हिल्टनको आगो पर्यटन उद्योगमै फैलियो

काठमाडौं : निजी घराना शंकर ग्रुप खानी, सिमेन्ट, स्टिल, रियल स्टेट, हाइड्रो, सिन्थेटिक्स, वस्त्र, अटोलगायत विभिन्न ४० ब्रान्डको एक ठूलो व्यावसायिक समूह हाँकेर ४५ वर्षदेखि अघि बढिरहेको थियो ।
१५ हजार हाराहारीलाई रोजगारी दिइरहेको शंकर समूहले गत वर्ष साढे ८ अर्ब रुपैयाँ लगानीमा जब नक्सालमा प्रिमियम होटल हिल्टन सुरु गर्यो, यो व्यावसायिक घराना पर्यटन क्षेत्रमा चर्चाको शिखरमा पुग्यो । फाइभ स्टर होटल सोल्टीले थेग्दै आएको नेपालको आतिथ्य सत्कार उद्योगलाई हिल्टनको आगमनले ‘नेक्स्ट लेभल’ को उचाइमा पुर्यायो ।
जब हिल्टनमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरको पनि ‘लगानी’ रहेको हल्ला फैलियो, यसले शिखरमा पुगेको हिल्टनको सकारात्मक ब्रान्ड प्रतिष्ठालाई घृणातर्फ धकेलियो ।
अनलाइन हुँदै सामाजिक सञ्जाललगायतका सञ्चारमाध्यमार्फत फैलिएको यो ‘हल्ला’ले हिल्टनलाई मात्र होइन, नेपालकै पर्यटन उद्योगलाई ७२ घण्टामा तहसनहस बनाइदियो । अर्थात् जेन–जी आन्दोलनको भोलिपल्ट भदौ २४ मा प्रदर्शनकारीले हिल्टन होटलमा झोसेको आगोको लप्का भुइँ तलाबाट १७औं तलासम्म यसरी फैलियो, पूर्ण नियन्त्रणमा ल्याउन झन्डै तीन दिन लाग्यो ।
जे–जीको आन्दोलनपछि भड्किएको प्रदर्शन र लुटपाटले शंकर ग्रुपको व्यावसायिक सपना मात्रै खरानीमा परिणत भएन, नेपालकै पर्यटन उद्योग र पर्यटन बजारको उज्यालो भविष्यलाई कालो धूवाँले ढाकिदियो । ह्यात होटलमा पशुपति दर्शनमा आएकी एक भारतीय तीर्थयात्रीको निधन हुनु, हतियारधारी लुटेराले त्यसै होटलको कोठामा पाहुना बसेका हङकङको क्याथे एयरलाइन्सका चालकदललाई आक्रमण प्रयास गर्नुलगायत घटनापछि नेपालको पर्यटन बजारमा भूकम्प पैदा भएको छ ।
केपी शर्मा ओली सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि भ्रष्टाचारविरुद्ध उत्रिएका जे–जीको आन्दोलनपछि नेपालमा उत्पन दुःखद परिस्थितिबाट हिल्टनको सपनालाई यथार्थमा उतार्ने शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल स्तब्ध बनेका छन् ।
नेपालको पर्यटन उद्योगमा ‘धेरैभन्दा धेरै लाख पर्यटक ल्याउन’ देखेको सपना उतार्न स्थापना गरिएको होटलमा अतिथिहरू भएकै अवस्थामा गरिएको आगजनीको घटनाले मर्माहत एवं नेपालबाहिर उपचारार्थ रहेका अध्यक्ष अग्रवाल यस घटनाले विचलित भने छैनन् ।
‘माहोल केही शान्त होस् । हामी विदेशी विज्ञ ल्याएर होटलको विस्तृत प्राविधिक अध्ययन गराउँछौं,’ अपरेसनका लागि अस्पतालमा रहेको बताउने अध्यक्ष अग्रवालले शुक्रबार दिउँसो कान्तिपुरसँगको कुराकानीमा भने, ‘प्राविधिकले मर्मत गरे चलाउन सकिने रिपोर्ट दिए ठीकै छ । भत्काउनुपर्ने भए, केही वर्षभित्रै अर्को हिल्टन नक्सालमै स्थापना गर्नेछौं ।’
धेरै वर्षअघि सिंगापुरमा मन पराएको एउटा डिजाइन नै हिल्टनमा उतार्न लगाएर बनाएको उनले बताए । ‘त्यो कुन ब्रान्ड थियो, अहिले ठ्याक्कै सम्झिन सकिनँ, तर फोटो खिचेर ल्याएको थिएँ । त्यसैलाई नक्सामा राखेर ११ वर्षअघि थाइल्यान्डको आर्किटेक्ट कम्पनीले डिजाइन बनाएको थियो,’ उनले भने ।
