April 18, 2026, Saturday
२०८३ बैशाख ५

सहकारी ठगीमा रवि लामिछानेसँग मध्यरात १ बजेसम्म लिइयो बयान, सोधिएका प्रश्नमै छ प्रमाण

काठमाडौँ । सहकारी बचत हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग शुक्रबार बयान लिएको छ ।

समितिको कार्यालय सिंहदरबारमा अपराह्न साढे ३ बजे सुरु भएको बयान राति १ बजेसम्म चलेको थियो । सहकारीको व्यक्तिगत तथा संस्थागत ठगीमा लामिछाने संलग्न भएको पुष्टि गर्ने धेरै तथ्य समितिले तयार पारेका प्रश्नहरूमै समावेश छन् ।

१० घण्टा चलेको बयानमा समितिका सदस्यहरूले विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएको रकम र तत्कालीन प्रबन्ध निर्देशकका रूपमा लामिछानेका दायित्वका विषयमा ५१ मूल प्रश्न सोधेका थिए । लामिछानेले भने आफू १४ महिना प्रबन्ध निर्देशक रहेको कम्पनीको आर्थिक कारोबारबारे थाहा नभएको, सहकारीबाट आएको रकमको कानुनी दायित्य आफूमा नरहेको भन्दै इन्कारी बयान दिएका छन् ।

कम, मिति, कैफियत र कानुनको विवरणसहित सोधिएका प्रश्नमा लामिछानेले ‘थाहा छैन, जानकारीमा छैन, मेरो भन्नु केही छैन, होइन, संलग्न छैन’ भन्ने जवाफ दोहोर्‍याएपछि सदस्यहरूले दर्जनौं पूरक प्रश्नहरू पनि सोधेका थिए । सदस्यहरूले लामिछानेको नाममा रकम जम्मा भएको भौचर, सीआईबीको अनुसन्धान, बुटवल प्रहरीको प्रतिवेदन र पोखरा महानगरपालिकाको प्रतिवेदन देखाउँदै पूरक प्रश्नहरू सोधेका थिए ।

‘धेरैजसो प्रश्नमा लामिछाने जिम्मेवारीबाट उम्कन खोज्नुभएको छ । तर, तथ्य र प्रमाणसहित सोधिएका कतिपय प्रश्नमा उनले स्विकारेको अवस्था पनि छ’ समितिका एक सदस्यले भने ।

यसअघि बयानका लागि जेलबाट बोलाइएका अभियुक्तहरूले सहकारीहरूबाट गोर्खा मिडियामा रकम ल्याउँदा लामिछाने पनि संलग्न रहेको र उनको व्यक्तिगत खातामा पैसा आएको जानकारी बयान दिएका छन् । हाल गोर्खा मिडिया सञ्चालक रहेका कुमार रम्तेल पुर्पक्षका लागि पोखरा जेलमा छन् । त्यस्तै सुप्रिम सहकारीबाट लामिछानेका तर्फबाट रकम जम्मा गरिदिने रोशनी गुरुङ र अर्का कर्मचारी भवीश्वर अर्यालले पनि सहकारी ठगीमा लामिछाने संलग्न रहेको बयान दिएको समितिले पुष्टि गरेको छ ।

‘सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., पोखरा र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. बुटवलबाट रवि लामिछानेको नाममा प्रवाह भएको कर्जा तथा पेस्की रकमहरू तपाईं पूर्वउपप्रधानमन्त्री र गृहमन्त्री एवं प्रतिनिधिसभाको माननीय सदस्य रवि लामिछानेकै नाममा जारी भएको हो र सहकारीमा कायम भएको सदस्यतासमेत तपाईंकै भएको भनी भवीश्वर अर्याल, रोशनी गुरुङ, कुमार रम्तेलसमेतले खुलाउनुभएको देखिन्छ । तपाईंको नाममा कर्जा खडा भई गोर्खा मिडिया नेटवर्क प्रालि.मा रकम गएको देखिन्छ । गोर्खा मिडियामा तपाईंबाहेक अर्को रवि लामिछाने पनि रहेको देखिँदैन । तपाईंले अस्वीकार गर्न मिल्छ ?’ समितिमा उनलाई प्रश्न गरिएको छ ।

