शिकार खेल्ने क्रममा डोटीमा एक जनाको गोली लागेर मृत्यु, दुई जना पक्राउ

डोटी । डोटीमा शिकार खेल्ने क्रममा एक जनाको गोली लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शुक्रबार शिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर अमर थापाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णुहरी कोइरालाले पूर्वीचौकी गाउँपालिका-६ गाँजरी बडातडा स्थित घोत्नेगडा सामुदायिक वनमा बँदेलको सिकार खेल्न गएका स्थानीय ३० वर्षीय अमर थापाको गोली लागेर ज्यान गएको बताएका हुन ।
घटनामा संलग्न दुई जना शिकारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डोटीबाट गएको प्रहरी टोलीले घटनास्थल नजिक भरुवा बन्दुक र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ नारिदाङ स्थित धान खेतमा लुकेर रहेको अवस्थामा घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।
पक्राउ पर्नेमा दिपायल सिलगढी नगरपालिका- ८ डाडाँगाउँ बस्ने वर्ष ३३ का रामबहादुर साउद र सोही ठाउँ बस्ने वर्ष ४२ का दिल्ली साउद रहेका छन्।
प्रहरीको प्रारम्भिक जानकारी अनुसार रामबहादुर साउदले चलाएको गोली लागी थापाको मृत्यु भएको खुल्न आएको छ। पक्राउ परेका दुई जनालाई राती नै प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेको प्रहरी उपरीक्षक कोइरालाले बताए।





प्रतिकृया दिनुहोस्