जयगढ बजारमा भीषण आगलागी : २७ भन्दा बढि घर पसल जलेर नष्ट, सात करोडबढीको क्षेति

अछाम । अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ । आगो नियन्त्रणमा आउदासम्म २७ भन्दा बढि घर पसल जलेर नष्ट भएका छन् । भने करोडौ रुपैयाको क्षति भएको छ ।
अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजार लागेको आगो तीन घण्टापछि राति १० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । साँझ करीव सात बजे पुष्पराज शर्माको पसलबाट फैलिएको आगोले २७ भन्दा बढि पसल जलेर नष्ट भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर र आगलागीबाट ७ करोडभन्दा बढीको धनमाल नष्ट भएको अनुमान गरिएको बताए । जलेका २७ घरहरुमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।
प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार आगलगिका कारण हिमाल साउदको मोबाइल पसल, रामबहादुर राउतको जडीबुटी पसल, मञ्जु साउदको जडीबुटी पसल, रति साउदको भाडा पसल, गोकुल साउदको किराना पसल, किस्मत सुनारको सुनचाँदी पसल, खगेन्द्र साउदको किराना पसल, रतन साउदको घर र कालु सुनारको सुनचाँदी पसल लगायतको घर पसलमा क्षति पुगेको छ ।
आगो लागेर टिनका पसलसंगै पक्की घरहरु समेत जलेर नष्ट भएका छन् । सुनचाँदी पसल, किराना पसल, होटल तथा कपडा पसलहरु नष्ट भएका छन् । आईएमई सेन्टर सञ्चालन गर्दै आएका शर्मा पसल बन्द गरेर गएपछि आगलागी भएको थियो । शर्माको पसलमा ग्याँस सिलिण्डर लिक भएर लागेको आगो फैलिएपछि पुरै बजारमा आगलागीको भएको हो ।
बान्नीगढी जयगढ गाउँपालिका र मंगलसैन नगरपालिकाको दमकलको सहायताले सशस्त्र प्रहरी, प्रहरी र स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा लिने प्रयास गरेपनि सफल भएका थिएनन्। सशस्त्र प्रहरीले आगो फैलिन नदिन डोजरले आगलागी भएको घरसंगै जोडिएको एउटा घर भत्काएपछि थप पसलहरु आगलागीबाट जोगिएका हुन् ।
प्रहरीले राति सात बजे फैलिएको आगो तीन घण्टापछि नियन्त्रणमा आएको जनाएको छ । आगो निभाउनका लागि नेपाली सेनाको गोरख बक्स गण मङ्गलसैनबाट सेनानी अमृत खड्काको कमाण्डमा–२० जनाको टोली, जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक जय पार्कीको कमाण्डमा–९ जनाको टोली र सशस्त्र प्रहरी बल खप्तड गुल्मका सशस्त्र प्रहरी निरीक्षक हंसराज जोशीको कमाण्डमा–११ जनाको टोली खटिएको जनाइएको छ। साथै मङ्गलसेन नगरपालिकाको दमकल पनि खटाइएको थियो।
आगलागीका कारण जयगढ बजारमा करोडौैको क्षति पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ। विस्तृत विवरण आउन बाँकी छ । आगलागीबाट बजारका अधिकांश पसलहरु जलेर नष्ट भएपनि मानवीय क्षति भने हुन पाएन ।
स्थानीयका अनुसार मान्छेहरु सुत्नुभन्दा अघि आगलागी भएका कारण मानवीय क्षति हुन पाएन । यद्दपि चारैतिर आगो एकसाथ फैलिएका कारण आगलागी नियन्त्रणमा कठिनाई भएको थियो ।
प्रतिकृया दिनुहोस्