विपद् व्यवस्थापन कोषका लागी डोटीका स्थानीय तहमा १ करोड ८४ लाख मौज्दात, बडिकेदारमा छैन विपद कोष

डोटी । विपद् व्यवस्थापन कोषका लागी डोटीका स्थानीय तहमा १ करोड ८४ लाख रकम कोषमा मौज्दात रहेको छ । जिल्ला प्रशासन कार्यालय, डोटीले तयार पारेको मनसुन पूर्वतयारी कार्ययोजनामा उक्त रकम कोषमा मौज्दात रहेको हो ।
मनसुन पूर्वतयारी कार्ययोजनामा उल्लेख भए अनुसार जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा सवैभन्दा बढी ३७ लाख रुपैयाँ मौज्दात रहेको छ । भने बडीकेदार गाउँपालिकाले विपद् व्यवस्थापन कोष स्थापना गरेको देखिदैन ।
यस्तै, आदर्श र पूर्वीचौकी गाउँपालिकामा समान ३५ लाख रुपैयाँको कोष रहेको छ । दिपायल सिलगढी नगरपालिकाको कोषमा २० लाख ८७ हजार ५ सय, जोरायल गाउँपालिकामा १९ लाख ३९ हजार २ सय ७२, सायल गाउँपालिका १८ लाख र शिखर नगरपालिकामा १६ लाख ९१ हजार ४ सय १३ रुपैयाँ रहेको छ । केआई सिंह गाउँपालिकाको कोषण्मा सबैभन्दा कम दुई लाख २० हजार मौज्दात रहेको छ । बडीकेदार गाउँपालिकाले भने विपद् व्यवस्थापन कोष स्थापना गरेको देखिएको छैन ।
डोटी जिल्लामा यस वर्ष मनसुनजन्य प्रकोपबाट तीन हजार बढी जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तयार गरेको मनसुन पूर्वतयारी तथा कार्ययोजना २०८१ अनुसार यस वर्ष जिल्लाका छ सय घरपरिवारका तीन हजार ३२ जना बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् ।
जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिका बाढी तथा पहिरोको उच्च जोखिममा रहेका छन भने अन्य तीन स्थानीय तह मध्यम जोखिम रहेको कार्ययोजनामा उल्लेख छ ।
कार्ययोजना अनुसार जिल्लामा ६ सय परिवारका ३ हजार दुई सय सवैभन्दा बढी दिपायल सिलगढी नगरपालिकाका एक सय घरधुरीका पाँच सय ७० जना प्रभावित हुने जनाइएको छ ।
शिखर नगरपालिकामा ८५ घरधुरी, केआइसिंहमा ६० घरधुरी, बोगटान फुड्सिलका ५० घरधुरी, बडीकेदारका ५५ घरधुरी, आर्दशका ६०, पूर्वीचौकीका ६५, सायलका ६० घरधुरी र जोरायल गाउँपालिकाका ६५ घरधुरी प्रभावित हुने उल्लेख छ ।
कार्ययोजनामा भनिएको छ-‘जिल्लामा सेती नदी तटिय क्षेत्र, अन्य साना गाड, खोलाहरुको तटीय क्षेत्रमा बाढी र कटानको उच्च जोखिम देखिन्छ भने सबै भिरालो बस्तीहरु र जमिन पहिरोको उच्च जोखिममा रहेका छन् ।’
जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जिल्लामा मनसुनजन्य प्रकोपको जोखिमबाट हुन सक्ने क्षति न्यूनिकरण गर्न उपलब्ध साधन स्रोत परिचालन गर्दै सरोकारवालाहरुसंग समन्वय र सहकार्यका साथै सुरक्षा निकायहरुलाई तयारी अवस्थामा राखिएको बताए ।
कार्ययोजनामा विपद्बाट हुन सक्ने क्षति न्यूनिकरण गर्न सुरक्षा निकाय, स्थानीय तह र रेडक्रसले जनशक्ति परिचालन गरिरहेको उल्लेख छ ।
तीन सय बढी जनशक्ति परिचालन
जिल्लामा हुन सक्ने विपदको क्षति न्यूनिकरण गर्न तीन सय ५० जनशक्ति परिचालन गरिएको छ । जिल्ला आपत्तकालिन सञ्चालन केन्द्र र सुरक्षा निकायका तिन सय ५० जना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
सुरक्षा निकायसंगै स्थानीय तहहरुले र रेडक्रसले पनि जनशक्ति परिचालन गरिरहेको जनाइएको छ । खोज, उद्दारमा नेपाल रेडक्रस डोटीबाट एक सय जना जनशक्ति परिचालन भइरहेको जनाइएको छ ।
जिल्ला प्रशासनले विपद कोषमा ३५ लाख ८० हजार पाँच सय १५ रकम मौज्दात रहेको जनाएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिको बैठकले प्रत्येक वडामा वडाअध्यक्षको संयोजकत्वमा कम्तिमा १५–२० जना युवा स्वयमसेवी सम्मिलित तत्काल उद्दार समुह निर्माण गर्ने र सोही समुहले विपदको घटनाको आधिकारिक सूचना, प्रभावित जनसंख्या र क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस्