पत्रकार भण्डारीलाई तोकिएको कैद सजायविरुद्ध महासंघले कानुनी सहायता गर्ने

धनगढी । कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा लगातार समाचार पैरवी गरिरहेका पत्रकार खेम भण्डारीविरुद्ध जिल्ला अदालतले सुनाएको फैसलाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।
पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको बैठकले पत्रकार भण्डारीलाई एक महिना कैद हुनेगरी सुनाएको फैसलाप्रति ध्यानाकर्षण भएको जनाएको हो।
‘साधारण सदस्य खेम भण्डारीविरुद्ध कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनासँग सम्बन्धित रहेर समाचार प्रकाशनका क्रममा समाचारमार्फत गालीबेइज्जती गरेको भनी जिल्ला अदालत कञ्चनपुरमा दायर गरिएको मुद्दामा मिति २०८२ साल जेठ १ गते जिल्ला अदालत कञ्चनपुरबाट भएको फैसला वारे ध्यानाकर्षण भएको जनाएको,’ बैठकपछि जारी जिल्ला शाखाको विज्ञप्तिमा भनिएको छ।
कुनै पनि समाचारका विषयमा कुनै पनि व्यक्तिलाई समस्या पर्न गएमा, चित्त नबुझेमा वा आपत्ति भएमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने कानुनी व्यवस्था रहेकोतर्फ इंगित गर्दै विज्ञप्तिमा यस प्रकारका प्रेस सम्बन्धि मुद्दाहरूको विषयमा प्रेस काउन्सिलबाट नियमन र दण्ड सजाय हुदै आएको पनि उल्लेख छ।
जिल्ला अदालत कञ्चनपुरको आदेशको सम्मान गर्दै पत्रकार भण्डारीले सो फैसलाविरुद्ध माथिल्ला अदालतमा लड्ने बताएको विषय पनि विज्ञप्तिमा उल्लेख छ।
यस्तै भण्डारीको आगामी कानुनी लडाइँमा सहयोग गर्ने भनेको छ। ‘आगामी कानुनी प्रक्रियामा नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको ऐक्यवद्धता रहेको र आवश्यक कानुनी सहयोग तथा प्रवन्ध गर्ने व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै महासंघको जिल्ला शाखाले पन्तको बलात्कार र हत्या घटनालाई गम्भीर रुपमा लिई तदारुकताका साथ अनुसन्धान, छानविन तथा दोषीलाई कारवाही गर्न समेत सरकारसँग आग्रह गरेको छ।
तत्कालीन नेपाल प्रहरीका एसपी दिल्लीराज विष्टका छोरा किरणराज विष्टले पत्रकार भण्डारीविरुद्ध गाली बेइज्जती मुद्दा जिल्ला अदालतमा हालेका थिए। सोही मुद्दाको फैसला गर्दै अदालतले भण्डारीविरुद्ध कैद सजाय सुनाएको थियो।






प्रतिकृया दिनुहोस्