करिब ५० हजार सर्वसाधारणले चार सहकारीमा जम्मा गरेको करिब ९६ करोड रुपैयाँ गीतेन्द्रबाबु (जीबी) राई अध्यक्ष र लामिछाने प्रवन्ध निर्देशक रहेको गोर्खा मिडियामा सारिएको थियो । ८० करोड रुपैयाँ सार्दा लामिछाने प्रबन्ध निर्देशक थिए । समिति सभापति सूर्य थापाका अनुसार सहकारी छानबिन प्रकरणमा सबैभन्दा लामो बयान लामिछानेसँग लिइएको छ । लामिछानेले आफैंले दिएको जवाफ फर्केर रुजु गर्न करिब दुई घण्टा लागेको थियो, नेपाली कागजमा उतारिएको बयानका हरेक पृष्ठमा लामिछानेको हस्ताक्षर र औंठा छाप पनि लिइएको छ ।

समितिका सदस्यहरूले राप्रपाकी सांसद गीता बस्नेतले नवलपुरको कावासोतीमा रहेको छिपछिपेसहित तीनवटा सरकारीबाट साढे पाँच करोडभन्दा बढी रकम निजी कम्पनीमा लगेको आरोपमा पक्राउ गरी मुद्दा चलाउँदा तपार्इं आफैं गृहमन्त्री हुनुहुन्थ्यो, अब त्यस्तै प्रकरणमा तपाईंमाथि कारबाही किन नहुने भन्ने प्रश्नसमेत लामिछानेलाई गरेका थिए । सांसद बस्नेत प्रत्यक्ष आर्थिक कारोबारमा संलग्न रहेकाले उनीमाथि कानुनी दायित्व आकर्षित हुने भए पनि आफू प्रबन्ध निर्देशक रहे पनि आर्थिक कारोबारमा संलग्न नभएकाले त्यो कानुन लागू हुन नसक्ने तर्क उनको थियो ।

गोर्खा मिडिया नेटवर्कमा आफूले ‘स्वेट सेयर’ मात्रै पाएको र कम्पनीको सम्पूर्ण आर्थिक कारोबार र खर्चको स्रोत व्यवस्थापन जुटाउने काम अध्यक्ष जीबी राईले गरेको उनको जवाफ थियो । यद्यपि सांसदहरूले कुनै कम्पनीको प्रबन्ध निर्देशकको दायित्व र जवाफदेहिता के हुन्छ भनेर पनि सोधेका थिए ।

आफू गृहमन्त्री हुँदा जीबी राईलाई पक्राउ गरेर ल्याउने काममा धेरै नजिक पुगेको बताउँदै वर्तमान गृहमन्त्री रमेश लेखकमाथि समेत लामिछानेले प्रश्न तेर्साएका छन् । ‘जीबी राई पक्राउ हुनका लागि मलेसिया सरकारसँग संवाद अघि बढिरहेकै बेला म हट्नुपर्‍यो, अहिलेका गृहमन्त्रीले राईलाई किन पक्राउ गरेर ल्याउन सक्नुभएको छैन’ लामिछानेको प्रश्न थियो ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा आफैंले हस्ताक्षरसहित पेस गरेको कागजातमा २०७८ वैशाख ५ मा रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक बनेका हुन् । कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाएको कागजअनुसार उनले कम्पनीमा लगानीका लागि बुझाएको पैसा सहकारीबाट सिधै ‘ट्रान्सफर’ भएर कम्पनीमा आएको छ । सहकारीको पैसा कम्पनीमा ल्याएर लगानीमा गणना गर्न पाइन्छ भनेर पनि सदस्यहरूले उनलाई सोधेका थिए । यो विषयमा पनि लामिछानेले जीबी राईलाई नै दोष दिएका थिए ।

पूर्वउपप्रधान तथा गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछानेलाई संसदीय समितिले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक, सेयर होल्डरको मुख्य जिम्मेवारीमा रहेका हैसियतमा बयानमा बोलाएको थियो । समितिलाई सहकारीको बचत अपचलनमा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीको सिफारिस गर्नेसम्मको कार्यादेश प्राप्त छ । समितिले लामिछानेअघि गोर्खा मिडिया नेटवर्ककै संस्थापक तथा सञ्चालक छविलाल जोशीलाई सोधपुछका लागि बोलाएको थियो । उनले पनि इन्कारी बयान दिएका छन् ।

