नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा इन्जिनियर पक्राउ

धनगढी । बहुविवाह गराएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-३ बस्ने ४२ वर्षीय वीरबहादुर ऐर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले ऐरलाई शनिबार डडेल्धुराबाट पक्राउ गरिएको बताए । ऐर पेशाले इन्जिनियर हुन् ।
डडेल्धुराको भागेश्वर गाउँपालिका-४ का ३२ वर्षीय विष्णुप्रसाद मालीको नक्कली बुवा बनेर कञ्चनपुरकी युवतीको परिवारसँग टेलिफोनमा कुुराकानी गरेर बहुविवाह गराउन भूमिका खेलेको आरोप उनीमाथि छ ।
मालीले ३१ वर्षीया युवतीलाई अमेरिकी भिसाको प्रलोभन देखाई झुक्याएर २२ मंसिरमा विवाह गरेका थिए । उनले आफू इन्जिनियर भएको र अमेरिकाको भिसा समेत लागिसकेको भन्दै युवतीसँग कुरा गरेका थिए । तर पछि उनी इन्जिनियर नभएर गाडीका सहचालक भएको खुलेको थियो ।
कञ्चनपुरकी युवतीसँग बिहे भइसकेपछि उनको पहिले नै बिहे भइसकेको टिकटकमार्फत् खुलासा भएको थियो । जेठी श्रीमतीको उजुरीका आधारमा कञ्चनपुर प्रहरीले मालीलाई पक्राउ गरेर बहुविवाह मुद्दा चलाएको छ ।
यस घटनामा मध्यस्थकर्ताको भूमिका खेलेको आरोपमा कञ्चनपुरको वेदकोट नगरपालिका-२ का जनकबहादुर धामीलाई पनि प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । धामी र ऐरलाई मतियार बनाएर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।





प्रतिकृया दिनुहोस्