July 18, 2024, Thursday
३ श्रावण २०८१, बिहीबार

डोटीको बुडरमा जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु, ८ जना घाइते

डोटी । डोटीको बुडर नजिक जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । दार्चुलाको लेकम गाउँपालिकाबाट धनगढीका लागि छुटेको जिप बुडर नजिक दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको हो भने ८ जना घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायव निरीक्षक धनञ्जय कुमार मल्लका अनुसार लेकम गाउँपालिकाकै लवदेव बोहराको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप आज बिहान धनगढी जाँदै गर्दा बुडर नजिक दुर्घटना भएको हो ।

वरिष्ठ प्रहरी नायव निरीक्षक मल्लका अनुसार जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने उनको परिचय खुल्न बाँकी छ । चालकसहित ८ जना घाइते भएका छन् ।

घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ घर भएका १९ वर्षीय चालक वासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ बस्ने ४५ वर्षीय जगत धामी, लेकमकै वडा नम्बर ४ का ३१ वर्षीय हरिस पार्की, निजकी श्रीमती २६ वर्षीया भावना ओड पार्की र निजकै छोरी ३ वर्षीया रीतिका पार्की रहेको वरिष्ठ प्रहरी नायव निरीक्षक मल्लले बताए।

यस्तै डिलाशैनीको वडा नम्बर ६ का १७ वर्षीय अर्जुन लुहार, डिलाशैनी ६ कै २२ वर्षीया रेखा ओड र मालिकार्जुन गाउँपालिका ४ की ६० वर्षीया मानमति धामी घाइते रहेका छन् ।

घाइते ८ जनामध्ये ४ जनालाई बढी चोट लागेको र ४ जनाको अवस्था सामान्य रहेको बताइएको छ । बिहान ५ बजे घाइतेहरूको उद्धार गरी धनगढीस्थित निसर्ग हस्पिटलमा पठाइएको प्रहरीले जनाएको छ।