कक्षा १२ को नतिजा पनि एसईईको जस्तै : झन्डै आधा विद्यार्थी उच्च शिक्षामा अयोग्य

काठमाडौँ । कक्षा १२ को परीक्षाफल पनि एसईईकै जस्तो कमजोर देखिएको छ । परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये झन्डै आधा विद्यार्थी फेल भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नियमिततर्फको नतिजाअनुसार ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थी सहभागी भएकामा २ लाख ३ हजार ८ सय ४७ (५२.१५ प्रतिशत) पास भएका छन् भने १ लाख ८७ हजार २१ (४७.८४ प्रतिशत) फेल भएका छन् ।
फेल भएका मध्ये १ लाख २७ हजार ७ सय ७ जनाले भदौ २५ र २६ गते पूरक परीक्षा दिन पाउनेछन् । गत असारमा प्रकाशित एसईई र अघिल्ला वर्षहरूको कक्षा १२ को नतिजाको तुलनामा सामान्य मात्रै सुधार देखिन्छ ।
एसईईमा ४७.८७ प्रतिशत विद्यार्थी पास भएका थिए भने ५२.१३ प्रतिशत विद्यार्थी फेल भएका थिए । गत वर्ष कक्षा १२ को परीक्षामा सहभागी ३ लाख ७२ हजार ६ सय ३७ विद्यार्थीमध्ये ५०.९१ प्र्रतिशत अर्थात् १ लाख ८९ हजार ७ सय ११ जनाले ग्रेड प्राप्त गर्दै उच्च शिक्षामा भर्ना हुन योग्य ठहरिएका थिए । त्योभन्दा अघिल्लो साल ४८.१० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । गत वर्षको तुलनामा ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या र माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या क्रमशः वृद्धि हुँदै गएकाले समग्र नतिजा सुधारोन्मुख हुँदै गएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाए ।
कक्षा १२ को नतिजामा सामान्य सुधार देखिए पनि यसलाई उपलब्धि मान्न नहुने विज्ञहरूको भनाइ छ । त्रिभुवन विश्वविद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुरेन्द्र गिरीले शिक्षण विधिमा सुधार हुन नसक्दा विद्यालय तहको नतिजा कमजोर देखिएको टिप्पणी गरे । एक सय वर्षदेखि एउटै विधिबाट पठनपाठन र परीक्षा सञ्चालन भइरहेको उनले बताए । ‘एक सय वर्षपहिले त्रिचन्द्र क्याम्पसमा जुन तरिकाले पढाइ हुन्थ्यो अहिले पनि त्यही तरिकाले पढाइ हुन्छ । पाठ्यक्रम, परीक्षा विधि, मूल्यांकन गर्ने तरिका पनि पुरानै छ,’ उनले भने, ‘विद्यार्थीकेन्द्रित शिक्षण सिकाइ नभएसम्म सुधारको अपेक्षा गर्न सकिँदैन ।’
पढाउने विधि र नीति, नियमसमेत पुरानो हुँदा सुधार सम्भव नरहेको उनले औंल्याए । ‘त्रिचन्द्र मोडलको राणाकालीन पढाउने विधि छ । बाजेको पालादेखि शिक्षकले जस्तो जानेको छ त्यस्तै पाठ्यक्रम बनेको छ । पढाउने तरिका पनि उस्तै छ । शिक्षा ऐन पनि पुरानै छ,’ उनले भने, ‘शिक्षक दरबन्दी छैन । राहत दरबन्दीका भरमा विद्यालय चलेका छन् । भएका शिक्षकलाई पनि तालिम छैन ।’
