सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले संसदीय दलको बैठक बोलाएका छन् ।
दलको नेताबाट हटाउनुपर्ने निर्णय गर्दै अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता भएको दोस्रो दिनमै मुख्यमन्त्री शाहले दलको बैठक बोलाएका हुन् ।
शाहले बुधबार (आज) दिउँसो २ बजे बस्ने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका छन् । बैठकको एजेन्डा भने खुलाइएको छैन ।
शाहलाई संसदीय दलको नेताबाट हटाउनुपर्ने निर्णय गर्दै ९ जना सांसदले संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
हस्ताक्षर गर्ने मध्येकी डम्मरी महराले पार्टी एकता र सरकारको बजेटका लागि भन्दै हस्ताक्षर फिर्ता लिएको घोषणा गरेकी थिइन् । महरा मुख्यमन्त्रीको पक्षमा उभिएपछि तत्काललाई उनको पद जोगिएको छ ।
प्रदेश सभामा १८ जना सांसद रहेकोमा महराको युटर्नसँगै शाहको पक्षमा ९ र विपक्षमा ८ जना छन् । प्रकाश देउवा भने अमेरिकामा रहेका छन् ।
यसैबीच, शाहले संसदीय दलको बैठक बोलाएपछि उनलाई हटाउनुपर्ने पक्षमा रहेका सांसदहरुको सहभागिताबारे चासो बढेको छ । शाहको विपक्षमा रहेका एक सांसदले बैठकबारे सूचना प्राप्त भएको बताउँदै सहभागिताबारे परामर्शमै रहेको बताए । आपसी परामर्शपछि बैठकमा सहभागी भएर कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गरिने उनको भनाइ छ ।
शाहविरुद्धको मोर्चाबन्दीको अगुवाई गरिरहेका सांसद दिवान सिंह विष्टले भने शाहले संसदीय दलको विधानबमोजिम चुनाव फेस गर्नुपर्ने बताउँदै आएका छन् ।





प्रतिकृया दिनुहोस्