त्यो दिन : प्रहरीलाई पुष्पगुच्छा दिएर सुरु भएको जेन-जी आन्दोलनमा कसरी गोली चल्यो ?

काठमाडौँ : सामाजिक सञ्जाल रेडिट र डिस्कर्डबाट संगठित भएका जेन–जीले भ्रष्टाचारविरोधी आन्दोलनको उद्घोष गरेका थिए । त्यसका लागि मिति तय थियो– ८ सेप्टेम्बर (२३ भदौ) । नेपालमा सूचीकरण नभएका भन्दै सरकारले २६ सामाजिक सञ्जाल प्लाटफर्ममा प्रतिबन्ध लगाएपछि जेन–जी आन्दोलनका लागि अग्रसर भएका थिए ।
प्रहरीलाई पुष्पगुच्छा दिएर सुरु गर्ने र गीत तथा कविता सुनेर पहिलो दिनको आन्दोलन समापन गर्ने भनिएको थियो । माइतीघरबाट अघि बढेको र्याली नयाँ बानेश्वर नपुग्दै घम्साघम्सीमा परिणत भयो ।
प्रहरी बर्बर दमनमा उत्रिँदा नयाँ बानेश्वर क्षेत्रमा १९ युवाले ज्यान गुमाए, सयौं घाइते भए । त्यस घटनाले झन् आक्रोश बढाउँदा भोलिपल्ट त्यसको झन्डै तेब्बर संख्यामा मानिसको मृत्यु भयो, मुलुकभरका कैयौं सरकारी, व्यापारिक र निजी संरचना ध्वस्त भए ।
आखिर फूलको गुच्छा दिने भनिएको आन्दोलनमा गोली कसरी चल्यो ? आन्दोनलको पहिलो दिनको समयरेखा :
बिहान ९ : ०० बजे, माइतीघरमा भेला
जेन–जीले भौतिक छलफल र भेटघाटबाट ९ बजे माइतीघरमा भेला हुने तय गरेका थिए । केहीले पहिल्यै ११ बजे उपस्थित हुने सूचना जारी गरेका थिए । सधैं धर्ना, प्रदर्शन हुने माइतीघरको कुनामा ९ बजेदेखि नै युवा भेला भएका थिए ।
उनीहरू कोही स्कुल–कलेजकै पोसाकमा थिए । किताब–कापी बोकेका विद्यार्थी पनि देखिन्थे । कतिपय युवाको हातमा प्लेकार्ड थियो, कसैसँग राष्ट्रिय झन्डा । छेउछाउमा स्कुटी, बाइक पार्किङ गर्दै युवा थपिँदै गए ।
९ : ३० बजे, आन्दोलनमा के नगर्नेबारे जानकारी
भीडको मध्यतिर राखिएको एउटा सेतो गाडीमा जेन–जीका अगुवाहरू प्रवेश गरे । केहीले छोटो भनाइ राखे, एकैछिनमा रक्षा बम माइक बोकेर बोल्न थालिन् । उनले आन्दोलनका क्रममा ‘हामी के गदैनौं’ भन्ने सुनाउन थालिन् । ‘के गर्छौं भन्ने हामीलाई राम्ररी थाहा छ, के गर्दैनौं भन्ने म पढ्न चाहन्छु,’ उनले भनिन्, ‘आज हामी रूख–बिरुवा भाँच्दैनौं, सार्वजनिक सम्पत्ति नष्ट गर्दैनौं, होहल्ला, तोडफोड र आगजनी गर्दैनौं ।’
रक्षाले ‘फोहोर गर्दैनौं, द्वन्द्व र आक्रमण गर्दैनौं, शान्तिपूर्ण तरिकाले आवाज उठाउँछौं’ भन्दा हो…हो… भन्दै भीडबाट समर्थन आयो । ‘धम्की र गालीगलौज गर्दैनौं, सभ्य र जिम्मेवार व्यवहार गर्छौं,’ ‘हामी राजनीतिक दलको एजेन्डा बोकेर आउँदैनौं,’ उनी थप्दै गइन् । र, अझ मुख्य कुरा सुनाइन्, ‘हामी नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा बोल्छौं ।’
१० : ३० बजे, बानेश्वरतर्फ आन्दोलनकारी
माइतीघरमा हजारौं जेन–जी उपस्थित भइसकेका थिए । आन्दोलनकारी थपिने क्रम बढिरहेको थियो । त्यही बीचमा भीडबाट बानेश्वरतिर अघि बढ्ने संकेत गुन्जियो । जेन–जीले भ्रष्टाचारविरुद्ध नारा लगाउन थाले, एकैछिनमा अर्को कुनाबाट एकस्वरमा घन्किन थाल्यो, ‘रातो र चन्द्र सूर्य, जंगी निसान हाम्रो ।’ एउटा सानो समूहले गाउन थालेको यस गीतमा अरूले पनि स्वर मिसाए । माहोल नै बेग्लै बन्यो ।
