March 9, 2025, Sunday
२५ फाल्गुन २०८१, आईतवार

अर्थव्यवस्था बिस्तारै लयमा फर्कन थालेको छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थव्यवस्था बिस्तारै लयमा फर्कन थालेको बताएका छन् । शनिबार जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै गएको उल्लेख गरेका हुन ।

अर्थमन्त्री डा. महतले अहिले बैङ्कहरूले ब्याजदर घटाएको, रेमिट्यान्स वृद्धि भएको र पर्यटक आगमन बढेको बताए । अर्थतन्त्रमा सुधार देखिएसँगै लगानी गर्ने वातावरण निर्माण भएको उनको भनाइ रहेको छ ।

सरकारमाथि आन्तरिक र बाह्य ऋणको साँवाब्याज तिर्ने दायित्व बढेको पनि उनले बताए ।

मधेस प्रदेशमा आर्थिक समृद्धिका लागि सुनकोसी-मरिन-कमला डाइभर्सनको काम अगाडि बढाइएको उनले जानकारी गराएका छन् । पूर्व-पश्चिम नहर प्रणालीलाई अघि बढाउन सके उत्पादन बढ्ने उनले बताए ।

मधेसलाई धार्मिक र पर्यटकीयस्थलका रूपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा सरकारको ध्यानकेन्द्रित रहेको उनको भनाइ छ ।