उता रवि लामिछानेले भने सहकारीको एक पैसा पनि आफ्नो पेटमा नपरेको दाबी गरेका छन् । ‘सहकारीको एक पैसा पनि मेरो पेटमा परेको छैन, मैले ती नामका सहकारीबाट एक पैसा पनि लिएको थिइनँ । यो कुरा मैले आफ्नो ढंगबाट प्रस्ट पारेको छु’ बयानबाट निस्कँदै गर्दा उनले सञ्चारकर्मीहरूसँग भने ।

लामिछानेलाई सोधिएका प्रश्नहरू :

१. आफ्नो नामसहित तीन पुस्ता र परिवारका सदस्यहरूको विवरण खुलाउनुहोस् । परिवारका सदस्यहरू को कहाँ हुनुहुन्छ ? खुलाइदिनुहोस् ।

२. तपाईंको शारीरिक अवस्था कस्तो छ ? सोधिएका प्रश्नको उत्तर दिन सक्नुहुन्छ ?

३. तपाईं आबद्ध रहेका र सञ्चालकको भूमिकामा रहेका सहकारी संस्थाहरूको नाम, ठेगाना र अन्य कुनै विवरण भए सो समेत खुलाउनुहोस् । सम्बद्ध कुनै कागजात भए पेस गर्नुहोस् ।

४. ऐच्छिक (उत्तरमा आधारित) ः तपाईंले सहकारी संस्थामा आबद्ध छैन भन्नुभयो, तर सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको मेम्बर आईडी नं. ००१–०८७१५६ र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवलको मेम्बर आईडी नं. ००१–०५८५०६ मा तपाईंको नामसहितको केवाईएम (नो योअर मेम्बर) रहेको देखिन्छ । के हो ? खुलाइदिनुहोस् ।

५. पछिल्लो पाँच वर्षयताको तपाईंका पेसा वा व्यवसाय के हुन् ? खुलाइदिनुहोस् ।

६. तपाईं गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन मितिदेखि के–कुन मितिसम्म के–कुन भूमिका र जिम्मेवारीमा रहनुभएको थियो ? खुलाइदिनुहोस् ।

७. ०७७।१२।२५ देखि २०७९।३।१ सम्म तपाईं प्रबन्ध निर्देशक हुँदा कार्यालयको के–कुन प्रशासनिक काममा संलग्न रहने गर्नुभएको थियो ? खुलाइदिनुहोस् ।

संसदीय छानबिन विशेष समितिमा १० घण्टाको बयानपछि फर्कंदै पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने ।तस्बिर : दीपक केसी/कान्तिपुर

८. गोर्खा मिडिया नेटवर्क प्रालिका के–कुन व्यवसाय रहेका छन् ? उक्त प्रालिद्वारा सञ्चालित ग्यालेक्सी फोरके हाल चलिरहेको छ, छैन ? खुलाइदिनुहोस् ।

९. गीतेन्द्रबाबु राईसँग तपाईंको के–कसरी चिनजान भएको हो ? व्यावसायिक साझेदारीमा के–कसरी प्रवेश गर्नुभयो ? खुलाइदिनुहोस् ।

१०. सहकारी संस्थाका सदस्यबाहेक व्यक्तिको बचत जम्मा गर्न वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्न वा ऋण वा कर्जा लिन पाइन्छ, पाइँदैन ? तपाईंलाई के थाहा छ ? खुलाइदिनुहोस् ।

११. सहकारी समस्यामा परेपछि प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयबाट गराइएको लेखा परीक्षणअनुसार सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा मिति २०७७।१२।१८ मा तपाईंका नाममा २ करोडको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा सोही मिति (३१ मार्च २०२१) मा उक्त रकममध्ये १ करोड ९६ लाख रकम जम्मा भएको देखिन्छ, उक्त व्यहोरा के–कसो के हो ? यसरी व्यक्तिको नाममा लिएको ऋण कम्पनीमा पठाउन मिल्छ ?

१२. तपाईंले मिति २०७७।१२।१८ मै गोर्खा मिडिया नेटवर्क प्रालिको १,८०,००० कित्ता सेयर लिएको देखिन्छ । उक्त रकम सोही प्रयोजनका लागि लिनुभएको त होइन ?