केहीबेरमा अर्को समूहले ‘सयौं थुँगा फूलका हामी…’ गाउन थाल्यो । त्यसबीचमा ‘नेता जति गाडीमा, युवा जति खाडीमा’, ‘देश बेच्न पाइँदैन, भ्रष्ट सरकार चाहिँदैन’, ‘भ्रष्टाचारी सरकार मुर्दावाद’ जस्ता नारा युवाले घन्काए । भीडमा ‘लुट्न पुग्यो सरकार ?’, ‘उनीहरूले प्लाटफर्म लगे, हामीले सडक लियौं’, ‘कता हिँडेको घूस खाएर, छोराछोरी विदेश घुमाएर, जनताको पसिना खाएर, लक्जरी कारमा चिल गरेर’ लगायत लेखिएका प्लेकार्डसमेत देखिन्थे । अलि पुरानो उमेर समूहकाले ‘मेरो पुस्ताले हार्यो, तिम्रो पुस्ता उठ्नुपर्छ’ लेखेको प्लेकार्ड बोकेका थिए । केही युवाले चाहिँ मास्कमा टेप लगाएर बोल्न रोक लगाएको प्रति सांकेतिक विरोध जनाएका थिए ।
भीड सडक ढाकेर बबरमहलतिर लम्किँदै गयो । विगतका आन्दोलनमा जस्तो अग्रभागमा खास नेता र ब्यानर थिएन । सार्वजनिक र निजी यातायात ठप्पप्रायः थियो । त्यति बेला सँगसँगै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारी पनि थिए ।
१० : ५२ बजे, ओलीको तस्बिर च्यातियो
जिल्ला अदालत कटेर नेपाल टेलिकमको कार्यालयनजिक पुग्नेबित्तिकै बिजुलीको पोलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर देखियो, तस्बिर च्यात्न युवा पोलमा चढे ।
प्रदर्शनको बीचमा रहेको सेतो गाडीमा सवार बब्लु गुप्ता, रक्षा बमलगायतले आक्रोशित नहुन आग्रह गरे, तर पोलमा चढेका युवाले ओलीको पोस्टर च्याते । तल झारिसकेपछि कुल्चिए । जेन–जी अगुवाहरूचाहिँ त्यस बेला सडकमा लगाइएको फूलमा नचढ्न भनिरहेका थिए, बिरुवा भाँच्दा राम्रो सन्देश नजाने बताइरहेका थिए । ओलीको तस्बिर च्यातेपछि भीड दुवै हात उठाएर खुसियाली मनाउँदै अघि बढ्यो ।
१० : ५७ बजे, प्रधानमन्त्री, मन्त्रीविरुद्ध नाराबाजी
बिजुलीबजारको आर्कब्रिजबाट अघि बढेपछि तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध नारा लाग्न थाल्यो । तत्कालीन गृहमन्त्री रमेश लेखक, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध समेत नारा लाग्यो । नेताका छोराछोरीको विलासी जीवनशैलीको विरोध गर्दै चलेको नेपोबेबिज अभियानसँग सम्बन्धित नारासमेत सुनिन थाल्यो । कतिपयले ‘यहाँभन्दा पर नजाऔं’ भन्दै हातले लाइन बनाएर भीड रोक्न खोजे । तर ठूलो समूह भने अगाडि बढ्यो ।
भीड बिजुलीबजार क्षेत्रमै रहेका बेला बीचबाट केही युवाले डर्ट बाइक हुइँक्याएका थिए । ती बाइकमा रहेका कतिपय युवाले कालो झन्डासमेत बोकेका थिए । आन्दोलनकै पक्षमा भएकाले उनीहरूलाई त्यसरी बाइक कुदाउन रोकटोक थिएन ।
११ : ०६ बजे, एभरेस्ट होटलनजिकबाट अघि नबढ्न प्रहरीको आग्रह
