इजरायलले नेपाललाई भन्यो विपिन जोशी हमासको नियन्त्रणमा छन्

काठमाडौँ । इसराइलले २७ दिनदेखि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा रहेको नेपाल सरकारलाई पत्राचार गरेर छ। इजरायलको प्रधानमन्त्री कार्यालयले जोशी हमासको बन्धकमा रहेको पुष्टि गरेको हो ।
जोशी अक्टोबर ७ देखि बेपत्ता छन् । इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।
‘इसराइल सरकारबाट हामीले विपिन थाइल्याण्डसँगै अरू मुलुकका नागरिकसहित हमासको नियन्त्रणमा रहेको जानकारी पाएका छौं,’ परराष्ट्र मन्त्रालयले भन्यो, ‘तर उनी कहाँ छन् र कस्तो अवस्थामा छन् भन्ने कुरामा इजरायल सरकारसमेत जानकार नभएकाले खोज्न कठिनाइ भइरहेको छ।’
‘हमासको बन्धकमा एक नेपाली रहेको हामी स्पष्ट पार्दै छौं,’ इजरायलका प्रधानमन्त्री कार्यालयका प्रवक्ता इलोन लेवीले भने । तर, जोशी गाजापट्टीको कुन क्षेत्रमा राखिएको छ भनेर इजरायलले प्रस्ट बताउन भने सकेको छैन ।
उनको अवस्थाबारे पत्ता लगाएर सार्वजनिक गरिदिन रेडक्रसको अन्तराष्ट्रिय संस्था आइसीआरसी, इसराइल सरकार र अरू अन्तराष्ट्रिय समुदायलाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
हमासले इसराइलमा आक्रमण गरेको दिनदेखि जोशी बेपत्ता छन्। गत असोज २० गतदेखि बेपत्ता जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इसराइल पुगेका थिए। उनी सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि तथा विज्ञान संकायमार्फत् त्यहाँ पुगेका हुन्।
जोशीसँग उक्त विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इजराइल गएका थिए। प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले नेपाली विद्यार्थीहरू बसेको बंकरभित्रै पसेर आक्रमण गरेका थिए। हमासकोआक्रमणबाट १० जना नेपाली विद्यार्थी मारिएका थिए।
इजरायलको प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ । तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन् । उनीहरूलाई पनि किबुजबाटै बन्धक बनाएर लगिएको हो । उनीहरू कृषि क्षेत्रमा काम गर्थे । हमासले अर्जेन्टिनाका २१, जर्मनीका १८, अमेरिकाका १०, फ्रान्स र रसियाका ७/७ जना नागरिकलाई बन्धक बनाएको छ ।
हंगेरीका ४, पोल्यान्ड र पोर्चुगलका ३/३, चीन, फिलिपिन्स, रोमानिया, तान्जिनिया र बेलायतका २/२, अस्ट्रिया, ब्राजिल, क्यानडा, डेनमार्क, आयरल्यान्ड, लुथिनिया, मेक्सिको, नेदरल्यान्ड्स, सर्बिया, दक्षिण अफ्रिका, श्रीलंका, युक्रेन र उरुग्वेका एक–एक जना हमासको नियन्त्रणमा छन् । थप एक सय १८ जना इजरायली नागरिकलाई पनि हमासले बन्धक बनाएको कार्यालयले जनाएको छ ।
बन्धकमध्ये ५ जनालाई हमासले मुक्त गरेको छ । गत अक्टोबर २० मा दुई अमेरिकी नागरिक र २३ अक्टोबरमा दुई जना इजरायली वृद्धालाई हमासले छाडिदिएको थियो । २९ अक्टोबरमा एक इजरायली सेना पनि मुक्त भएका हुन् ।
प्रवक्ता लेवीले बन्धक बनाइकालाई निःसर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपेक्षा गरिएको बताए । ‘अहिलेको गाजापट्टीमा भइरहेको सेनाको स्थलगत अपरेसनको एउटा उद्देश्य बन्धकलाई मुक्त गर्नु हो,’ लेवीले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायको पनि भूमिका खोजिरहेका छौं ।’ हमासले इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई छोड्नुपर्ने सर्त अगाडि सारेको छ ।
प्रतिकृया दिनुहोस्