१३. तपाईंले गोर्खा मिडिया नेटवर्क प्रालिमा मिति २०७७।१२।१८ मा रु. १ करोड ८० लाखको सेयर लगानी गर्नुभएको देखिन्छ । उक्त सेयर रकम कम्पनीलाई कसरी के–कुन माध्यमबाट के–कुन स्वरूपमा चुक्ता गर्नुभएको थियो ?

१४. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा मिति २०७८।०३।२२ मा कुमार रम्तेलको नाममा १ करोड ९० लाखको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा १ करोड ३ लाख ३६ हजार जम्मा गरी बाँकी रकम तपाईंको नाममा रहेको ऋण शीर्षक १०५–२२४ मा ७,००,०००।– र अन्य पुराना ऋणहरू कुमार रम्तेल १०५–५० मा ५९,९३,४२०।–, छविलाल जोशी १०५–२११ मा १५,८०,०००।– जम्मा गरी उक्त ऋणहरू फर्स्योट देखाई निज कुमार रम्तेलकै नाममा ऋण कायम गरेको देखिन्छ, यस्तो किन गरिएको हो ? तपाईंको नामको ऋण कुमार रम्तेलको नाममा लिइएको कर्जाको अंशबाट कसरी फर्स्योट हुन गएको हो ? खुलाइदिनुहोस् ।

१५. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा भूपेन्द्रबाबु राईको नाममा ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सिद्धार्थ बैंकमा भएको खातामा मिति २०७७।०६।११ मा १ करोड, गोर्खा मिडिया नेटवर्क प्रालिकै ग्लोबल आईएमई बैंकमा भएको खातामा मिति २०७८।०१।०५ मा १ करोड, २०७८।०१।०९ मा ३० लाख र मिति २०७८।०३।०४ मा १ करोड गरी जम्मा ३ करोड ३० लाख जम्मा भएको देखिन्छ, उक्त व्यहोरा के–कसो हो ? यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ?

१६. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा मिति २०७७।१०।२९ मा छविलाल जोशीको नाममा २ करोड ५० लाखको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा २ करोड ४५ लाख जम्मा भएको देखिन्छ, उक्त व्यहोरा के कसो हो ? यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ?

१७. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा विपिनकुमार आचार्यका नाममा मिति २०७८।०९।१२ मा १ करोड ५६ लाख १५ हजारको ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा भएको खातामा सोही मितिमा १ करोड ५० लाख रकम जम्मा भएको देखिन्छ, उक्त व्यहोरा के–कसो हो ? यसरी व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ?

१८. भूपेन्द्रबाबु राईको नाममा २०७७।०६।११, २०७८।०१।०५ र २०७८।०३।०४ मा ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिमा पठाइएको ३ करोड ३० लाख २०७८।०३।३१ मा फर्स्योट देखाई सोही रकमको नयाँ ऋण खडा गरी पुनः मिति २०७८।०६।१३ मा ५० लाख र २०७९।०२।०४ मा ३० लाख गरी जम्मा ८० लाख पेस्की रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लिएको देखिन्छ । उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ?

१९. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा पुष्पराज गिरीको नाममा पेस्की जनाई मिति २०७८।०६।२४ मा २५ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा जम्मा गरेको देखिन्छ । उक्त पेस्की रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ? निज पुष्पराज गिरीको व्यक्तिगत विवरण के हो ? खुलाइदिनुहोस् ।

२०. सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा पेस्की जनाई २०७७।०६।११ मा १ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सिद्धार्थ बैंकमा रहेको खातामा मिति २०७८।०१।०५ मा १ करोड र मिति २०७८।०१।०९ मा ३० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा जम्मा गरेको देखिन्छ ? उक्त पेस्की रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी पेस्की लिन मिल्छ ?

२१. सहकारी समस्यामा परेपछि पोखरा महानगरपालिकाबाट भएको छानबिन प्रतिवेदनको वित्तीय विश्लेषणअनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा मिति २०७७।१२।३० मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा १ करोडको ऋण कर्जा स्वीकृत गरी रु.९७ लाख ९५ हजार ग्लोबल आईएमई बैंकको एकाउन्टपेयी चेक नं. ३६२९१४७८ मार्फत भुक्तानी दिइएको देखिन्छ । उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी कर्जा लिन मिल्छ ?