जेन–जी आन्दोलनकारीको अग्रपंक्तिमा रहेको टोली एभरेस्ट होटलनजिक पुग्यो, जहाँबाट प्रशासनले तोकेको निषेधित क्षेत्र सुरु हुन्थ्यो । हेलमेट, सिल्डसहितका प्रहरीले भीडलाई रोक्न खोजे । एक प्रहरी नायब उपरीक्षक (डीएसपी) ले भीडलाई शान्त भइदिन आग्रह गर्दै त्यहाँबाट अगाडि नबढ्न अनुरोध गर्न थाले । केही जेन–जी अगुवाले ‘यो स्लो मुभमेन्ट हो’ भन्दै भीड रोक्न खोजे । तर, चर्को स्वरमा नाराबाजी भइरहेका बेला त्यो आवाज कमजोर सुनियो ।
ती डीएसपीले माइकिङ गरेर निषेधित क्षेत्र तोडे प्रहरीले बल प्रयोग गर्नेसमेत बताए तर हाते माइक राम्रोसँग बजेन । नजिकै हुनेले समेत सुन्न गाह्रो भयो ।
त्यही बेला भीडमा शेरबहादुर देउवा, ओली र पुष्पकमल दाहालको तस्बिरसहित ‘वान्टेड’ लेखेको पोस्टर देखाइयो । त्यही पोस्टरको पछाडि लेखिएको थियो, ‘जनताको पसिना, नेताका नाति–नातिनाका डिनर । ह्यास ट्याग जेन–जेड आऊ देश बचाऊ ।’
११ : २० बजे, रातो र चन्द्रसूर्यको धुन बज्यो
रातो र चन्द्रसूर्यको धुन बज्यो । साथमा, ‘केपी तेरो पाराले, दुःख पाए साराले’ नारा लाग्न थाल्यो । बिस्तारै राष्ट्रिय झन्डा पनि फहराउन थाले । ‘वी आर जेन–जी, वी निड क्लिन लिडर (हामी जेन–जी हौं, हामीलाई स्वच्छ नेता चाहिन्छ)’ लेखिएका प्लेकार्डसमेत देखाइन थाले ।
गाडीमा रहेकी रक्षा बमले नेपालको झन्डा देखाइन्, ‘१०० ग्रुप’ का बब्लु गुप्ताले ‘नो करप्सन’ लेखिएको ब्यानर देखाए, युजनराज भण्डारीले अग्रपंक्तिमा रहेर नारा लगाए । भण्डारीका अनुसार आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढिरहेको थियो । ‘हाम्रो उद्देश्य पनि अशान्ति मच्चाउने थिएन,’ उनी भन्छन् । भीडमा कन्या मन्दिर स्कुलका विद्यार्थी पनि देखिए । पहिले कहिल्यै कुनै आन्दोलनमा ननिस्किएको तर भ्रष्टाचारबाट आजित भएकाले अहिले सडकमा उत्रिएको उनीहरूसँगै सडकमा आएका शिक्षकले सुनाए । त्यही भीडको बीचबाट एक अग्ला युवाले ब्यानर देखाए, जसमा लेखिएको थियो, ‘बोल्न दे सरकार ।’
११ : ३५ बजे, प्रहरीको ब्यारिकेड भत्काएर अघि बढे युवा
आन्दोलनकारी प्रहरीले राखेको ब्यारिकेडबाट अगाडि बढ्न खोजे । अग्रभागमा प्लेकार्ड थियो, ‘कमरेड, तिम्रो क्रान्ति, तिम्रो डिजाइनर सुटको खल्तीमा त हराएन, खै कता छ ???’ त्यही बेला प्रहरीले केही भनिरहेको थियो, तर माइक कमजोर भएकाले आवाज सुनिएन । ब्यारिकेडमा प्रहरी र जेन–जीबीच धकेलाधकेल भइरहेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पानीको फोहोरा नजिक ल्याए र हान्न थाले । अगाडि भएका युवा तितरबितर हुन थाले । कोही युवाले पानीको बोतल र कागजका डल्ला प्रहरीमाथि प्रहार गरे । प्रहरीले लाठी हान्दा केही आन्दोलनकारी घाइते भए । त्यसपछि भीड अशान्त भयो । तनाव बढ्ने संकेत देखिएपछि जेन–जी अगुवाले कलेज, स्कुल पढ्ने बच्चाहरूलाई घर फर्किन भन्दै सम्झाउन थाले । त्यतिन्जेल बानेश्वर चोकमा केही सवारीसाधन चलिरहेका थिए, केहीबेरमै सबै डाइभर्ट भए ।
