July 18, 2024, Thursday
३ श्रावण २०८१, बिहीबार

शिखर नगरपालिकाले गर्यो शिक्षक सम्मेलन, “शिखर शैक्षिक सुधार बर्ष-२०८१” को घोषणा

डोटी । डोटीको शिखर नगरपालिकाले नगर शिक्षक सम्मलेन गरेको छ । शैक्षिक गुणस्तरमा व्यापक सुधार ल्याउने उद्देश्यका साथ शिखर नगरपालिकाले नगर शिक्षक सम्मलेन आयोजना गरेको जनाएको हो ।

शैक्षिक सुधार योजना अन्तरगत “शिखर शिक्षक सम्मेलन २०८१”को आयोजना गरेको शिखर नगरपालिकाका प्रमुख दिर्घवहादुर बलायरले जानकारी दिएका हुन। सो अवसरमा नगर प्रमुख बलायरले “शिखर शैक्षिक सुधार बर्ष–२०८१” को घोषणा समेत गरेका छन् ।

बिद्यालय शिक्षाको गुणस्तरमा सुधारका लागि शिक्षकहरुलाई उत्प्रेरित गर्न उक्त सम्मेलन आयोजना गरेको शिखर नगरपालिकाका प्रमुख बलायरले भने. ‘नगरपालिकाले शिक्षा क्षेत्रमा ठुलो धनराशी खर्च गरिरहेको छ तर शिक्षाको गुणस्तर झन झन खस्कँदै गएको छ’ नगर प्रमुख बलायर भन्छन् ‘गुणस्तर खस्कनुमा कहाँ कसको के कमजोरी रह्यो भन्ने पत्ता लगाउन यो सम्मेलन गरिएको हो ।’

नगर प्रमुख बलायरले आफु नगर प्रमुख भएर दुई बर्ष काम गर्दा विकासको मुल आधार गुणस्तरीय शिक्षा रहेछ भन्ने अनुभूति भएकोले अव नगरपालिकाले शिक्षामा बढी लगानी गर्ने वताए ।

नगर प्रमुख बलायरले तोकिएको बिद्यालयमा गएर गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गरे । सम्मेलनमा सहभागि शिक्षक तथा जनप्रतिनिधिहरुले शिखर नगरपालिको शैक्षिक गुणस्तर सुधार गर्न आ–आफ्नो ठाउँबाट प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

“सेवा, समर्पण र सम्भावना: जागृत शिक्षक शिखरको चाहना” मुल नाराका साथ आयोजना गरिएको शिखर शिक्षक सम्मेलनको उदघाटनका क्रममा बोल्दै जिल्ला समन्वय समिति समिति डोटीका प्रमुख लक्ष्मणवहादुर सिंहले स्थानीय तहहरुले गुणस्तरीय शिक्षामा जोड दिनु आजको आवश्यकता रहेको वताए ।

बिद्यालयमा गुणस्तरीय शिक्षाका साजसाथै नैतिक शिक्षा पनि आवश्यक रहेको सिंहको भनाई छ । उनले भने ‘सवैले आफ्ना छोराछोरी डाक्टर बनोस्, पाईलट बनोस्, ईन्जिनियर बनोस् भन्ने चाहान्छन् तर एक ईमानदार, नैतिकवान नागरिक वनाउनतर्फ कसैको ध्यान छैन ।’ उनले शिक्षकहरुले ईमानदार नागरिक उत्पादनमा पनि सहयोग गर्नु पर्ने वताए ।

शिखर नगरपालिकाले शिक्षा क्षेत्रमा उदाहरणीय कार्य गरेको भन्दै जिल्लाका अन्य पालिकाहरुले पनि शिखरबाट केही कुरा सिक्नु पर्ने जिल्ला समन्वय समिति समिति डोटीका प्रमुख सिंहले वताए ।

शनिवार सेती प्राविधिक शिक्षालयको सभाहलमा सम्पन्न सम्मेलनमा नगरभित्रका सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक, बालबिकास सहयोगी कार्यकर्ता र बिद्यालय कर्मचारी गरी ३ सय ४८ जनाको सहभागिता रहेको नगरपालिकाको शिक्षा शाखाका प्रमुख शेरवहादुर कार्कीले जानकारी दिएका छन् ।

उनले सम्मेलनमा नगर कार्यपालिकाका सदस्यहरु, शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु, सामुदायिक बिद्यालयका व्यवस्थापन समिति अध्यक्षहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको जानकारी दिए ।