May 13, 2025, Tuesday
३० बैशाख २०८२, मंगलवार

एसईईमा डोटीका १७.४७ प्रतिशत विद्यार्थी उत्तीर्ण, सुजङ्गका महेन्द्र बने जिल्ला टपर

डोटी । माध्यामिक शिक्षा परीक्षा (एसईई) मा डोटीका १७.४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बिहीबार सार्वजनिक भएको एसईईकँे नतिजा अनुसार डोटीका १७.४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

डोटी जिल्लाबाट ३ हजार १ सय १३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये २ हजार ५ सय ६९ जना अनुत्तीर्ण भएका छन् । यसमा अनुपस्थित विद्यार्थीहरूको संख्या पनि जोडिएको छ।

यस बर्ष एसईई परीक्षामा सहभागी भएका जम्मा विद्यार्थी संख्याको १७.४७ प्रतिशत अर्थात ५ सय ४४ जना विद्यार्थीहरु मात्रै उत्तीर्ण भएका हुन्।

डोटीका ८ जना विद्यार्थी मात्रै “ए प्लस” ग्रेड ल्याउन सफल भएका छन् । ९२ जना विद्यार्थीहरुले “ए” ग्रेड ल्याएका छन् । दुई सय ४१ जनाले “बि प्लस” ग्रेड ल्याएका छन् भने १ सय ९१ जनाले “बि” ग्रेड र १२ जनाले “सि प्लस” ग्रेड ल्याएका छन् ।

एसईईकोे नतिजा अनुसार सुजङ्ग स्कूल राजपुरका महेन्द्र विक्रम धामी डोटी जिल्ला टपर बन्न सफल भएका छन् । जिल्लामै सबैभन्दा बढी ३.७३ जिपिएसहित उनी टपर बनेका हुन् ।

डोटी जिल्लामा ८ जना विद्यार्थीहरुले “ए प्लस” ग्रेड ल्याएका छन् । जसमध्ये ४ जना सुजङ्ग स्कूलका विद्यार्थीहरू रहेको प्रिन्सिपल मान बहादुर कठायतले बताएका छन् ।

सामुदायिक विद्यालय तर्फ भने सीताराम माध्यमिक विद्यालयका दुई जना विद्यार्थीहरु बराबर जिपिए ल्याएर प्रथम भएका छन् । सीताराम मावि उच्चाकोटका रजनीश रोकाया र लक्ष्मी प्रसाद भट्ट ३.६७ जिपिए प्राप्त गर्दै सामुदायिक विद्यालय तर्फ प्रथम भएका छन् ।

त्यस्तै, सुजङ्ग स्कूलका रोहित भण्डारीले ३.६५ र एलेक्स जोशीले ३.६४ जिपिए प्राप्त गरेका छन् । पद्म पब्लिक माविका संजीव दमाईले ३.६४ जिपिए प्राप्त गरेका छन् भने सुजङ्ग स्कूलका आशिष बलायरले ३.६ जिपिए प्राप्त गरेका छन् । एक जनाको भने परिचय खुल्ला सकेको छैन ।

निजी विद्यालय अन्तर्गत छात्रा तर्फ भगरथी एकेडेमी सिलगढीकी अरुणिमा भण्डारी ३.५३ जिपिए (ए ग्रेड) सहित प्रथम भएकी छिन्। सामुदायिक विद्यालय तर्फ झिमेमालिका मावि वायलकी निशा बोगटी ३.५२ जिपिए (ए ग्रेड) सहित प्रथम भएकी छिन् ।

सुजङ्ग स्कूलका फाउन्डर नरेश बलायरका अनुसार सुजङ्गका ८० जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । जस मध्य ६७ जना ( ८५ प्रतिशत ) उत्तीर्ण भएका छन्। १० जना विद्यार्थीहरुले पूरक परीक्षा दिन पाउने छन् भने ३ जना विद्यार्थी अनुत्तीर्ण (ननग्रेड) भएका छन् ।