September 21, 2026, Monday
२०८३ आश्विन ६

राष्ट्रियसभा सदस्यका लागि कुन दलले कसलाई बनायो उम्मेदवार ?

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागी आज उम्मेदवारी दर्ता हुँदैछ। सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जानकारी दिएको छ।

माघ ११ गते १९ स्थानका लागि हुने निर्वाचनमा सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उम्मेदवारी दिने तयारी गरेका छन्। मुख्यरूपमा सत्ता गठबन्धन र नेकपा एमालेबीच नै प्रतिस्पर्धा हुने देखिएको छ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टी (जसपा) ले १ सिटमा उम्मेदवारी दिँदैछन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबार दिउँसो टुंगो लगाएको थियो। प्रदेश कमिटीले पठाएको नामहरूमाथि एमालेले सचिवालय बैठकमा छलफल गरेको थियो। तीन नामहरूमाथि अन्तिम निर्णय गर्ने अधिकार सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो।

अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले आइतबार दिउँसो नाम टुंगो लगाएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ९ सिटमा मात्रै उम्मेदवारी दिने भएको छ। राप्रपाले आइतबार कार्यसम्पादन समितिको बैठक बसेर ९ जना उम्मेदवार टुंगो हो। राप्रपाले कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाउने भएको छ।

बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

गण्डकीमा गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी, लुम्बिनीमा निरञ्जन थापा, विजयलक्ष्मी सिंह उम्मेदवार बन्ने भएका छन्।

राष्ट्रपतिबाट मनोनीत हुने कोटामा भने  सत्ता गठबन्धनले  जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई सिफारिस गर्ने निर्णय गरिसकेको छ। 

rastriyasabha_candidate-(1)-1704686057.jpg