डा.भीम रावलले पत्रकार सम्मेलन गर्दै, सम्मेलनबाटै नयाँ पार्टीको घोषणा गर्ने तयारी

काठमाडौँ । डा. भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन् । एमालेबाट निष्कासनमा परेका नेता रावलले आगामी कार्य योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हुन ।
डा. रावलका सहयोगी गोविन्द दुवालका अनुसार एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् । ‘बुधवार पत्रकार सम्मेलन गर्ने मोटामोटी तय भएको छ । उक्त पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने र भावी कार्य योजनाका बारेमा समेत जानकारी दिने तयारी छ’, दुवालले भने, ‘ १७ गते १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलनमै नयाँ पार्टी खोल्ने नखोल्ने थाहा हुन्छ ।’ उनले जानकारी दिए ।
एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट समेत हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए ।
सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए । मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन् ।
उनीहरूबीच टोखास्थित निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर बलियो शक्ति निर्माण गर्नुपर्ने प्रस्ताव राखेको स्रोतले बतायो ।
कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध बिग्रिएपछि उनी कांग्रेस बीपीतिर लागेका हुन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले देउवाविरुद्ध प्रतिस्पर्धा गरेका थिए ।
जोशी भने नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् । २०७९ को निर्वाचनमा डडेल्धुरा प्रतिनिधिसभाअन्तर्गतको प्रदेश सभा २ बाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका हुन् ।





प्रतिकृया दिनुहोस्