June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

चैत ५ गते हुन नसकेको त्रिवि केन्द्रीय क्याम्पसकाे स्ववियु निर्वाचन आज हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ।  चैत ५ गते हुन नसकेको निर्वाचन आज हुन लागेको हो । ६ हजार भन्दा बढी मतदाता विद्यार्थी रहेको केन्द्रीय क्याम्पसमा विद्यार्थी भोटिङ मेसिनमार्फत मतदान हुनेछ। 

नेविसंघको आन्तरिक विवादका कारण असन्तुष्ट समूहले तालाबन्दी गरेको थियो । त्यसपछि नेविसंघबाट दीपकराज जाेशीले स्ववियु अध्यक्षको आधिकारिक उम्मेदवार बनेका थिए भने अनाेज कार्कीको उम्मेदवारी रद्द गरिएको थियो। 

त्यसपछि चैत ८ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो। नेविसंघकै असन्तुष्ट पक्ष कार्की समूहले अदालतमा आफ्नो उम्मेदवारी खारेज गरिएकोविरूद्धमा रिट हालेका थिए ।

उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्कीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको थियो । जसले गर्दा ८ गतेको निर्वाचन समेत अनिश्चित बनेको थियो। 

चैत १६ गते अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश जारी गरेपछि त्रिविले आजका लागि निर्वाचनको मिति तय गरेको थियो। 

२०७९ सालमा भएको निर्वाचनमा नेविसंघका उम्मेदवार श्यामराज ओझा स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए ।