दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बिभिन्न माग राख्दै प्रधानमन्त्रीलाई बुझाइयो ज्ञापन

धनगढी । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बिभिन्न माग गर्दै संघर्ष समितिले प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालमार्फत विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेयको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।
पत्रमा विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडि बढेसँगै आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा उक्त विश्वविद्यालयका लागि आवश्यक बजेट विनियोजन, पदाधिकारी नियुक्ति, तथा एमबिबिएस शिक्षाको सुरुआत सुनिश्चित गर्न जोड दिइएको छ।
हालै संघीय संसदले पारित गरेको विश्वविद्यालय सम्बन्धी विधेयक र सरकारको सक्रियतालाई स्वागत गर्दै समितिले स्थायी संरचना निर्माण र चिकित्साशिक्षा संचालन प्रक्रियालाई तीव्रता दिन आग्रह गरेको छ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहलाई समेत धन्यवादसहित ज्ञापनपत्र बुझाएको छ। मुख्यमन्त्री शाहले विश्वविद्यालय स्थापनाका लागि आगामी बजेटमा आवश्यक व्यवस्था गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । उनले यस विषयमा संघीय सरकारसँग समन्वय भइरहेको जानकारी गराएका छन्।
विश्वविद्यालय स्थापनालाई सुदूरपश्चिमको शैक्षिक, स्वास्थ्य तथा समग्र विकासको मेरुदण्डका रूपमा लिँदै आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता मुख्यमन्त्रीले जनाएका छन्।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले अब छिट्टै विश्वविद्यालयको शैक्षिक सत्र सुरु हुने विश्वास गर्दै संघीय र प्रदेश दुवै सरकारसँग सहकार्यका अपेक्षा राखेको जनाएको छ।





प्रतिकृया दिनुहोस्