अनलाइनहरूका अनुसार, हिल्टन विश्वको छैटौं ठूलो चेन होटल हो । १९१९ मा अमेरिकी नागरिक कोनराड हिल्टनले अमेरिकामा पहिलो हिल्टन होटल सुरु गरेका थिए । अहिले विश्वका सयभन्दा बढी देशमा हिल्टनले लक्जरीदेखि बजेटसम्मका ७ हजारभन्दा बढी होटल–रिसोर्टको व्यवस्थापन सञ्चालन गर्दै आएको छ ।
नेपालमा शंकर ग्रुपले निर्माण गरेको होटलमा हिल्टनका डिजाइनले पुरस्कार पनि पाइसकेको अध्यक्ष अग्रवालले बताए । ‘हामीले निर्माण गरेको डिजाइनलाई हिल्टनले आफ्नो नेटवर्कभित्रका होटलमध्ये उत्कृष्ट मानेर पुरस्कृत पनि गरेको थियो,’ उनले भने ।
हिल्टन निर्माण गर्दा यो परियोजना लन्डन, दिल्ली र मुम्बईमा चर्चित स्टुडियो सिम्बायोसिसले डिजाइन गरेको यस परियोजनामा जोडिएका नेपाली आर्किटेक्ट दिवेश भट्टराईले कान्तिपुरलाई जनाए ।
भूकम्पपछिको सिंहदरबार पुनर्निर्माणमा पनि आबद्ध आर्किटेक्ट भट्टराईका अनुसार स्टुडियो सिम्बायोसिस भारतीय चर्चित डिजाइनर अमित गुप्ताको कम्पनी हो । यी तिनै अमित हुन, जो प्रसिद्ध ब्रिटिस वास्तुविद् जाहा हदिदका थुप्रै परियोजनासँग जोडिएका आर्किटेक्ट हुन ्।
सन् २००४ मा वास्तुकलातर्फको नोबेल पुरस्कार मानिने प्रिजकर आर्किटेक्चर पुरस्कार विजेता पहिलो महिला जाहाको काम लन्डन ओलम्पिकदेखि बेइजिङ विमानस्थलसम्म फैलिएका छन् । वास्तुविद् जाहासँग जोडिएका अमितले हिल्टनमा नेपालका हिमालको दृश्य उतारेका थिए । नेपालीपनको अतिथि सत्कारलाई विश्वस्तरीय आतिथ्य सेवामा जोडिएको थियो ।
सन् २०१६ देखि निर्माण सुरु भएको यो परियोजना जुलाई २०२४ मा सकिएको थियो । विदेशी वास्तुविद्ले नेपाली संस्कृतिबाट प्रेरित डिजाइन यस परियोजनामा उतारेका थिए । ‘होटलको डिजाइन काठमाडौंका बौद्ध, स्वयम्भूलगायत स्थानमा प्रचलित प्रार्थना झन्डा (प्रेयर फ्ल्याग) बाट प्रेरित थियो,’ आर्किटेक्ट भट्टराईले भने, ‘ती झन्डाले शुभकामना र पवित्रताको प्रतीक जनाउँछन् । झन्डाको रूप देखिने लेमिनेटेड डाइक्रोइक ग्लासबाट ‘भर्टिकल फिन्स’ उतारिएको थियो, जहाँ दिनको समयमा सूर्यको किरण कुन कोणमा पर्थ्यो, ती फिन्सले वरिपरिको वातावरणमा रंगीन आभा फैलाउँथे । राति मुनिबाट बत्ती बाल्दा उज्यालो माथितिर फैलिएर काठमाडौंको आकाशरेखामा नेपालको सांस्कृतिक सौन्दर्य झल्किन्थ्यो ।’
हिल्टनका बार तथा कोठाबाट अतिथिले उत्तरी हिमशृखंला लाङटाङ, लाक्पादोर्जी हिमाललगायतको मनोरम दृश्य बेडरुमबाटै अवलोकन गर्न पाउँथे । भवनको सुरुवाती अवधारणादेखि नक्सा पास गराएर भवन अपरेसनमा ल्याउँदासम्म पुरुषोत्तम डंगोललगायत अन्य नेपाली इन्जिनियर पनि अमितसँगै जोडिएका थिए ।
हिल्टन होटलको डिजाइनमा प्रत्यक्ष रूपमा आबद्ध भएको इन्जिनियर डंगोलले बताए । ‘हिल्टनको कन्सेप्च्युअल डिजाइनदेखिे नै शंकर ग्रुपसँग आबद्ध भएँ,’ भूकम्पविद तथा ईआर टेक कम्पनीका प्रबन्ध निर्देशक डंगोलले भने, ‘हिल्टनको डिजाइन र निर्माण नेपालकै लागि एउटा ल्यान्डमार्क थियो ।’
हिल्टनको सबैभन्दा पृथक् विशेषता यहाँको निर्माण र सिसा रहेको डंगोलको दाबी छ । ‘हिल्टन भूकम्पपछि निर्माण थालिएको थियो । प्राविधिकले यो निर्माण गर्दा भूकम्प–प्रवण क्षेत्र ध्यानमा राखेर आधुनिक सेस्मिक कन्ट्रोल उपकरण प्रयोग गरी निर्माण गरेका थिए । होटल भएको क्षेत्रसहित काठमाडौं अत्यन्तै जोखिमपूर्ण भूकम्प क्षेत्र भएको भूभागमा छ । यी सबै विषयलाई गम्भीर ढंगले अध्ययन गरेर यहाँ आधुनिक प्रविधि प्रयोग गरेर भवनलाई भूकम्पको क्षतिबाट सुरक्षित बनाइएको थियो ।’
