कैलालीमा हैजाको सङ्क्रमण पुष्टि भएपछि रोकथामका लागि द्रुत प्रतिकार्य टोली परिचालन

धनगढी । कैलालीमा हैजाको सङ्क्रमण पुष्टि भएपछि रोगको रोकथामका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ ।धनगढी उपमहानगरपालिका-१ का दुई महिलामा हैजाको सङ्क्रमण पुष्टि भएपछि रोगको रोकथामका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरिएको हो।
स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढीस्थित पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा बिहीबार हैजा पुष्टि भएको थियो
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले हैजा फैलिन नदिन गर्नुपर्ने प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा टोली परिचालन गरिएको जानकारी दिए । उनले भने, ‘वडा नं १ मा थप दुई बालकमा हैजाको आशङ्का गरिएको छ, यसको पुष्टि हुन भने बाँकी छ ।’
हैजाबाट पीडितलाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएको छ । द्रुत प्रतिकार्य टोलीले प्रभावित क्षेत्रका बासिन्दाले उपभोग गरिरहेको खानेपानीको नमूना लिने कार्यका साथै अन्य प्रतिकार्यको काम थालेको छ ।
नेपाल खानेपानी संस्थान, खानेपानी डिभिजन कार्यालय र सङ्घीय खानेपानी आयोजनाको कार्यालयलाई वितरित खानेपानीको शुद्धीकरण गर्ने/गराउने कार्यका लागि लिखित अनुरोध गरिएको श्रेष्ठले बताए।
दूषित खानेपानीका साथै झिँगा तथा दूषित खानेकुराको उपभोगबाट हैजा फैलिन सक्ने भएकाले यस्ता खानेकुरा नखान स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । हैजाको पुष्टि भएको टोलमा भइरहेको सडक निर्माणबाट खानेपानीको पाइप फुटेको र सोही कारणबाट खानेपानी दूषित भएको आशङ्का गरिएको छ ।
‘सेती प्रादेशिक अस्पतालमा हैजाका बिरामी पुष्टि हुनु जोखिमको कुरा हो । तर अवस्था नियन्त्रणभन्दा बाहिर होइन, सतर्कता अपनाउनुपर्ने भएको छ,’ निमित्त निर्देशक डा. खगेन्द्र बमले भने, ‘यसलाई समुदायमा फैलिनबाट रोक्नुपर्ने छ ।’
हैजा र दादुरा रुबेला ‘आउटब्रेक’ भएपछि शुक्रबार सामाजिक विकास मन्त्रालयको सचिवस्तरीय बैठकको निर्णय अनुसार चिकित्सक, प्रयोगशाला, जनस्वास्थ्यकर्मी, प्रशासनिक प्रतिनिधि लगायत सम्मिलित द्रुत प्रतिकार्य टोली (आरआरटी) परिचालन गरिएको जनाइएको छ ।
बैठकबाट संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय र स्थानीय तहको एक टोली बनाई सम्बन्धित स्थानीय तहमा टोली परिचालन गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता हेमराज खड्काले बताए । उनका अनुसार ती स्थानमा स्वास्थ्यकर्मीको टोली परिचालन भइसकेको छ ।
प्रतिकृया दिनुहोस्