April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान आउँदै

काठमाडौँ : नेपाली सेनाले सञ्चालन गर्न लागेको पहिलो अत्याधुनिक एयर एम्बुलेन्स विमान शनिबार काठमाडौंमा अवतरण हुँदैछ ।

जंगी अड्डा स्रोतका अनुसार, अमेरिकी सहयोगअन्तर्गत सेनालाई उपलब्ध हुन लागेका एउटा एयर एम्बुलेन्सहित दुईवटा विमान भोलि भारतको जयपुर हुँदै काठमाडौंमा अवतरण हुँदैछन् । यी विमानलाई आउँदो साता अमेरिकी दूतावासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको सेनाको मिड एयर बेसमा हस्तान्तरण गर्ने भनिएको छ ।

गएको सोमबार पोल्यान्डबाट नेपालका लागि यी विमान पोल्यान्डका पाइलटहरूले ‘स्पेसल फेरी फ्लाइट’ गरेर उडाएका थिए । यिनलाई त्यहाँबाट ग्रिस, इजिप्ट, साउदी अरब, बहराइन, मस्कट हुँदै पाँचौँ दिन शुक्रबार पाकिस्तानको कराची ल्याइपुर्‍याएको हो ।

यीमध्ये एउटा एयर एम्बुलेन्स र अर्को बहुउपयोगी युटिलिटी एयरक्राफ्ट स्काई ट्रक रहेको छ । अमेरिकी सहयोग अन्तर्गत ‘ल्यान्ड फोर्सेस टक (एलएएफटी) कार्यक्रममार्फत प्राप्त हुन लागेका यी विमान भोलि (शनिबार) काठमाडौंमा अवतरण हुन लागेको सैनिक प्रवक्ता सहायक रथि राजाराम बस्नेतले पुष्टि गरे । ‘विभिन्न विपद्, सुत्केरीलगायत घाइते बिरामी उद्धारका लागि एउटा एयर एम्बुलेन्स आइपुग्दै छ’, सैनिक प्रवक्ता बस्नेतले भने, ‘अर्को स्काई ट्रक हो । यी दुवै विमानले सैनिक उडानको क्षमता अभिवृद्धि गर्ने छ ।’

रक्षा मन्त्रालय स्रोतका अनुसार, यी विमान करिब झन्डै ३ अर्ब रुपैयाँ बराबरको सहयोगमा उपलब्ध हुँदैछन् । अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय स्रोतका अनुसार एयर एम्बुलेन्सको लागत १ अर्ब ५७ करोड हाराहारी रहेको छ । त्यस्तै, बहुउपयोगी कामका लागि प्रयोग हुने स्काई ट्रककोलागत १ अर्ब ३८ करोड रुपैयाँ हाराहारी रहेको छ । एयर एम्बुलेन्समा ४ करोड ६६ लाख रुपैयाँ बराबरको मेडिकल उपकरणहरु रहेका छन् ।

सैनिक स्रोतका अनुसार, नयाँ एयर एम्बुलेन्स अत्याधुनिक उपकरणसहित रहेको छ । यसमा अनबोर्ड मेडिकल इक्युपमेन्ट जडान गरिएका छन् । जसमा स्ट्रेचर, भेन्टिलेटर, अक्सिजन सपोर्ट प्रणाली, डिफिब्रिलेटर र आधारभूत शल्यक्रिया सामग्रीसमेत रहने छन् । यसले आकस्मिक अवस्थामा बिरामीलाई अस्पतालसम्म पुर्‍याउने क्रममा हवाईमै उपचार गर्न सकिने सुविधा उपलब्ध गराउनेछ ।

नेपालमा यस किसिमको सुविधा पहिलोपटक उपलब्ध हुन लागेको हो । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, नेपालमा अहिलेसम्म ‘डेडिकेटेड’ एयर एम्बुलसेन्स थिएन । ‘कोभिडको समयमा बुद्ध एयरको बिचक्राफ्ट विमानलाई एयर एम्बुलेन्स बनाउन छलफल भएको थियो’, प्रवक्ता भुलले भने, ‘हरेक महिना नेपालमा एउटा–दुईवटा विदेशी चार्टर एयर एम्बुलेन्स आउँछन् । तीनले कम्तीमा २० लाख रुपैयाँ नेपाली पैसा लैजान्थे । अब नेपालकै दर्ता नम्बर भएको सैनिक एयर एम्बुलेन्स हुने भयो । सैनिक उडान परिचालनमा यो ‘गेम चेन्जर’ का रूपमा आएको छ । सेनाको उड्डयन क्षमतामा पनि यो नयाँ अध्याय हुने छ ।’

नेपालले सिभिल एयर एम्बुलेन्सको धेरै पहिलेदेखि आवश्यकता महसुस गर्दै आइरहेको थियो । नेपालमा रजिर्ष्टड भएको जहाजबाट स्वदेश र विदेशमा बिरामी ल्याउन/लैजान अब सहज हुनेछ । सैनिक एयर एम्बुलेन्स सेवा नेपाली नागरिकले प्राप्त गर्दा सस्तो पनि पर्नेछ । नेपाली अर्थतन्त्रमा पनि योगदान हुने छ । ‘अब पैसा बाहिर पनि जाँदैन । विदेशीले लैजाने रकम नेपालमै रोकिने छ । सेनाले ल्याउने दुवै विमान उद्धार र दुर्गम यातायातका लागि ज्यादै उपयोगी हुने छन्,’ भुलले भने ।

चार वर्षअघि अमेरिकी सहयोगमै सेनाले ३ वटा स्काई ट्रक ल्याइसकेको छ । अमेरिकी सहयोगमार्फत थप दुइटा आएसँगै यो संख्या ५ पुग्नेछ । नयाँ एयर एम्बुलेन्स विमानलाई सेनाले विपद् उद्धार, स्वास्थ्य आपत्कालीन अवस्था, दुर्गम क्षेत्रका बिरामी उद्धार उपचार र सैनिक परिचालनमा प्रयोग गर्ने छ । स्काई ट्रक छोटा धावनमार्गमा अवतरण गर्न सक्ने क्षमताका कारण हिमालपारिका दुर्गम विमानस्थल र असजिलो भूबनोटका लागि उपयुक्त मानिन्छन् ।

गौचरस्थित मिड एयरबेसमा कार्यरत एक सैनिक पाइलटका अनुसार, हाल सेनासँग १९ वटा वायुयान छन् । जस्मा रसियन एमआई हेलिकोप्टर ४, टर्बोप्रप स्काई ट्रक ३, अमेरिकन पाइपर २, इटालियन अगसता हेलिकोप्टर २, भारतीय धुव्र हेलिकोप्टर २, बेल हेलिकोप्टर ३, युरोकोप्टर २ र स्पेनिस ट्रान्सपोर्ट कासा विमान १ गरी १९ वटा जहाज तथा हेलिकोप्टर उडानमा छन् । यी विमानका लागि सेनासँग ४० हाराहारी पाइलट छन् ।

कान्तिपुरबाट