलाई लाग्छ, बालेनले निश्चित तहभन्दा मुनिका मानिसलाई भेट्दिनँ वा विदेश जाँदिनँ भनेर आफैंलाई अनावश्यक अप्ठ्यारोमा पारिरहेका छन्,’ उनले भने, ‘यसलाई नीतिकै रूपमा किन स्पष्ट पार्ने ? यसको आन्तरिक रूपमा प्रशंसा हुन सक्छ तर विदेशी मुलुकहरूले हेर्दा यो धेरै नराम्रो देखिन्छ । उनले जसलाई मन लाग्छ भेट्न वा नभेट्न सक्छन्, तर आफ्नै हात बाँध्ने नीति बनाउनु हुँदैन,’ रेले कान्तिपुरसँग भने । 

लामिछानेको भ्रमण र भारतीय नेताहरूसँगको भेटघाट अत्यन्तै सफल र फलदायी रहेको पूर्वराजदूत रेको धारणा छ । यस भ्रमणले दुई छिमेकीबीच आपसी सम्मान, विश्वास र समझदारीलाई मजबुत बनाएको उनले बताए । 

भाजपा अध्यक्ष नितिन नवीनको निम्तोमा सोमबार नयाँदिल्ली पुगेका लामिछाने मंगलबारदेखि नै उच्चस्तरीय भेटघाटमा व्यस्त थिए । मंगलबार उनले भाजपा मुख्यालयमा अध्यक्ष नवीनसहित शीर्ष नेताहरूलाई भेटेका थिए । त्यसपछि उनले भारतीय विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरे । लामिछाने र रास्वपाको प्रतिनिधिमण्डलले बिहीबार अयोध्याको राम मन्दिर भ्रमण गर्ने कार्यक्रम छ । उनले नयाँदिल्लीमा रहेका नेपाली प्रवासीसँग पनि अन्तर्क्रिया गर्नेछन् ।

कान्तिपुरबाट