संसद् भवन आसपास निषेधित क्षेत्र भए पनि बानेश्वर चोकतिर ब्यारिकेट थिएन । तीनकुेन हुँदै आएका युवा बानेश्वर चोक पार गरेर ब्यारिकेडतर्फ अघि बढे । जब दुवैतर्फबाट भीड अघि बढ्यो, तब भीडको तुलनामा नगण्य रहेका प्रहरीले थेग्न सकेनन् । ब्यारिकेड गर्ल्याम्म ढल्यो । त्यसपछि युवा नाराबाजी गर्दै बानेश्वर चोकतर्फ अघि बढे, प्रहरी तितरबितर भए । पानीको फोहोरा हान्ने गाडीसमेत पछाडि सर्यो ।
त्यो दिन नेपाल प्रहरीबाट करिब चार हजार र सशस्त्र प्रहरीबाट करिब एक हजार जनशक्ति फिल्डमा उतारिएको दुवै सुरक्षा निकायको भनाइ थियो । आन्दोलनमा सहभागी हुने संख्या सही आकलन गरेर रणनीति तय गर्न नसक्दा सुरक्षा निकाय तहगत ब्यारिकेड बनाई नियन्त्रण गर्न चुकेको प्रस्ट देखियो ।
१२ : ०० बजे, बानेश्वरको ट्राफिक आइल्यान्डमा पुगेर नाराबाजी
हजारौंको संख्यामा जेन–जी युवा नयाँ बानेश्वरतर्फ अघि बढे । ‘युवाजति खाडीमा, नेपोकिड्स गाडीमा’ नारा लगाउँदै राष्ट्रिय झन्डासहित जेन–जी बानेश्वर चोकतर्फ लक्षित भए । युवाको हूल बानेश्वरको आकाशे पुलमा चढ्यो । केहीबेरमै पुल खचाखच भयो । दुई युवाले पुलको मध्यभागमा पुगेर खोपडी अंकित जापानी एनिमीको ब्यानर टाँगे, ‘द टाइम इज नाउ, वेक अप नेपाल । (समय यही हो, उठ नेपाल ।’
केहीबेरमै जेन–जी बानेश्वरको ट्राफिक आइल्यान्डमा पुगे, त्यहाँ तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध नारा लगाउँदै कालो ब्यानरमा सेतो र रातो अक्षरले लेखिएको ब्यानर टाँगे, ‘वेक अप एगेस्ट करप्सन ।’
१२ : ०६ बजे, संसद् भवनको चारैतिर जेन–जी जम्मा, नाराबाजी
नयाँ बानेश्वर चोकमा प्रहरीको उपस्थिति छैन । संसद् भवनको चारैतिर जेन–जी आन्दोलनकारी जम्मा भए । संसद् भवनवरिपरि भ्रष्टाचारसँगै सरकारविरुद्ध नाराबाजी हुन थाल्यो । बानेश्वर चोकमा सडकमै पलेँटी कसेर नारा लगाउन थाले । सडकमा बस्ने अधिकांश युवा थिए । कलेज र स्कुलको पोसाकमा हुनेको बाहुल्य थियो ।
केही युवा संसद् भवनको ढोकामै गएर नारा लगाउन थाले । केही युवा संसद् गेटमा रहेको भवनमा चढ्ने प्रयाससमेत गर्न थाले । नेपाल ल क्याम्पसका विद्यार्थीसमेत देखिए, भ्रष्टाचार बन्द गर भन्दै नारा लगाए । त्यस बेलासम्म संसद् भवनको चारैतिर रहेका सेन्ट्री पोस्टमा समेत प्रहरीको उपस्थिति थिएन ।
बानेश्वर चोकमा रहेको पोस्टमा केही युवा प्रवेश गरेर हात हल्लाउन थाले । त्यही बेला पानीट्यांकीतर्फ अश्रु ग्यास प्रहार हुन थाल्यो । भीड नियन्त्रणको अभ्यासअनुसार लाठीचार्ज हुँदै माइकिङ गरेर जानकारी दिँदै बल बढाउनुपर्थ्यो । तर संसद् भवन बाहिर प्रहरीको उपस्थिति नै नगण्य थियो ।
१२ : ३० बजे, कर्फ्यु जारी