हिल्टन होटल नेपालमा ड्याम्पर प्रयोग गरेर बनाइएको पहिलो व्यावसायिक भवन रहेको डंगोलले जनाए । ‘हिल्टनमा अमेरिकी कम्पनीको ड्याम्पर र सेरवाल टुप्पोसम्म राखिएको थियो । यिनलाई आधुनिक भूकम्प–प्रतिरोधी प्रविधि मानिन्छ । यी प्रविधिको प्रयोगले भवनलाई भूकम्पमा सुरक्षित बनाउँछन् । सेरवाल भवनभित्र बनाइएका बलियो ठाडा पर्खाल हुन् । ‘सेरवाल राखेकाले यो भवनभित्र धेरै स्पेस आयो । अन्यथा ठुल्ठूला पिलर राख्नुपर्थ्यो । जसले फ्लोरको स्पेस धेरै ओगटिदिन्छ ।’
हिल्टनको भवनमा विदेशी इन्जिनियर र प्राविधिक पनि आबद्ध छन् । नेपाली र विदेशी दुवैको ज्ञानका आधारमा हिल्टनमा सेरवाल र ड्याम्पर प्रयोग गरिएको डंगोलले जनाए । ‘यी प्रविधिले नेपालमा सुरक्षित र टिकाउ भवन पनि बन्दै छन् भन्ने सन्देश नेपाल बाहिरको इन्जिनियरिङ दुनियाँलाई दिएको थियो,’ डंगोलले भने ।
१९ हजार ३ सय ५१ वर्गमिटर जग्गाको क्षेत्रफलमा ३१ सय ५७ वर्गामिटरमा होटल निर्माण भएको थियो । जमिनमुनिका दुई तलालाई समेत जोड्दा यो १९ तलाको थियो । यहाँ १ सय ८० भन्दा बढी कोठा थिए । साथै ५ वटा विशेष बार र रेस्टुराँ थिए ।
होटलको भित्री सजावट भने थाइल्यान्डको पीआईएले नेपाली ढाकाको झल्को दिने शैलीमा डिजाइन गरेको थियो । होटलमा भएको कुल लगानीमध्ये ८० प्रतिशत निर्माणमै भएको भट्टराई बताउँछन् । होटलको बाहिरी भागमा देखिने सिसा मात्रै ४० देखि ५० करोड रुपैयाँका रहेको अध्यक्ष अग्रवालको दाबी छ ।
हिल्टन सञ्चालनमा आएको एक वर्षमा यसले ७० करोड हाराहारी कारोबार गरेको अग्रवालको भनाइ छ । ‘यहाँ दुई सयभन्दा बढीले रोजगारी पाएका थिए । कुल लागतमध्ये ५ अर्ब २५ करोड बैंकको लगानी थियो । गत वर्ष १५–२० करोड कर नै बुझाएका थियौं,’ अध्यक्ष अग्रवालले भने ।
हिल्टन नेपालको पर्यटनमा नयाँ आयाम रहेको पर्यटन विभागका महानिर्देशक नारायण रेग्मीले बताए । ‘यो होटल मात्रै नभई आधुनिक विलासिताको नमुना थियो । त्यहाँ वातावरणमैत्री अभ्यास अपनाइएका थिए । हिल्टनको सञ्चालनले नेपालको पर्यटनमा नयाँ अध्याय सुरु भएको थियो ।’
लगानीबारे फैलाइएको अफवाह नै होटलमा आक्रमण गराउने मूल कारण भएको अध्यक्ष अग्रवालले जनाए । ‘अलिक शान्ति होस् । हामी बोल्छौं । शेरबहादुर देउवाका छोराको नाम जोडेर फैलिएको अफवाहले हाम्रो होटल टार्गेट भयो । म चुनौती दिन्छु, हिल्टनमा कसैको सेयर भएको प्रमाणित गरे म सबै सेयर सरकारलाई दिन्छु ।’
हिल्टनका प्रबन्ध निर्देशक साहिल अग्रवालले आगजनीबाट होटलमा कति क्षति भएको छ भन्नेबारे अध्ययन भइरहेकाले प्रतिवेदन आउन केही साता लाग्ने बताएका छन् । नेपाली आर्किटेक्ट तथा इन्जिनियरले हिल्टनमा भएको क्षतिलाई नेपालको आर्किटेक्चर क्षेत्रको ठूलो क्षति भनेका छन् ।
‘हिल्टन नेपालको आर्किटेक्टमा नेक्स्ट जम्प थियो,’ सिंहदरबारको पुनर्निर्माणमा आबद्ध वरिष्ठ आर्किटेक्ट भट्टराईले भने, ‘नेपालमै बसिरहेका इन्जिनियर, आर्किटेक्टले राम्रो काम गर्न सक्छन् भनेर देखाउने उदाहरण हिल्टन थियो ।’ कान्तिपुरबाट





प्रतिकृया दिनुहोस्