डोटीमा ११ हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइने, आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल

डोटी । डोटीका ११ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीका अनुसार डोटीका ११ हजारभन्दा बढी किशोरीलाई खोप लगाउन लागिएको हो ।
माघ २२ देखि २८ गतेसम्म खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका १० हजार ९०१ जना र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका ५८६ जना गरेर जम्मा ११ हजार ४८७ जना किशोरीलाई अभियानका क्रममा खोप लगाइने छ।
खोप अभियान सञ्चालन गर्न ३०२ खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासीले बताए। विद्यालयमा रहेका किशोरीका लागि सम्बन्धित १९५ विद्यालयमा खोप केन्द्र तोकिएको छ भने विद्यालयबाहिर रहेका किशोरीका लागि स्वास्थ्य संस्थाहरूमा १०७ खोप केन्द्र तोकिएको छ।
खोप अभियानका क्रममा जिल्लामा ३०३ जना स्वास्थ्यकर्मी र ६०४ जना स्वयंसेवक खटाइने छ। खोप अभियानका क्रममा प्रत्येक पालिकामा चिकित्सकसहितको एइएफआई व्यवस्थापन तथा उपचार टोलीसमेत परिचालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख मलासीले बताए।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंहले आआफ्ना नानीलाई नछुटाई खोप लगाउन अनुरोध गरे। उनले नेपाललगायत सुदूरपश्चिमका पहाडी जिल्लामा पाठेघरको मुखको क्यान्सर हुने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएकाले नछुटाई खोप लगाउन जरुरी भएको बताए। उनले खोप अभियानलाई सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिलसमेत गरे।
‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्रान्डको सो खोप किशोरीलाई निःशुल्क लगाइने छ।
नेपालमा वार्षिक दुई हजार १६९ जना नेपाली महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको छ भने सो क्यान्सरबाट वार्षिक एक हजार ३१३ जना र दैनिक चार जना महिलाको मृत्यु हुने गरेको छ । एचपिभी खोप लगाउँदा एचपिभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ९८ देखि एक सय प्रतिशतले घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ।





प्रतिकृया दिनुहोस्