अत्याधिक अश्रु ग्यास हानिएको थियो । त्यही बेला जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रदर्शनस्थल वरिपरि कर्फ्यु आदेश जारी गर्यो । तर, कतिपय आन्दोलनकारीले प्रशासनको आदेशको जानकारी नै पाएनन्, त्यसैले भीड घटेन । अश्रुग्यासका कारण आँखा पोलेपछि आन्दोलनकारी पानी छम्कँदै नारा लगाइरहेका थिए ।
१२ : ५५ बजे, अश्रुग्यास र हवाई फायर
आक्रोशित युवाले संसद् भवनको बानेश्वरबाट पानीट्यांकी जानेतर्फ पर्खाल भत्काउन खोजे । कर्फ्युका बीच नै प्रहरीको सेन्ट्री बस्ने ठाउँमा फेरि युवा उक्लिए र नेपालको झन्डा फहराउन थाले । संसद् भवनभित्रबाट चाहिँ अन्धाधुन्ध अश्रुग्यास प्रहार भइरह्यो । अश्रुग्यास र हवाई फायरको आवाज सुनिँदै गर्दा केपी शर्मा ओलीविरुद्ध नाराबाजी भयो, ‘प्रहरी दमन बन्द गर’ को नारासमेत उठ्न थाल्यो ।
प्रहरीले संसद् भवनभित्रबाट र मीनभवनस्थित यातायात व्यवस्था विभागको अघिल्लो भागबाट अश्रुग्यास र हवाई फायर गरिरहेको थियो ।
१ : २२ बजे, संसद् भवनको पर्खाल तोडफोड
अश्रुग्यासले तितरबितर भएका युवा फेरि संसद् भवनतिर अगाडि बढ्न थाले । ‘हामी तिर्छौं, उनीहरू चोर्छन्, तिमीहरूको नालायक सन्तान सुनमा नुहाउँछन्, चाँदीको भाँडामा खान्छन्’ लेखिएको प्लेकार्ड देखियो । संसद् भवनको मुख्य गेटमा रहेको सुरक्षाकर्मी बस्ने भवनको छतमा युवा दोस्रो पटक चढ्न थाले । केही ठाउँमा पर्खाल प्वाल पारे । केही युवा त्यहाँबाट प्रवेश गरेर भित्र समेत छिरे ।
एकातिर प्रशासनले लगाएको कर्फ्युको विषयमा आन्दोलनकारीले जानकारी नै पाएका थिएनन् । प्रहरीको माइक कामै नलाग्ने थियो, केही सुनिएको थिएन । बाहिर प्रहरीको उपस्थिति शून्यजस्तै थियो । उता संसद् भवनभित्रको एसटीएफ (स्पेशल टास्क फोर्स) ले इन्सास र एसएलआरबाट जथाभावी गोली चलाउन थाल्यो । केही युवा तत्कालै ढले, उनीहरूलाई आन्दोलनकारीले नै नजिकै भएको सिभिल अस्पताल लगे । तर प्रदर्शन र गोलीबारी रोकिएन । बढ्दै गयो ।
२ : ०० बजे, प्रहरीको गोलीले ढले युवा
प्रहरीको गोली लागेर घाइते हुनेको संख्या बढ्न थाल्यो । एम्बुलेन्सको आवतजावत बाक्लियो तर जति एम्बुलेन्स आए पनि कमै भएका थिए । क्षणभरमै नयाँ बानेश्वर क्षेत्रको सडक रक्ताम्य हुन थाल्यो । एक घाइते युवालाई लैजान एम्बुलेन्स नभएपछि मोटरसाइकलमा च्यापेर उद्धार गरियो । संसद् भवन र नयाँ बानेश्वर क्षेत्र आसपास आकाशमा धूवाँको मुस्लो देखिन थाल्यो ।
युवाले संसद् भवन गेटबाहिरबाट आक्रोश पोखिरहेका थिए । घाइतेको संख्या बढ्दै जाँदा उनीहरूमा आक्रोश बढ्न थाल्यो । संसद् भवनको विपरीततर्फ रहेको अरेबिका क्याफे अगाडि युवा गोली लागेर घाइते भए । रक्ताम्य अवस्थामा रहेका उनका लागि एम्बुलेन्स कुर्ने स्थिति थिएन । युवाले बोकेर अस्पतालतर्फ लगे । त्यही बेला अर्का युवा पनि घाइते भए । उनलाई पनि स्ट्रेचरमा हालेर सिभिल अस्पतालतिर लगियो ।
