February 24, 2024, Saturday
१२ फाल्गुन २०८०, शनिबार

त्रिभुवन विश्वविद्यालयका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्रको काम परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले अनलाइनमार्फत गर्ने भएको छ । विद्यार्थीले ट्रान्सक्रिष्ट, प्रोविजन सर्टिफिकेट, पुनर्योग, कुनै पनि प्रमाणपत्रको प्रतिलिपि तथा सच्चाउनुपर्नेजस्ता काम अनलाइनबाट गर्ने भएको हो ।

पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने र सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने भएकाले अब विद्यार्थीलाई बल्खुस्थित पनिका कार्यालयमा पुग्न नपर्ने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका हुन ।

नियन्त्रक जोशीका अनुसार अहिले शैक्षिक प्रमाणपत्र क्षेत्रीय कार्यालयमा पठाउने र वैशाखदेखि विद्यार्थी पढेको क्याम्पसमा नै पाँच दिनमा पाउने गरी पठाइनेछ । पनिकामा दैनिक एक हजारदेखि दुई हजार विद्यार्थी शैक्षिक प्रमाणपत्रका लागि आउने गरेको उनको भनाइ छ ।

यही माघ १५ गतेदेखि अनलाइन सेवा सञ्चालन गर्न कर्मचारीलाई तालिम दिई तयार पारिनेछ । विराटनगर, पोखरा, नेपालगञ्ज र अत्तरियामा त्रिविका क्षेत्रीय कार्यालय छन् ।