June 9, 2026, Tuesday
२०८३ जेष्ठ २६

सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

धनगढी : सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। नेपाली काँग्रेसबाट नियुक्त भएका तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ समेत लिएका हुन।

मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत नियुक्त भएका उनीहरूलाई मन्त्रालयको जिम्मेवारी समेत तोकिएको छ। बेलबहादुर रानामगरले सामाजिक मन्त्री बनेका छन् । यस्तै विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री बन्दा मान बहादुर रावल उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन्। उनीहरूलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण गराएका हुन् ।

त्यस्तै दुई जनालाई राज्यमन्त्रीको शपथ ग्रहण गराइएको छ । मधु भारती सामाजिक विकास राज्यमन्त्री बन्दा जुना दानी आर्थिक मामिला राज्यमन्त्री बनेकी छिन्।

राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री कमल शाहले शपथ ग्रहण गराएका हुन् । उनीहरू सबै कांग्रेसबाट मन्त्री बनेका हुन् । 

काँग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि गरिएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। नयाँ मन्त्री र राज्यमन्त्रीको नियुक्तिसँगै सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको असन्तुष्ट पक्षले समेत प्रतिनिधित्व पाएको छ।

मन्त्रीको शपथमा सभामुख, एमाले र नेकपा अनुपस्थित

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसले मन्त्री तथा राज्यमन्त्री हेरफेर गर्दै नियुक्त गरेका नयाँ मन्त्रीहरूले सोमबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा सभामुख, सत्ता साझेदार नेकपा (एमाले) तथा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू अनुपस्थित रहे।

शपथ ग्रहण समारोहमा सभामुख भीमबहादुर भण्डारी, उपसभामुख कोइलीदेवी चौधरी, सत्ता साझेदार एमालेका मन्त्री तथा सांसदहरू अनुपस्थित रहे। प्रमुख प्रतिपक्षी नेकपाका सांसदहरू पनि कार्यक्रममा सहभागी भएनन्।

एमालेभित्र पनि मन्त्री हेरफेरको विषयमा छलफल चलिरहेको थियो। आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्री परिवर्तनका विषयमा संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई निर्देशन दिएको चर्चा सार्वजनिक भयो।

एमालेले सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री परिवर्तन गर्ने र नयाँ सांसदलाई सरकार पठाउने निर्णय गरेको थियो । एमालेले उपनेता सन्तोष शर्मा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमलाई सरकारमा पठाउने निर्णय लिएको छ ।

सोमबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले भने तत्काल मन्त्री फेरबदल नगर्ने निर्णय गरेको छ। उक्त निर्णयसँगै भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँदको पद तत्कालका लागि सुरक्षित भएको छ।

 मन्त्री फेरबदल नभएको भन्दै एमाले समर्थकहरूले संसदीय दलका नेता राजेन्द्रसिंह रावलविरुद्ध नाराबाजी गर्नुका साथै संसदीय दलको कार्यालयमा तोडफोड गरेका छन्। उनीहरूले पार्टीको प्रदेश कार्यालयमा समेत तालाबन्दी गरेका छन्।