क्षणभरमै सयौ घाइते भए । अधिकांश आन्दोलनकारी संसद् भवन अघिल्तिर ढलेका थिए । आन्दोलनकारीको आक्रोश झन् बढ्यो । पर्खाल नाघेर कतिपय युवा भित्रै छिरे । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लियो ।
२ : ३० बजे, ‘गोली हान्’ भन्दै युवाले छाती थाप्न थाले
सिभिल अस्पतालमा घाइतेको संख्या बढ्न थाल्यो । सडकभरि रगत भएपछि युवाले ‘संसद् भवन खाली गर्’ भन्दै नारा लगाउन थाले । युवामाथि ताकीताकी गोली प्रहार भएको भन्दै उनीहरूले आक्रोश व्यक्त गर्न थाले । गेटमै गएर ‘गोली हान्’ भन्दै युवाले छाती थाप्न थालेपछि प्रहरी केहीबेर हच्किए । तर केहीबेरपछि गोली चल्न सुरु भयो ।
युवाले ब्यारिकेड अगाडि राखेर पछाडि बस्दै गोलीबाट बच्ने प्रयाससमेत गरे । प्रहरीको गोली लागेर एक युवा ब्यारिकेडमै ढले । उनको शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाइयो । अर्का अन्दोलनकारीको गोजीमा गोली लाग्यो । उनको पाइन्ट जल्यो । उनले मोबाइल फाले । मोबाइलले गोली छेक्दा उनको शरीर छेडिएनछ ।
घाइतेको संख्या बढ्दै गयो । बानेश्वर चोक आसपास एसएलआर, इन्सासका गोलीका खोका यत्रतत्र थिए । घाइतेलाई नजिकै सिभिल अस्पतालको इमर्जेन्सीमा लगिँदै थियो । सिभिल इमर्जेन्सीमा ठाउँ नभएर कतिपयको बाहिरै ड्रेसिङ भइरहेका थियो । भित्र बेड खाली थिएनन् । अस्पतालले भीड थाम्न सकिरहेको थिएन । बिरामी भेट्न जानेलाई चिकित्सक र अरू स्वास्थ्यकर्मीले हात जोडेर, त कसैलाई चर्को बोलेर उपचारमा अवरोध नगर्न भनिरहेका थिए । चिकित्सकले घाउको प्रकृतिअनुसार अन्य अस्पतालमा रिफर गरिरहेका थिए ।
सेनाको गाडी प्रहरीलाई सहायता गर्न संसद् भवनतर्फ जाँदा एभरेस्ट होटल अघिल्तिर आन्दोलनकारीले जोडेर रोके ।
५ : ०० बजे, आन्दोलनकारी तितरबितर
प्रहरीले आन्दोलनकारीलाई अश्रुग्यास हानेर तितरबितर पार्दै तीनकुने र माइतीघरसम्म पुर्याए । प्रहरी बेलुकी ५ बजे माइतीघरसम्मै आयो । त्यसबेला गौशाला, नयाँ बानेश्वर, स्वयम्भूबाट समेत थप प्रहरी आइसकेका थिए ।
१५ चैतको प्रदर्शनमा झैं तोडफोड र हुलहुज्जत गरेको भन्दै प्रहरीले पक्राउ गर्ने गरी खोजी थाल्यो । त्यही क्रममा प्रहरी टोलीले सिभिल अस्पताल पुगेरसमेत खोजी गर्यो, जहाँ प्रहरीको गोली लागेर घाइते भएको युवाको उपचार भइरहेको थियो । जेन–जी अगुवा रक्षा बम भन्छिन्, ‘अस्पतालमा पुगेरसमेत अश्रुग्यास हानेपछि प्रहरी दमनले हद नाघ्यो ।’
आन्दोलनकारीले बेलुकीपख माइतीघरमा पानीका बोतल, फोहोर उठाइरहेका थिए । त्यही रातिसम्ममा कम्तीमा १९ जनाको मृत्यु भएको विवरण सार्वजनिक भयो, युवालाई ताकीताकी गोली हानिएका भिडियो भाइरल भए । आन्दोलनको दोस्रो दिन जेन–जीका बुबाआमासमेत सडकमा आए । परिस्थिति नियन्त्रणबाहिर पुग्दा थप ५३ जनाको मृत्यु भयो । कान्तिपुरबाट



प्रतिकृया दिनुहोस्