२२. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा मिति २०७७।१२।३० मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा १ करोडको ऋण कर्जा स्वीकृत गरी रु. ९७ लाख ९५ हजार ग्लोबल आईएमई बैंकको एकाउन्टपेयी चेक नं. ३६२९१४७८ मार्फत भुक्तानी दिइएको देखिन्छ । उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी कर्जा लिन मिल्छ ?

२३. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा मिति २०७८।०७।०५ मा शेरबहादुर ठकुल्लाको नाममा कर्जा नं. ११६–४५७७ मा रु. ५० लाख कर्जा देखाई निजकै बचत खाता नं. ४९–०१०५९ मा जम्मा गरी उक्त रकम मेगा बैंकको चेक नं. २९२९०९४६ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा भुक्तानी प्राप्त भएको देखिन्छ । उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी कर्जा लिन मिल्छ ?

२४. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा मिति २०७८।०९।०६ मा विपिनकुमार आचार्यको कर्जा खाता नं. ११६–४६१६ मा रु. १ करोड कर्जा देखाई बचत खाता नं. ४९–०१२५० मा जम्मा गरिएको र उक्त कर्जाको सेवा शुल्क एवं अन्य शुल्कहरू गीतेन्द्रबाबु राईको बचत खाता नं. ३१–१४४५३ बाट रकमान्तर गरी कट्टा गरिएको कम्प्युटर लेखा प्रणालीबाट देखिन्छ । उक्त बचत खाता नं. ४९–०१२५० बाट रु. १ करोड सहकारीकै गोर्खा फाइनान्सको चेक नं. १०००८५१५२८ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिलाई भुक्तानी भएको देखिन्छ । उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ? निज विपिनकुमार आचार्य को–कुन व्यक्ति हुन् ? निजले गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम तिर्नुपर्ने दायित्व वा कुनै कारोबार छ ?

२५. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा पेस्की जनाई २०७८।०२।०३ मा ५० लाख मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०८५ मार्फत र मिति २०७८।०३।०९ मा ५० लाख मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०९९ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा प्रवाह भएको देखिन्छ । उक्त पेस्की रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा के–कुन आधारमा के–कुन प्रयोजनका लागि लिनुभएको थियो ? सहकारी संस्थाबाट निजी कम्पनीले त्यसरी पेस्की लिन मिल्छ ?

२६. उपरोक्त पेस्की रकम मिति २०७८।०३।३१ मा तपाईंको नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा कर्जा नं ११६–४४५६ मा रकमान्तर गरी कर्जा खडा गरी पेस्की सेटल गरेको देखिन्छ । तपाईं सहकारीको सेयर सदस्य नै नभएको व्यक्तिले उक्त कर्जा कसरी लिनुभयो ? उक्त कर्जाका लागि के–कुन धितो दिनुभएको थियो ?

२७. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरामा तपाईंको नाममा रहेको कर्जा नं. ११६–४४५६ को ऋण रकम रु. १ करोडको १४.७५ प्रतिशत ब्याजदरमा पहिलो वर्षको ब्याज १४,७५,००० र दोस्रो वर्षको ब्याज रु. १६,१३,७३० समेत गरी जम्मा रु. १ करोड ३० लाख ८९ हजार मिति २०८०।०३।१३ मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा नयाँ कर्जा खाता नं. ११६–४८०१ खडा गरी १ करोड ३० लाख ८९ हजार ऋण कायम भएको देखिन्छ । तपाईंको व्यक्तिगत कर्जा चुक्ता नगरी तपाईंले मिति २०७९।०३।०२ मै छाडिसकेको गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा ऋण कायम के–कुन आधारमा गराउनुभएको हो ? खुलाइदिनुहोस् ।

२८. सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको रु.२ करोड पेस्की रकम मिति २०७८।०३।३१ मा फर्स्योट भई सोही दिन तपाईं प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीका नाममा सोही रकमको ऋण लेखांकन भएको देखिन्छ । साझेदारी कम्पनीको ऋण एक जना मात्र सञ्चालकको नाममा किन कायम गर्नु/गराउनुभएको हो ? खुलाइदिनुहोस् ।

