July 18, 2024, Thursday
३ श्रावण २०८१, बिहीबार

सिलगढीको खानेपानी गोदाम घरमा आगलागी, करोडौं रुपैयाँ बराबरको क्षति

डोटी । डोटीको सिलगढी खानेपानी गोदाम घरमा आगलागी भएको छ । दिपायल सिलगढी नगरपालिका–६ नाचनथली मोडमा रहेको खानेपानी तथा उपभोक्ता सरसफाइ समितिको गोदाम घरमा आगलागी भएको हो ।

आगलागिबाट गोदाम घर र त्यहाँ स्टोर गरेर राखिएको प्लास्टिकको पाइप जलेर नष्ट भएको सिलगढी खानेपानी तथा उपभोक्ता सरसफाइ कार्यालय प्रमुख राम धामीले बताएका छन् । गोदाम घरमा स्टोर गरेर राखिएको करिब ८ करोड रुपैयाँ बराबरको खानेपानीको पाइप नष्ट भएको उनले जानकारी दिए ।

साथै कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भई रातुली, पाकरी खानेपानी योजनामा कार्यरत प्रतीक निर्माण सेवाका प्राविधिक कृष्ण भट्टको सोही ठाउँमा पार्किङ गरेर राखिएको मोटरसाइकल पनि जलेर नष्ट भएको छ ।

गएराति करिब १२ बजेतिर लागेको आगो दिपायल सिलगढी नगरपालिकाको दमकलको सहयोगमा स्थानीय र प्रहरीले साढे ३ घण्टापछि नियन्त्रणमा लिएका थिए ।

खानेपानी तथा उपभोक्ता सरसफाइ कार्यालय प्रमुख राम धामीले कसैले नियतबस गोदाम घरमा आगो लगाएको हुनसक्ने आरोप लगाएका छन् । ‘त्यत्रो पाइप नष्ट हुन दुई सय २० सम्म डिग्री तापक्रम हुनपर्छ,’ धामीले आरोप लगाउँदै भने, ‘गल्तीबस सामान्य आगोको झुस्को वा विद्युत् सर्टमात्र भएर पाइपमा आगो लाग्ने सम्भावना हुँदैन । आगो लगाएको कस्ले हो । प्रहरी प्रशासनसँग अनुसन्धानका लागि आग्रह गर्छौ ।’

दिपायल सिलगढी नगरपालिकाको–६ स्थित रातुली–पाकरीमा विस्तार भइरहेको खानेपानी लाइनका विस्तारका लागि ल्याइएको २ ट्रक पाइप, दिपायल सिलगढी नगरपालिकाले आ.व. ०७१/०७२ मा जगेडा कोषबाट खरिद गरेर उपलब्ध गराएको ३२ लाख बराबरको खानेपानी पाइप, सिलगढीका ६ सय १६ घरधुरीमा खानेपानी धारा केनेक्सन गर्न ल्याइएको हाफ इञ्चको २ ट्रक पाइप, खानेपानी तथा सरसफाइ डिभिजन राजपुरले भेलछडा खानेपानीका लागि खरिद गरी सिलगढी खानेपानीलाई हस्तान्तरण गरेको करिव ५ किलोमिटर लम्बाइको खानेपानी पाइप तथा खप्तडदेखि सिलगढीमा पानी ल्याउन खरिद गरेको २ ट्रक पाइप गोदाम घरमा जलेर नष्ट भएको कार्यालय प्रमुख धामीले बताए ।

त्यसबाहेक विभिन्न समयमा आफैं खरिद गरिएका खानेपानी तथा अन्य कार्यालयहरुसँग सहयोग मागेर स्टोर गरिएका पाइपपनि आगलागीबाट नष्ट भएको जानकारी दिए ।

वैशाख महिनामा मात्र खप्तड राष्ट्रिय निकुञ्चमा लागेको डढेलोले खानेपानी पाइपमा लागो लागेपछि महिना दिनसम्म सिलगढीमा खानेपानी हाहाकार भएको थियो । उपभोक्ताहरुको श्रमदान गरेर एक महिनापछि खानेपानी आपूर्ति गरेसँगै गोदामघरमा आगो लाग्दा सिलगढी खानेपानी कार्यालयलाई ठूलो क्षति भएको छ ।