महाकाली नदीको जलस्तर बढ्यो : कञ्चनपुरमा ४५ घर डुबानमा, सशस्त्रका दुई बीओपी पनि विस्थापित

कञ्चनपुर : आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन् । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेको बताए।
त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ स्थित पटराखल्लाका १५ घर डुबावनमा परेका छन् । उनका अनुसार भीमदत्त नगरपालिका–११ स्थित भुजेलामा पनि पाँच घर डुबानमा परेका छन् ।
‘दोधारा चाँदनीमा जोडबुढा नदी बस्तीमा पस्दा २५ घर डुबानमा पर्दा ७० जना विस्थापित भएका छन्, उहाँहरूलाई नजिककैको विद्यालयमा राखिएको छ ।’ उनले भने, ‘डुबानमा परेका परिवार र चौपायालाई सुरक्षित स्थानमा सारिएको छ ।’
दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका घरपरिवारका ५५ जना, उनका सरसामान र चौपायासमेत नजिककैको जमुना आधारभूत विद्यालयमा राखिएको उनले बताए।
अविरल वर्षापछि दोधराा चाँदनी नगरपालिकामा रहेका सशस्त्र प्रहरीका दुई वटा बोर्डर आउट पोस्ट(बीओपी)समेत सारिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वडा नं. १० मा रहेका सुन्दरनगर र वडा नं. ७ मा रहेका कञ्चनभोजस्थित बीओपीका सुरक्षाकर्मी डुबानका कारण विस्थापित भएपछि सुन्दरनगर बीओपीका सुरक्षाकर्मी नजिकैको ओमकार आधारभूत विद्यालयमा र कञ्चनभोजका सुरक्षाकर्मीलाई नजिकैको सशरी खोप केन्द्रमा सारिएको छ ।
अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ । जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारिसाधन आवागमन रोक लगाएको छ । नदीमा पानीको बहाव एक लाख क्युसेकपुेपछि भारतीय पक्षले आवागमनमा रोक लगाउँदै आएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले नदीमा पानीको सतह बढेर एक लाख ४० हजार २५० क्युसेक पुगेको बताए।





प्रतिकृया दिनुहोस्