June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

सहायक वन अधिकृत सुरेशचन्द्र डिसीः सदावहार विवादित पात्र

डोटी साउन २९(ई–रैवार)
२०७३ माघको दोस्रो साताको अन्तिमतिर जोरायल क्षेत्रमा व्यापक वन फँडानी भएको प्रारम्भिक सूचनापछि पत्रकार टोली त्यसक्षेत्रमा पुग्यो । स्थलगत अध्ययन गर्दा अवस्था निकै गम्भिर थियो । आर्थिक वर्ष ‘२०७२÷०७३ को कटान आदेश’मा अबैध रुपमा त्यतिबेला काठ काटिएको थियो । काटिएका रुखपनि आँला थिए ।
फँडानीको स्थलगत ‘रिपोर्टिङ’ गरेर आएको पत्रकार टोलीलाई तत्कालिन सेक्टर वन कार्यालय बुडरका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले डोटीको बुडरमा भेटेर ‘प्रभावित’ पार्ने प्रयास गरे । तत्कालिन अवस्थामा वनको अनुगमनको जिम्मा सेक्टर बन कार्यालयलाई हुन्थ्यो ।
‘कसरी जाँदा ठिक हुन्छ । तपाई प्रस्ताब ल्याउनुस न । हामीले सरेण्डर हान्यौ, ल,’ पत्रकारसंग भेट्दै उनले भनेका थिए,‘साथीभाई हो । मायाप्रेम बढाउ । तपाई दाङ जाँदा(दाङ उनको घर हो) छिर्ने । म यता छिर्छु । आउदा जाँदा भेट भैरहोस भन्ने हो । तपाई बिबाहमा बोलाउनुस । म बर्थडेमा बोलाउछु ।’
प्रत्यक्ष रुपमा ‘कमिशन’ लिएर कुराकानी मिलाउन उनले प्रलोभन दिईरहेका थिए । त्यो कमिशन सामुदायिक वनहरु तथा ठेकेदारहरु तथा काष्ठ उद्योगबाट संकलन गर्नसकिने उनी आश्वासन दिदैथिए । यसक्रममा केही सुदूरपश्चिमका ठुला काठ उद्योग र तीनका संचालकका नाम समेत लिन भ्याए ।
काठ कटानी भैरहेका बेला आफुले जे भन्यो त्यही चल्ने उनले बताएका थिए । ‘काम भैरहेका बेला हामीले जे भन्यो त्यही चल्छ,’ उनी भन्दैथिए,‘मेरो एरियामा काम गरिरहेकाहरुले मान्नुप¥यो । नत्र काम छोड्नुपर्छ । यस्तो रिलेशन हुन्छ हाम्रो ।’
उनले यसरी बार्गेनिङ गरेको, वन फँडानीमा समेत उनी दोषि देखिएको फँडानीमा मिलेमतो गरेको लगायतका आशयका समाचारहरु प्रकाशित भएका थिए । त्यसपछि तत्कालिन जिल्ला वन कार्यालयबाट गएको स्थलगत निरीक्षण टोलीले उनलाई पनि दोषी देखायो । धमाधम समाचार आउन थालेपछि उनले पत्रकारको ‘ढाँड र कलम भाँच्ने’ धम्की समेत दिएका थिए । डोटीमा विवादमा आएपछि उनलाई तत्कालिन क्षेत्रीय वन कार्यालय धनगढी तानियो । त्यस घटनामा उनी ‘शक्ती’ प्रयोग गरेर उम्कीए ।
सहायक वन अधिकृत डिसी विवादमा आएको यो पहिलो घटना होईन् । उपभोक्तासंग अशुली, वन पैदावर संकलनमा उपभोक्ता तथा ठेकेदारसंग सेटिङ, अवैध तस्कारी, आफ्नै कर्मचारीहरुसंग झै–झगडा लगायतका कारण उनी पटक–पटक विवादमा आईराख्ने पात्र हुन् । यी सबै घटनाहरुमा उनी ‘शक्तीको प्रयोग’ गरेर जहिल्यै उम्किदै आएको जानकारहरु बताउछन् । ‘शक्तिको सधै नजिक बसिराख्ने, मान्छे हुन डिसी । सबैजसो राजनीतिक दलका नेताहरु, पत्रकार, ‘व्यरोक्रेसी’तिर अनौठो सम्बन्ध हुन्छ उसको,’ वन संयन्त्रमै बसेर काम गरिरहेको स्रोत भन्छ,‘त्यही भएर पनि उ ‘फ्लोर’मा असोभनिय ढंगले प्रस्तुत हुने, बार्गेनिङ गर्ने काममा खुल्लम–खुल्ला लाग्छ ।’

