September 18, 2025, Thursday
२०८२ आश्विन २

शफत लगत्तै तिनै मन्त्रीले गरे पदभार ग्रहण, कुन मन्त्रीले के निर्णय गरे ?

काठमाडौं : नवनियुक्त तिनै जना मन्त्रीले पदभार ग्रहण गरेका छन् । शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले तीन जनालाई आज मन्त्री नियुक्त गरेकी थिइन् । आजै राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले शपथ लिएका थिए ।

कुन मन्त्रीले के निर्णय गरे ?

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन् । उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । नवनियुक्त गृहमन्त्री अर्यालले पदबहाली लगत्तै सो निर्णय गरेका हुन् । शोक दिवस कुन दिन मनाउने भन्ने मन्त्रीपरिषदले निर्णय लिने उनले बताए ।

यसैगरी, आन्दोलनमा मृतक परिवारलाई एक लाख(एक लाख रूपैयाँका दरले किरिया खर्च दिने निर्णय पनि गृहमन्त्रीको छ । शवहरू व्यवस्थापनका लागि सरकारले निस्शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्‍याउने निर्णय पनि गरिएको छ ।

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई माननीय नभन्न आग्रह गरे । मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् ।

पदभार ग्रहण गर्दै उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’

अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल उकास्न प्रयास गरिने बताए ।

निजी क्षेत्रसँग अन्तर्किया गरेर अघि बढ्ने भन्दै उनले हिजोको तुलनमा परिवर्तनको महसुस हुने गरे अर्थमन्त्रालयले प्रयास गर्ने उनले बताए । राजस्वमा पनि कमी आउन दिन नहुने उनले बताए ।

सरकारमा ऊर्जा व्यवस्थापनका कारण नागरिकहरूबीच कुशल छवि बनाएका कुलमान घिसिङले तीनवटा मन्त्रालयको जिम्मेवारी पाएका छन् । घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

नवनियुक्त उर्जामन्त्री घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन् । आज पद बहाली लगत्तै उनले यो निर्णय लिएका हुन् ।

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए । तर, तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो ।

मन्त्री घिसिङले शपथ ग्रहण गरेपछि पदभार ग्रहण नगरी सीधै शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए। उनी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको परिवारलाई भेट्न त्यहाँ गएका हुन्। यस भेटघाटका क्रममा उनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका थिए।