२९. मिति २०७९।०३।०२ मा गोर्खा मिडिया नेटवर्क प्रालिमा रहेको तपाईंको नामको १,८०,००० कित्ता सेयर गीतेन्द्रबाबु राईलाई बिक्री गर्दा प्रतिसेयर मूल्य कति निर्धारण गरेर बिक्री गर्नुभयो ? उक्त रकम के–कुन माध्यमबाट प्राप्त गर्नुभयो ? खुलाइदिनुहोस् ।

३०. नोबडी प्रोडक्सन प्रालि के–कुन कम्पनी हो ? गोर्खा मिडिया नेटवर्क प्रालिसँग यसको के–कुन प्रकारको कारोबार रहेको थियो ? उक्त कम्पनीलाई आर्थिक वर्ष ०७७/७८ मा संस्थाले आम्दानी हुने गरी कुनै काम सुरु नगरेकै अवस्थामा रु. ५ करोड ३५ लाख बराबरको पेस्की किन दिइएको हो ?

३१. गोपीकृष्ण मुभी प्रालि के कुन कम्पनी हो ? गोर्खा मिडिया नेटवर्क प्रालिसँग यसको के–कुन प्रकारको कारोबार रहेको थियो ? उक्त कम्पनीलाई आर्थिक वर्ष ७७/७८ मा २५ लाख पेस्की किन दिइएको हो ?

३२. आर्थिक वर्ष ७७/७८ मा ग्रिन टी डेभलपमेन्टलाई ४५ लाख र आर्थिक वर्ष ७८/७९ मा १० लाख थप गरी रु. ५५ लाख रकम र लक्ष्मीप्रसाद पौडेललाई पेस्की रु. ४९ लाख ९९ हजार के–कुन प्रयोजनका लागि दिइएको हो ? खुलाइदिनुहोस् ।

३३. शम्भु गुरागाईं गोर्खा मिडिया नेटवर्क प्रालिमा कहिलेदेखि कहिलेसम्म कार्यरत हुनुहुन्थ्यो ? कर्मचारी पेस्की शीर्षकमा आर्थिक वर्ष २०७७/०७८ दिइएको रु. ८१ लाख ३ हजार आर्थिक वर्ष २०७८/०७९ मा समेत कायमै देखिन्छ । आर्थिक वर्षको अन्त्यसम्ममा पनि किन फर्स्योट नगर्नु, नगराउनु भएको हो ?

३४. गोर्खा मिडिया नेटवर्क प्रालिबाट आर्थिक वर्ष २०७७/०७८ ब्याजबापत १ करोड ५५ लाख भुक्तानी गरेको देखिन्छ । उक्त रकम कसलाई र कुन ऋणबापत दिनुभएको हो ?

३५. विदेशी कम्पनी उल्लेख गरिएको लाओ एसिया प्यासिफिक स्याटलाइट को–लिमिटेडबाट १४ जुन २०२२ मा गोर्खा मिडिया नेटवर्क प्रालिले रु. ५५ लाख १७ हजार ७ सय २३ ऋण लिएको देखिन्छ । उक्त ऋण के कुन प्रयोजनका लागि लिनुभएको हो ? उक्त ऋण कानुनसम्मत छ त ?

३६. यहाँ प्रबन्ध निर्देशक रहेकै समयमा चुक्ता पुँजी १२ करोड रहेको कम्पनी १६ करोडको नोक्सानमा रहेको देखिन्छ । उक्त समयको मुख्य खर्च निकासा हेर्दा तपाईं, गीतेन्द्रबाबु राई, शम्भु गुरागाईं र विपिनकुमार आचार्यको तलबलगायत देखिन्छ । त्यस अतिरिक्त विपिनकुमार आचार्य सञ्चालक रहेको कम्पनीमा अत्यधिक सञ्चालन खर्च निकासा हुने गरेको देखिन्छ । कम्पनी नोक्सानमा रहँदारहँदै संस्थाबाट भएको खर्चको औचित्य कसरी पुष्टि गर्नुहुन्छ ?