माथिल्लो स्तरको ३.६१ देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ९ हजार ५ सय ९१ रहेको छ । सबैभन्दा धेरै विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् । ७८ हजार ७५ छात्रछात्राले उक्त जीपीए ल्याएका बोर्डले जनाएको छ । २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ छ । ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने ४६ हजार ८ सय ९३ रहेका छन् । २.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार २ सय ४० रहेको छ भने सबैभन्दा तल्लो स्तरको जीपीए १.६१ देखि २ ल्याउने विद्यार्थीको संख्या १२ जना रहेको छ ।
नन्ग्रेडिङ भएका १ लाख ८७ हजार २१ विद्यार्थीमध्ये १ लाख २७ हजार ७ सय ७ जना विद्यार्थी दुई विषयसम्म नन्ग्रेडिङ भएका हुन् । दुई विषयमा नन्ग्रेडिङ हुने विद्यार्थीको पूरक परीक्षा भदौ २५ र २६ गते सञ्चालन हुने बोर्डले जनाएको छ । दुई विषयसम्म अनुपस्थित भएका विद्यार्थीले पनि पूरक परीक्षामा सामेल हुन पाउने शर्माले बताए । दुईभन्दा बढी विषयमा नन्ग्रेडिङमा पर्ने विद्यार्थीले भने अर्को वर्ष सञ्चालन हुने वार्षिक परीक्षामा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । शर्माका अनुसार सबैभन्दा धेरै विद्यार्थी अंग्रेजी विषयमा नन्ग्रेडिङ भएका छन् । त्यसपछि लेखा र सामाजिक विषयमा नन्ग्रेडिङ हुने विद्यार्थीको संख्या बढी छ ।
अंग्रेजीमा ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा १ लाख २ हजार २ सय ६ जना विद्यार्थी नन्ग्रेडिङ भएको बोर्डको तथ्यांक छ । सामाजिकमा ५१ हजार, लेखामा ४७ हजार विद्यार्थी नन्ग्रेडिङमा परेका छन् । एसईईमा धेरै विद्यार्थी गणित, अंग्रेजी र विज्ञान विषयमा अनुत्तीर्ण थिए । कक्षा १२ मा नन्ग्रेडिङ हुनेमा छात्रको भन्दा छात्राको संख्या धेरै छ । १ लाख ८७ हजार २१ विद्यार्थी अर्थात् ४७.८४ प्रतिशत विद्यार्थी नन्ग्रेडिङ हुँदा ४७ प्रतिशत नै छात्र र ४९ प्रतिशत छात्रा रहेका छन् । परीक्षामा सामेलमध्ये छात्राभन्दा छात्रको संख्या कम थियो । १ लाख ९४ हजार ३ सय १९ जना छात्र सहभागी थिए । तीमध्ये ९१ हजार ४ सय ८७ जना एनजीमा परे भने १ लाख २ हजार ८ सय ३२ जनाले मात्र ग्रेड प्राप्त गरे । छात्रा १ लाख ९६ हजार ५ सय जना परीक्षामा सहभागी थिए । ९५ हजार ५ सय ४ जनाको नतिजा एनजी आएको छ भने १ लाख ९ सय ९७ जनाले ग्रेड प्राप्त गरेका छन् ।
कक्षा १२ को नतिजाको प्रदेशगत तुलना गर्दा सुदूरपश्चिम प्रदेश सबैभन्दा कमजोर देखिएको छ । सुदूरपश्चिमपछि क्रमशः कर्णाली, कोशी, मधेश, लुम्बिनी, गण्डकीको नतिजा कमजोर देखिन्छ । प्रदेशमध्ये सबैभन्दा राम्रो नतिजा वाग्मतीमा देखिएको छ । सुदूरपश्चिममा ३५ हजार ६ सय २८ विद्यार्थीले परीक्षा दिएकामा १४ हजार ४६ (३९.४२ प्रतिशत) ले ग्रेड प्राप्त गर्न सफल भए । ६०.५७ अर्थात् २१ हजार ५ सय ८२ जना नन्ग्रेडिङमा परे । कर्णालीका २५ हजार ९ सय २० परीक्षार्थीमध्ये ४०.७५ प्रतिशत अर्थात् १० हजार ५ सय ६३ मात्र ग्रेडिङ भए । १५ हजार ३ सय ५७ अर्थात् ५९.२४ प्रतिशत विद्यार्थी नन्ग्रेडिङ भएको बोर्डले जनाएको छ । मधेशमा ५३.७४ प्रतिशत विद्यार्थी नन्ग्रेडिङ र ४६.२५ प्रतिशत ग्रेडिङ भए । मधेशबाट ४५ हजार ५ सय ४१ जनाले परीक्षा दिएका थिए । जसमा २६ हजार ८६ जना नन्ग्रेडिङ भएका हुन् भने २२ हजार ४ सय ५५ जना स्नातकमा भर्ना हुन योग्य ठहरिएका हुन् ।
त्यस्तै लुम्बिनी प्रदेशका ६६ हजार ६ सय ४६ परीक्षार्थीमध्ये ५०.४ प्रतिशत अर्थात् ३४ हजार ६ सय ८६ जना नन्ग्रेडिङ र ४७.९५ प्रतिशत ग्रेडेड भएका हुन् । नतिजा विश्लेषण गर्दा सुदूरपश्चिम, कर्णाली, मधेश र लुम्बिनी प्रदेशमा ग्रेडिङ हुने विद्यार्थी राष्ट्रिय औसत भन्दा पछाडि छन् । गण्डकीमा ५३.८० प्रतिशत अर्थात् १८ हजार ६ सय ७१ विद्यार्थी ग्रेडिङ र ४६.१९ प्रतिशत अर्थात् १६ हजार ३३ जना विद्यार्थी नन्ग्रेडिङ भए । त्यहाँबाट ३४ हजार ७ सय ४ जना परीक्षार्थी सामेल थिए । सबैभन्दा राम्रो नतिजा देखिएको वाग्मती प्रदेशबाट ६७.८० प्रतिशत अर्थात् ७८ हजार १ सय १६ विद्यार्थी उत्तीर्ण भएका छन् । ३८ हजार १ सय १४ जना (३२.८१) प्रतिशत नन्ग्रेडिङमा परे । वाग्मतीबाट सबैभन्दा धेरै १ लाख १६ हजार २ सय ६२ परीक्षार्थी सहभागी थिए । सबैभन्दा कम परीक्षार्थी कर्णाली प्रदेशमा थिए ।
सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति अम्बरराज जोशीले सुदूरपश्चिमलगायत प्रदेशका दूरदराजमा रहेका सामुदायिक विद्यालयको अवस्था कमजोर रहेकाले नतिजा पनि सन्तोषजनक नदेखिएको बताए । ‘कक्षा ११ र १२ सुरु भएको ३० वर्ष भयो । सरकारले एउटै शिक्षक दरबन्दी दिएको छैन । प्रावि, निमावि र मावि पढाउने शिक्षकले कक्षा ११ र १२ मा पढाइरहेका छन्,’ उनले भने । योग्य, दक्ष र क्षमतावान शिक्षक नभएका ठाउँका विद्यालयको नतिजा सुधार हुन नसकेको जोशीले औंल्याए । ‘सुदूरपश्चिममा कञ्चनपुर र कैलालीबाहेक निजी विद्यालयको उपस्थिति राम्रो छैन । पूर्वाधार, जनशक्ति, शैक्षिक सामग्रीमा सुदूरपश्चिमका विद्यालय कमजोर छन्,’ उनले प्रश्न गरे, ‘कुनै पनि शैक्षिक, भौतिक पूर्वाधार नभएपछि नतिजा कसरी राम्रो हुन्छ ?’ सुदूरपश्चिममा विद्यालय मात्र होइन विश्वविद्यालयमा समेत गतिलो पुस्तकालय बनाउन नसकिएको उनले गुनासो गरे ।
मौका परीक्षा भदौ २५ र २६ गते हुने
कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ । दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीहरूले मौका परीक्षामा सहभागिता जनाउन पाउने बोर्डले जनाएको छ ।
सैद्धान्तिकतर्फ न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड आएका वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले परीक्षामा सहभागिता जनाउन पाउनेछन् । परीक्षा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुनेछ ।
एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको छ । तीमध्ये दुई विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या एक लाख २७ हजार ७०७ रहेको छ । उनीहरूले मौका परीक्षा दिन पाउनेछन् । कान्तिपुरबाट





प्रतिकृया दिनुहोस्