April 17, 2026, Friday
२०८३ बैशाख ४

नागरिक उन्मुक्ति पार्टी छोडे रेशम चौधरीले, नयाँ पार्टीको गरे घोषणा

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् ।

उनले नयाँ पार्टी घोषणाको नाम नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका छन् । टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए ।

  चौधरीले आफैंले स्थापना गरेको पार्टीमा अटाउन नसकेपछि छोडेको बताएका छन् ।  आइतबार फेसबुक लाइभमार्फत भावुक हुँदै उनले अब नयाँ राजनीतिक यात्रा सुरु गर्ने बताएका छन्। 

पार्टीभित्र आफूलाई बारम्बार ‘साधारण सदस्य पनि नरहेको’ र ’कानुनी हैसियत नभएको’ भन्दै अपमानित गरिएको गुनासो पोख्दै उनले यो कठोर निर्णय लिएको बताए।

फेसबुक लाइभमा चौधरीले पार्टी स्थापनादेखि अहिलेसम्म आफूले गरेका त्याग र योगदानको एकएक हिसाब प्रस्तुत गरे। ‘मैले दिल्लीबजारको जेलबाटै पार्टीका साथीहरूलाई तातो कफीसँगै स्वागत गर्थेँ, मेरा निर्देशनहरू पालना हुन्थे, मैले खुवाएका भातहरू, केही नेताहरूलाई साढे तीन वर्षसम्म घरभाडा दिएर पालेको कुरा सायद उहाँहरूले बिर्सनुभयो,’उनले भने।

उनले पार्टी खोल्नका लागि किताब बेचेर आएको पैसा, आफ्नो क्षतिपूर्तिबाट पाएको रकम र निजी सम्पत्तिसमेत बेचेर लगानी गरेको खुलासा गरे। तर, यति गर्दागर्दै पनि आफूले जस नपाएको र उल्टै अपमानित हुनुपरेकोमा उनले गहिरो दुःख व्यक्त गरे।

पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरुमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो । श्रेष्ठ र चौधरीको पार्टीमा फरक-फरक समूह थियो ।

छोटो अवधिमै एक्लै चुनावी मैदानमा उत्रेको पार्टी कैलालीमा ठूलो शक्ति बनेर उदाएको थियो। सङ्घतर्फ तीन र प्रदेशतर्फ पाँच निर्वाचन क्षेत्रमा जित हासिल गरेर यो पार्टी कैलालीमा पहिलो बनेको थियो तर, पछिल्लो समय पार्टीभित्र व्यापक विवादका कारण रेशमले पार्टी खुलेको ४ वर्षमै छोडेका छन्।