दुईवटा एनसेल टावरमा आगजनी

डोटी साउन १६(ई–रैवार)
बुधबार राती डोटी र डडेल्धुराका दुईवटा एनसेल टावरमा आगजनी भएको छ । आगजनीको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार राति जोरायल गाउँपालिका–१ घण्टेश्वरको कटौंजथला भन्ने ठाउँमा रहेको एनसेल टावर जलाइएको छ । आगजनीबाट सिस्टम सञ्चालन गर्ने विभिन्न केवलहरु, बिटिएस ¥याक, ब्याट्री ¥याक, एसइडिपी च्यानललगायतका सामानहरु जलेका छन् ।
घटना राती १० बजेपछिको हुनसक्ने प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए । ‘त्यतिञ्जेल हाम्रो प्रहरी त्यहीँ सुरक्षामा थियो,’ उनले भने,‘पछि सुरक्षार्थ अर्को टावरमा गएपछि आगजनी भएको हुनसक्छ ।’ घटनामा विप्लप समुहको नेकपाको संलग्नता रहेको उनको अनुमान छ । ‘अन्य ठाउँमा यस्तो कार्यमा विप्लप समुहकै संलग्नता देखिन्छ । यहाँपनि त्यही हुनसक्छ,’ उनले भने । प्रहरी घटनास्थलमा बिहानै पुगेर अनुसन्धानमा जुटेको उनले बताए ।
यसैगरी बुधबार राती नै डडेल्धुराको आलिताल गाउँपालिका–२ काफलीडाँडामा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराकले जनाएअनुसार राती करिब ११ बजेतिर घटना भएको हो । घटनाको संलग्नता भने अझै खुलेको छैन् । ‘घटनास्थल टोली(प्रहरी) पुगेको छ,’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काकाले भने, ‘त्यहाँ पर्चा पम्लेट केही भेटिएको छैन् । बाँकी अनुसन्धानबाट खुल्नेछ ।’
जिल्ला सदरमूकामबाट टाढा रहेको टावरमा चौकीदारको मात्रै सुरक्षा थियो । चौकीदार समेत नरहेको अवस्थामा नजिकै रहेको नेपाल टेलिकमको टावरका चौकिदारले खबर गरेपछि घटनाबारे थाहा भएको प्रहरी निरीक्षक खड्काले बताए ।
प्रतिकृया दिनुहोस्