डोटीको बडीकेदारमा करेन्ट लागेर सात बाख्रा मरे

डोटी । डोटीको बडीकेदारमा करेन्ट लागेर सात बाख्रा मरेका छन् । बडीकेदार गाउँपालिका वडा नम्बर ३ जैसीबाजमा बिजुलीको पोल नजिक ग्राउन्डमा चरिरहेको अवस्थामा एक्कासी करेन्ट प्रवाह हुँदा सातवटा बाख्रा मरेका हुन्।
गाउँ नजिकैको जङ्गलमा बाख्रा चरिरहेको अवस्थामा एक्कासी जमिनमा करेन्ट प्रवाह भई स्थानीय भीमबहादुर साउद र भगिराम साउँदका सातवटा बाख्रा मरेको स्थानीयले बताएका छन् ।

घटनाबारे विस्तृत जानकारी भने प्रहरीको अनुसन्धानपछि मात्र थाह हुने प्रहरीले जनाएको छ । तार लत्रने, रूखका पातहरूमा झांगिने तथा पोलहरू ढलेका कारण वर्षाको समयमा विद्युत् प्रवाह भइरहेकाले त्यसबारे सरोकारवालाले विस्तृत रुपमा जाँच गर्न आवश्यक रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए ।
‘केही समयमा अगाडि वडा नम्बर ४ मान्नाकापडीमा गोरु मरेको थियो । आज बाख्रा मरेका छन् भोलिका दिनमा मानवीय क्षति हुन नदिनका लागि करेन्ट प्रवाह र चुहावटको अवस्थाको परीक्षण गर्न आवश्यक छ ।’ उनले भने- लापरबाही भए मानवीय क्षतिसमेत हुनसक्ने भएकाले सरोकारवालाले गम्भीरतापूर्वक परीक्षण गर्न आवश्यक रहेको समेत बताए ।
स्रोतका अनुसार भने कमसल सामग्रीको प्रयोग एवं निर्माण व्यवसायीको गुणस्तरहीन कामका कारण अनावश्यक विद्युत प्रवाह भई निर्दोष पशुपंक्षी एवं मानिसलाई करेन्ट लाग्ने गरेको छ । स्थानीय बासिन्दाले घटनाको सत्यतथ्य छानबिन भई दोषीलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।





प्रतिकृया दिनुहोस्