शिक्षा मन्त्रालयले आह्वान गरेको वार्तामा शिक्षक महासंघ नजाने, वार्ता सरकार प्रमुखसँग गर्ने

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाल शिक्षक महासंघले वार्तामा नजाने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत महासंघलाई आज वार्ताको आह्वान गरेको थियो ।
शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको वार्तामा नजाने बताएको हो । ‘आन्दोलन फिर्ता हुँदैन । भोलि प्रर्दशन हुन्छ । शिक्षकहरू काठमाडौं आउनुहुन्छ,’ महासंघकी अध्यक्ष कमला तुलाधरले भनिन् । अब उधारोमा सहमति नहुने उनले बताइन् । वार्ता पनि शिक्षा मन्त्रालयसँग मात्र नगर्ने उनको भनाइ छ ।
विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको शिक्षक महासंघ वार्तामा नजाने भएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत महासंघलाई आज वार्तामा बोलाएको थियो ।
‘उधारोको सहमति हुँदैन । वार्तामा नबस्ने भनेको छैन । तर शिक्षा मन्त्रालयसँग मात्र वार्ता हुँदैन । सरकार प्रमुख, प्रमुख दलका सचेतक र समिति सभापतिसँग हुन्छ,’ अध्यक्ष तुलाधरले भनिन् । विधेयक संसदमा दर्ता भएकाले शिक्षा मन्त्रालयले अब परिवर्तन गर्न सक्दैन । विधेयकमा रहेका प्रावधान संसदबाट मात्र परिवर्तन गर्न मिल्ने भएकाले महासंघले शिक्षा मन्त्रालयसँग वार्ता गर्न नचाहेको हो ।
संसदमा दर्ता विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा विरोध जनाउँदै बुधबारदेखि महासंघले काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ।
‘हामी वार्तामा जाँदैनौं,’ नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने, ‘आन्दोलनका लागि हामी बैठक बसेर आन्तरिक तयारी गर्दैछौं। भोलिदेखि सडक आन्दोलन हुन्छ ।’
देशैभरका विद्यालय बन्द गरेर असोज ३ गतेदेखि शिक्षकहरू आन्दोलनमा उत्रने भएका हुन्। आन्दोलन स्थगित गरेर वार्तामा आउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघलाई सोमबार आह्वान गरेको थियो।






प्रतिकृया दिनुहोस्