अधिक समय बुडर र वीपीनगरमा
स्थायी घर दाङ रहेका सहायक वन अधिकृत डिसीले जागिरको अधिकांश समय बुडर र वीपीनगरमा बिताएका छन् । बुडर र बीपीनगर भित्रिमधेश क्षेत्रमा पर्दछन् । यहाँ बाक्लो र ठुल्ठुला साल र सल्लाको वन छ । यसबाहेक यही क्षेत्रमा ठुलो मात्रामा अन्य वनपैदावरहरुको पनि संकलन र निकासी हुन्छ । यही क्षेत्रबाट बर्षौदेखी ठुलोमात्रामा काठ तस्करी हुँदैआएको छ । त्यही भएकाले उनको रोजाई त्यहाँ हुनेगरेको छ ।
स्रोतका अनुसार २०४८ सालमा क्षेत्रीय वन निर्देशनालय धनगढीको विभागिय नियूक्ती लिएर रेञ्जरका रुपमा उनी डोटी प्रवेश गरेका हुन् । शुरुमा उनी लानाकेदारेश्वर ईलाका वन कार्यालयमा खटिए । त्यो कार्यालय पछि वीपीनगरमा सारियो । त्यसको केही वर्ष डोटीमा बसेर कैलाली सरुवा भए । कैलालीमा त्यतिबेला काठ तस्करीको ठुलो गिरोह सक्रिय थियो ।
त्यसक्रममा उनको कैलालीमा आफ्नै विभागको एकजना कर्मचारीसंग झगडा प¥यो । ‘त्यसपछि उनको खुकुरी हानाहानको स्थिती पुगेपछि २०५८÷०५९ तिर डोटी सरुवा भएको हो,’ स्रोत भन्छ ।
डोटी आएपछि उनी बुडरमा दरबन्दी मिलाएर गए । ‘द्वन्द्वकालमा काठ कटानीको कुनै हिसाबकिताब नै थिएन,’ एकजना पुराना वन कर्मचारी भन्छन्,‘उनको विद्रोही माओबादी र सेनासंग दोहोरो सेटिङ्को सम्बन्ध थियो । त्यो समयमा पनि उनी त्यहा जमेर बसे ।’
२०६२÷०६३ तिर उनलाई ईलाका वन कार्यालय कालिकास्थान खटाउदा उनी काममा नै नगईदिएको स्रोत बताउछ । पछि ‘पावर’ प्रयोग गरेर फेरी उनी बुडरमै गए । बुडरमा गएपछि २०६४ सालमा अबैध वन फँडानीको समाचारमा उनी विवादमा आए । बुडरमै बस्दा उनले उपभोक्तालाई अनावश्यक सताउने गरेको, स–साना मुद्दामा फसाएर धम्क्याउदै अशुली गर्नेगरेको, महिलाहरुमाथि दुव्र्यबहार गरेको, ठेकेदारहरुसंग मिलेर तस्करीमा लागेको आरोपहरु लाग्दै आएका छन् ।
उनको दुव्र्यवहार बढ्दै गएपछि २०६८ तिर बुडरबाट एक बस स्थानीयबासी र उपभोक्ताहरु आएर उनको सरुवाको माग गर्दै जिल्ला वन कार्यालय घेराउ गरे । त्यसपछि उनको पूर्वतिर सरुवा भयो । सरुवा भएपछिपनि सरुवा लिने नमानेको स्रोत बताउछ । उनको रमानापत्र जिल्ला वन कार्यालयबाट कार्यालय सहयोगी पठाएर बुडरमै थमाउनुपरेको स्रोत बताउछ ।
सरुवा भएको केही समयमै उनी फेरी डडेल्धुरा सरुवा मिलाएर आए । डडेल्धुरा पनि काठको तस्करीका लागि चर्चामा आईरहन्छ । डडेल्धुरा आएपछि उनको रोजाई भित्रिमधेशको जोगबुडा र आलिताल क्षेत्रमा प¥यो । जुन बुडरसंग जोडिएको र साल–सल्लाको व्यापक कटानी हुने क्षेत्र हो ।
त्यहाँ तत्कालिन जिल्ला वन अधिकृत कृष्ण भट्टमाथि हातपात सहित झै–झगडा गरेपछि उनी २०७१ सालमा दैलेख सरुवा भए । दैलेखमा केही समय बसेर फेरी २०७२ सालमा डोटीमै सरुवा मिलाएर फर्किएर सेक्टर वन बुडरमा खटिएर गए । डोटीमा आउदा निमित्त जिम्मेवारी पाएका अधिकृतलाई ‘म सिनियर हुँदाहुँदै तिमि किन निमित्त’भनेर विवाद गरेका थिए । त्यो मुद्दा जिल्ला प्रशासनसम्म पुगेको स्रोत बताउछ ।
गत आर्थिक वर्षको सुरुवातमा सेक्टर वन कार्यालय खारेज भयो । त्यसपछि सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयको राजनीतिक ‘पावर’ प्रयोग गरेर योजनावद्ध रुपमा गत भदौ–असोजमा सब–डिभिजन वन कार्यालय वीपीनगरको गए ।
जहाँको कार्यकाल सकिदैगर्दा उनी यतिबेला अख्तियारको फन्दामा परेका छन् । नयाँ कर्मचारी समायोजन अनुसार उनी कञ्चनपुर सरुवा भएर गएका थिए । जसको रमानापत्र पनि यही साउन २३ गते बुझिसकेका थिए । उनलाई आईतबार काठको काम मिलाईदिएबाफत घुस लिएको आरोपमा तीन लाख २६ हजार नगदसहित अख्तियारले नियन्त्रणमा लिएको छ । उनलाई थप छानविनका लागि काठमाण्डौ पठाईएको छ ।
सोही घटनामा थप अर्का व्यक्ती पक्राउ परेका छन् । सुशान जोशी नाम गरेका अर्का व्यक्तीलाई पनि डडेल्धुराबाट पक्रिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुख शिब काकीले जनाए । ‘बिचौलियाको भूमिका निर्वाह गरेको अभियोगमा समातेका छौ । उनललाई पनि काठमाण्डौ पठाईसकिएको छ,’ उनले भने ।