राष्ट्रिय सम्मानसहित विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि

भीमदत्त : महाकाली नदीको किनारमा आज विपिन जोशीको दाहसंस्कार गरिएको छ। हमास समूहकाे बन्धकमा रहेकै अवस्थामा मृत्यु भएका कञ्चनपुरका युवक जाेशीकाे मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएकाे हो ।
सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित निवासमा जोशीको शव पु-याइएको थियो। आज बिहान विपिनको शवयात्रा पश्चात महाकाली नदी किनारमा दाहसंस्कार गरिएको हो।
भुजेला घाटस्थित महाकाली नदीमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाले राष्ट्रिय झन्डा ओढाउनुका साथै सशस्त्र प्रहरीले सलामी दिएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । शवयात्रामा सहभागी नेपालका लागि इजरायली दूतावासका कर्मचारीले इजरायलको राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली दिएका थिए ।
इजरायलबाट सोमबार काठमाडौँ ल्याइएको विपिनको शव साँझ नै सेनाको विमानबाट धनगढी विमानस्थलसम्म ल्याइएको थियो । त्यहाँबाट धनगढी उपमहानगरपालिकाको शव वाहनमार्फत भीमदत्त नगरपालिका-३ स्थित घरमा ल्याइएको थियो । मंगलबार बिहान घरबाट हजारौँको सहभागितामा भुजेलाघाटसम्म शवयात्रा गरिएको थियो ।
विपिनको शवलाई सशस्त्र प्रहरी बल नेपालको एक टुकुडीले सलामी अर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए।
शवयात्रामा स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक निकाय र सुरक्षा निकायका पदाधिकारीका साथै सयौँ स्थानीयवासी सहभागी थिए।
शवयात्रामा नेपालका लागि इजरायली राजदूत, पूर्व परराष्ट्र मन्त्री एनपी सावद, विघटित प्रतिनिधिसभाका सदस्य तारा लामा तामाङलगायत सहभागी हजारौँको संख्यामा सहभागी भएका छन् ।
दुई वर्षदेखि हमासको नियन्त्रणमा रहेका विपिनको सोही अवधिमा मृत्यु भएको थियो। हमासको आक्रमणमा परी विपिनसँगै सुदूरपश्चिमका आठ विद्यार्थीले ज्यान गुमाएका छन्।
कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा उनीहरू दुई वर्षअघि इसराइल पुगेका थिए।



प्रतिकृया दिनुहोस्