April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटीको शिखरमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुका लागि स्थानीय पाठ्यसामाग्री निर्माण

डोटी । डोटीको शिखर नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयारी थालेको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुका लागि स्थानीय पाठ्यपुस्तक तयारी थालेको हो ।

कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यपुस्तक अध्यापन सुरु गरिसकेको शिखर नगरपालिकाले अब भने कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुका लागि नयाँ पाठ्यपुस्तक तयारी थालेको नगर प्रमुख दीर्घबहादुर बलायरले बताएका हुन ।

पाँच दिनदेखि विषयविज्ञ शिक्षकहरुले विभिन्न चरणमा छलफल गरी नयाँ विषयगत पाठ्यक्रमको सूची तयारी गरिरहेका हुन् । पाठ्यक्रमको सूची तयारी गरिए पनि फिल्ड अध्ययन गरेर मूर्तरुप दिन भने समय लाग्ने बताउँदै नगरपालिकाका शिक्षा शाखा प्रमुख शेरबहादुर कार्कीले भने,‘अहिले हामीले पाठ्यक्रम तयारी गरेका छौँ, त्यसलाई मूर्तरुप दिन भने बाँकी नै छ ।’ कक्षा १ देखि ५ सम्मको स्थानीय पाठ्यपुस्तकलाई पनि परिमार्जन गर्न काम पनि भइरहेको उनले बताए ।

विज्ञ शिक्षकहरुको विज्ञताले नै शिखरले आफ्नो छुट्टै पाठ्यपुस्तक तयारी थालेको नगर प्रमुख बलायरले बताए । उनले भने,‘नयाँ सुरु हुने पाठ्यपुस्तकले शिखरलाई छर्लङ्ग देखाउने छ, पुस्तकमा हामी यहाँका धार्मिक, शैक्षिक, राजनीतिक, सामाजिक व्यक्तित्वका साथै पुरातत्विक विषयवस्तुलाई समेट्नेछौँ ।’ स्थानीय पाठ्यपुस्तकले यहाँका विद्यार्थीलाई शिखरका बारेमा धेरै कुरा जानकारी हुने उनले बताए ।

विषयविज्ञ शिक्षकलाई धन्यवाद दिँदै नगर उपप्रमुख सुनिता रावलले पाँच दिनको थोरै समयमा पनि विषयविज्ञ शिक्षकहरुको मिहिनेतले पाठ्यसामग्री तयार गरेको बताइन् । उनले भनिन्,‘अनुभवी शिक्षकहरुको अनुभवले नै उत्कृष्ठ पाठ्यपुस्तक निर्माण हुनेछ ।’ पाँच दिन लगाएर शिखर नगरपालिकाका २० जना विज्ञ शिक्षकहरुले पाठ्यपुस्तकको प्रारम्भीक मस्यौदा तयार गरेका हुन् ।