३७. ३१ मार्च २०२१ देखि १५ जुन २०२२ सम्म तपाईं प्रबन्ध निर्देशक रहेको अवधिमा सहकारीहरूले गोर्खा मिडिया नेटवर्क प्रालिलाई दिएको ऋण रकम र गोर्खा मिडियामा दाखिला भएको ऋणको औचित्य कसरी पुष्टि गर्नुहुन्छ ? (प्रश्नको थप विवरण टेबलमा)

३८. गोर्खा मिडिया नेटवर्क प्रालिबाट कर्मचारी पेस्की शीर्षकमा आर्थिक वर्ष २०७७/०७८ मा ६ लाख ४५ हजार र आर्थिक वर्ष २०७८/०७९ मा १७ लाख रकम पेस्की लिनुभएको देखिन्छ । उक्त रकम के–कुन प्रयोजनका लागि लिनुभएको थियो ? आर्थिक वर्षको अन्त्यसम्ममा पनि किन फर्स्योट नगर्नु भएको हो ?

३९. तपाईंले गोर्खा मिडिया प्रालिको सेयर खरिद गरी सञ्चालक एवं प्रबन्ध निर्देशक बन्दाका बखत कम्तीमा पाँच वर्षका लागि साथै रहने र संस्था चलाउने प्रतिबद्धता जनाउनुभएको थियो । तर आठ महिनामै आफ्नो प्रतिबद्धताबाट पछाडि हटेका कारण गोर्खा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजन संकटमा परेको हो, यसको जिम्मेवारी निज रवि लामिछानेको हो भन्ने समेतको व्यहोरा उक्त कम्पनीका हालका सञ्चालकहरूले यस समितिमा अभिलेखबद्ध गराउनुभएको छ ? यसमा तपाईंको भनाइ के छ ? हालको खासगरी गीतेन्द्रबाबु राई समूहद्वारा सञ्चालित सहकारीहरूमा आजको संकट देखिनुमा र त्यस संकटको समाधानमा तपाईंको जिम्मेवारी के हुन्छ ? खुलाइदिनुहोस् ।

४०. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलबाट रवि लामिछानेको नाममा प्रवाह भएको कर्जा तथा पेस्की रकमहरू तपाईं पूर्वउपप्रधानमन्त्री र गृहमन्त्री एवं प्रतिनिधिसभाको माननीय सदस्य रवि लामिछानेकै नाममा जारी भएको हो र सहकारीमा कायम भएको सदस्यता समेत तपाईंकै भएको भनी भवीश्वर अर्याल, रोशनी गुरुङ, कुमार रम्तेलसमेतले खुलाउनुभएको देखिन्छ । तपाईंको नाममा कर्जा खडा भई गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम गएको देखिन्छ । गोर्खा मिडियामा तपाईंबाहेक अर्को रवि लामिछाने पनि रहेको देखिँदैन । तपाईंले अस्वीकार गर्न मिल्छ ?

४१. गोर्खा मिडिया नेटवर्क प्रालिको लेखा परीक्षण प्रतिवेदनमा ‘अनसेक्योर्ड लोन’ भनी उल्लेख गरिएको छ । सो भनेको के हो ?

४२. तपाईं माननीय उपप्रधानमन्त्री र गृहमन्त्री पदमा रहेको समयमा प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा सहकारीको बचत रकम अपचलनका अभियुक्त गीतेन्द्रबाबु राई रहेको स्थानको नजिकसम्मको सूचना सरकारले प्राप्त गरिसकेको र मलेसिया सरकारका समकक्षीसँग संवादसमेत गरेको भनी जानकारी गराउनुभएको थियो । तर निज पक्राउ पर्न सक्नुभएन, किन ? तत्सम्बन्धमा तपाईंलाई प्राप्त भएको सूचना र सरकारी प्रयासका सम्बन्धमा खुलाउन मिल्ने कुरा खुलाइदिनुहोस् ।

४३. विद्यमान अवस्थामा गोर्खा मिडिया नेटवर्क प्रालि र सहकारी संस्थाहरूको समस्या समाधान गर्न के गर्नुपर्ला ? तपाईंका के सुझाव छन् ?

४४. अन्त्यमा, तपाईंको भन्न बाँकी केही छ ?

(गोर्खा मिडियामा जीबी र रविका साझेदारसमेत रहेका पूर्वडीआईजी छविलाल जोशीको बयानपछि ७ प्रश्न थपेर रविलाई कुल ५१ प्रश्न र दर्जनौं पूरक प्रश्न सोधिएको थियो ।) कान्तिपुरबाट