सडकमै सुते शिक्षकहरू, माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने

काठमाडौँ । सडकमै सुतेर शिक्षकहरूले प्रदर्शन गरेका छन् । राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले सोमबार आन्दोलनलाई जारी राख्दै बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका हुन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् । उनीहरूले संसद्मा प्रस्तुत भएको शिक्षा विधेयक र सरकारसँग गरिएको नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताको विरोध गरिरहेका छन् ।

बानेश्वरमा पुगेर उनीहरुले सडकमा सुतेरै विरोध जनाएका थिए । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिले असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने बताएको छ ।

त्यस्तै पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दालाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।
उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् । राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।






प्रतिकृया दिनुहोस्